काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा दुई युवा नेता उदाएका छन्। १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको आन्तरिक व्यवस्थापन गर्ने मुख्य जिम्मेवारीमा चयन भएका हुन्।
मतदानको दिनअघि गगन महामन्त्रीमा निर्वाचित हुने धेरैको अनुमान थियो। तर, विश्वप्रकाशका हकमा भने धेरैले शंका गरेका थिए। मनोनयन गर्ने दिन मात्र शेरबहादुर देउवाको टिममा नअटाएका शर्मा प्रकाशमान सिंहको प्यानलबाट चुनाव लड्नुपर्ने बाध्यतामा पुगे।
प्रकाशमानले सभापति पदमा ल्याएको मत र उनको प्यानलबाट उपसभापित बनेकी सुजाता कोइरालाले प्राप्त गरेको मतको अवस्था हेर्दा शर्मा महामन्त्री चयन होलान् भन्न गाह्रो थियो। तर, प्रवक्ताका रुपमा काम गरिसकेका 'लोकप्रिय' शर्मालाई मतदाताले प्यानल भन्दा माथि उठेर मतदान गरे। फलस्वरुप गगन र विश्वप्रकाशको जोडी कांग्रेस महामन्त्रीमा उदाए।
गगन र विश्वले यसअघि सहमहामन्त्री रहेका डा. प्रकाशशरण महत, युवा नेता प्रदीप पौडेल, रक्षामन्त्री रहेकै अवस्थामा प्रतिस्पर्धा गरेका डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्कीलाई पछि पारिदिए। हुन त मनोनयन दर्ताको दिन (मंसिर २५) गते दिँउसोसम्म शर्मा देउवाकै उम्मेदवार हुने प्रयासमा थिए। तर, शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला गठजोड बनेपछि उनी संस्थापन समूहबाट पाखा लाग्नुपर्ने अवस्था बन्यो।
देउवा समूहले महामन्त्रीमा टिकट नदिएपछि उनी डा. शेखर कोइराला नेतृत्वको समूहसँग संवाद गरे। गगनसहित चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले महामन्त्रीमा गगन–विश्वप्रकाशको जोडी उतार्न प्रयास गरेका थिए। त्यसका लागि धनराज उप–सभापतिबाट सह–महामन्त्रीमा चुनाव लड्न पनि तयार थिए। मिनेन्द्रलाई उपसभापतिको उम्मेदवार बनाउने प्रयत्न शेखर समूहले गर्यो। तर, मिनेन्द्रको महामन्त्रीमै लड्ने अड्डीका कारण विश्वप्रकाश प्रकाशमानको समूहमा खुल्नुपर्ने बाध्यता महसुस गरे। प्रकाशमानले सभापतिमा र सुजाता कोइरालाले उपसभापतिमा मनोनयन गर्दा गरिसकेपछि मात्रै विश्वप्रकाशले उम्मेदवारी दर्ता गरेका थिए।
गगन र विश्वप्रकाशको उदयले कांग्रेसमा परिर्वतनको पक्षधरता बलियो बनेको देखाउँछ।
‘हामीले अन्तिमसम्म गगन-विश्वको जोडीलाई शेखर दाइको प्यानलबाट महामन्त्रीका रूपमा मैदानमा उतार्न प्रयास गरेका थियौं। तर, मीनेन्द्र डाक्टर साबले अडान छोड्नुभएन। विश्वजीलाई समेट्न सकिएन,’ शेखर समूहका एक नेता भन्छन्, ‘यदि सहमति बनेको भए डाक्टर साबले पनि उपसभापति जित्ने सम्भावना रहन्थ्यो। र गगन-विश्व दुवै महामन्त्रीमा निर्वाचित भए। गगन-विश्वको जोडी महामन्त्रीमा आउँदा हाम्रो समूह उत्साहित छ।’
