काठमाडौं- छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो। अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार-प्रसार गर्नेछन्।
मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो। नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं।’
त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनीयता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए। ‘साथी मार्ट’ सँग आफू जोडिनुको कारणबारे उनले कार्यक्रममा भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनीयता राम्रो भएकाले नै म ब्रान्ड एम्बेस्डरको रूपमा आबद्ध भएको हुँ। अहिलेको अवस्थामा रिटेलिङ सपिङ हरेक व्यक्तिको आवश्यकतामा पर्छ। कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु।’
‘साथी मार्ट’ ले स्वदेशी उत्पादनलाई पनि प्राथमिकतामा राखेकाले ग्राहकको रोजाई बन्ने उनको विश्वास छ। ‘स्वदेशी उत्पादन भनेपछि क्वालिटीमा कम्प्रोमाइज हुन्छ भन्ने हामी नेपालीहरूको सोचाइ छ। तर, त्यो धेरै ठूलो भ्रम हो। स्वदेशमा उत्पादन हुने कति चिजहरू विदेशमा उत्पादन हुने चिजभन्दा धेरै गुणस्तर हुन्छन्। यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ हमालले भने।
काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकडभित्तादेखि जिरीसम्म पुग्न सफल भएको ‘साथी मार्ट’ ले यस वर्षभित्र तीन सय प्रतिशत विक्री बढाउने लक्ष्य लिएको छ। आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको यो मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको सिइओ पोखरेलले बताए।
‘साथी मार्ट’ को वेबसाइटमा आफूलाई आवश्यक सामान अर्डर गर्न सकिनेछ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा ‘साथी मार्ट’ को मोबाइल एप उपलब्ध रहेको र छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने सिइओ पोख्रेलले जानकारी दिए।
‘साथी मार्ट’ ले विनालगानी व्यापार गर्न सकिने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप’ प्लान पनि सुरु गरेको छ। यसबाट कम्तीमा ३० हजारदेखि ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य ‘साथी मार्ट’ को छ। जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरी तिस प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ।
आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ। ‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक वर्षमा तीन सय प्रतिशतसम्मको बिक्री बढाउने योजनामा रहेको छ। बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फ्ल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ।
‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए। आफूहरूले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै उनले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पुर्याउने लक्ष्य बोकेको बताएका छन्। मार्टले हालका लागि फ्रेन्जाइज शुल्क र रोयल्टी नलिने रणनीति लिई व्यापार बिस्तारमा जोड दिएको छ।