गगन र विश्वले १० दिन अघिपछि उम्मेदवारी घोषणा गरेका थिए। गगनले भदौ १४ गते काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने एक वडास्तरीय कार्यकर्ता भेलामार्फत महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका थिए। त्यसको ठिक १० दिनपछि भदौ २४ गते सुन्दरीजल स्थिती बीपी संग्राहालय पुगेर महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा विश्वप्रकाशको थियो।
गगन १३औं महाधिवेशनमै महामन्त्री लडेर आफ्नो ग्राउन्ड बनाइसकेका थिए। कांग्रेसमा मात्र होइन, समग्र जनतामा पनि युवाहरुबीच लोकप्रिय बनेका गगनलाई जुन समूहबाट लडेपनि महामन्त्रीका रुपमा नकार्न सक्ने अवस्था थिएन। तर, विश्वको हकमा भने परिस्थिति फरक थियो। १३औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य जितेका थिए। प्रवक्ताका रुपमा सभापति देउवाले गरेका गल्तीमा 'रफ्फू' भर्ने काम विश्वप्रकाशले गरेका थिए। सोही कारण उनी महामन्त्रीको उम्मेदवार हुन सक्छन् भन्ने सामान्य अनुमान गर्न सकिन्थ्यो। तर, संस्थापन समूहमा विश्वप्रकाश भन्दा सिनियर धेरै नेताहरु थिए। जसका कारण उनको उम्मेदवारी संस्थापन समूहबाटै हुनेछ भनेर शंका गर्ने आधार पनि निर्माण भएका थिए।
अन्तिम समयमा शर्मा संस्थापन समूहको महामन्त्रीको रिङबाट आउट गरिए। तर शर्माले हिम्मत हारेनन्, जोखिम मोले र विद्रोह गरे।
त्यसो त ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, प्रकाशरण महत, एनपी सावद लगायतका सिनियर नेताले महामन्त्री पद ताकेका थिए। यी आकांक्षी बढी तर महामन्त्रीको पद संख्या दुई मात्र भएकाले देउवाका लागि आकांक्षी व्यवस्थापन गर्न सहज थिएन। तर, देउवाको निर्णय नै अन्तिम हुने उक्त समूहमा खासै समस्या नहुने विश्लेषण भइरहेका थिए।
महाधिवेशनका बेला जिल्लादेखि प्रदेशसम्म देउवा–सिटौला समूहको गठजोड बन्यो। हुन त गत महाधिवेशनमा पनि सभापति चयन हुनका लागि सिटौलाले देउवालाई सघाएका थिए। त्यसपछि देउवाले सिटौला समूहलाई चिढ्याउने काम गरेनन्। साथै पार्टीको बागडोर र सत्ता राजनीतिमा पनि शीर्ष नेताका रूपमा उदाएका देउवासँग सिटौलाले पनि सहज वातावरण तयार गर्न सहयोग गर्ने गरेका थिए।
मंसिर २५ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुभन्दा एकाध घण्टाअघि मात्रै देउवाले कार्की, खाँड र एनपी साउद छाडेर महतलाई महामन्त्रीको उम्मेदवारका रूपमा उभ्याए। सिटौलाको जोडबलमा प्रदीप पौडेल अर्का उम्मेदवार बनाइए। कतिपय विश्लेषकहरू भने झापा राजनीतिमा सिटौला र शर्माबीच 'टसल' भएकाले शर्मालाई 'साइज'मा राख्न शर्माभन्दा पनि 'जुनियर' प्रदीप पौडेललाई नै महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। यही कारण अन्तिम समयमा शर्मा संस्थापन समूहको महामन्त्रीको रिङबाट आउट गरिए। तर शर्माले हिम्मत हारेनन्, जोखिम मोले र विद्रोह गरे।
देउवाको निर्णय नै अन्तिम हुने संस्थापन समूहमा शर्माको विद्रोह चानुचुने थिएन। देउवा समूहसँगको विद्रोहपछि उनले अन्य समूहसँग छलफल थाले। र, त्यही आँट, विद्रोह र हिम्मतले आज उनी महामन्त्रीमा निर्वाचित भए। त्यसो त मतदातासँग मत मागिरहँदा उनी शालिन देखिए। आफूलाई मत माग्दा गगनको नाम लिने मतदातासँग उनले भनिरहेका थिए, ‘महामन्त्रीमा २ जनालाई मतदान गर्न मिल्छ। एक मत मलाई दिनुहोला, अर्को मत गगनलाई दिनुस् न है।’
‘दुवै युवा, दुवै क्षमतावान छन्। उनीहरुको विजयपछि कांग्रेसको भविष्य उज्यालिएको छ,’ बराल भन्छन्, ‘कांग्रेस कार्यकर्ताहरुले आफ्नो विवेकको मत दिएका छन्। अब कांग्रेसमा नयाँ रक्तसंचार पैदा हुनेछ।’
सभापतिका लागि भएको पहिलो चरणको मतदानमा देउवाले २ हजार २५८ मत ल्याएका थिए। त्यही मतको अनुपात हेर्ने हो भने डा प्रकाशशरण महतले जित्नुपर्ने थियो। बरु प्रदीपका विषयमा संस्थापन समूहका नेताहरु असन्तुष्ट थिए। तर, प्रकाशशरणले जित्नका लागि पर्याप्त मत ल्याउन सकेनन्। शर्माले प्रकाशमान समूह, संस्थापन समूह र शेखर समूहको समेत मत आफ्नो पक्षमा ल्याउन सफल बने। अन्ततः कांग्रेस कार्यकर्ताले चाहेका गगन र विश्वप्रकाश महामन्त्रीका रुपमा सानेपा छिर्ने अवस्था बनेको छ।
उदयको अर्थ
त्यसो त कांग्रेसमा परिवर्तनको नारा लगाउन महामन्त्रीमा निर्वाचित दुवै नेता अघि छन्। गगनले कांग्रेस रूपान्तरणका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए। तर, विश्वप्रकाशले भने त्यसो भनेनन्। सायद त्यो भन्ने अवस्थामा उनी थिएनन्। त्यसैले त उनले 'वान, टू, थ्री, फोर'को नारा अघि सारेका थिए।
जनताले देख्ने, सुन्ने र भेट्ने कांग्रेस बनाउने एजेन्डा दुवैको हो। अब महामन्त्रीको बागडोर उनै दुई नेताले सम्हाल्नेछन्। महामन्त्रीका रुपमा दुई आशालाग्दा युवा नेता निर्वाचित भएपछि कांग्रेसमा सुधारको अपेक्षा गरिएको छ। कार्यकर्तामा रक्तसञ्चार भएको छ नै सँगै युवा नेतृत्वको अपेक्षा राख्ने जो कोहीका लागि उनीहरूको जित सुखद् भएको छ। कांग्रेसमा वर्षौंदेखि नेतृत्वमा भएको जामले निकास पाउने अवस्था सिर्जना भएको छ।
गगन र विश्वप्रकाशको उदयले कांग्रेसमा परिर्वतनको पक्षधरता बलियो बनेको देखाउँछ। र, १५औं महाधिवेशनको पछिको कांग्रेसको सामान्य चित्र कोरिदिएको छ। राजनीतिक विश्लेषक डा लोकराज बरालका शब्दमा दुई युवा नेताको उदयले कांग्रेस कार्यकर्ताको विवेक झल्काएको छ।
‘दुवै युवा, दुवै क्षमतावान छन्। उनीहरुको विजयपछि कांग्रेसको भविष्य उज्यालिएको छ,’ बराल भन्छन्, ‘कांग्रेस कार्यकर्ताहरुले आफ्नो विवेकको मत दिएका छन्। अब कांग्रेसमा नयाँ रक्तसंचार पैदा हुनेछ।’
त्यसो त १४औं महाधिवेशनले १५औं महाधिवेशनको नापनक्सा तयार गरेको तर्क गर्नेहरु धेरै छन्। जसरी उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन–विश्वप्रकाशको पुस्ता जबरजस्त उदय भएको छ त्यसले १५औं महाधिवेशनको सम्भावित चित्र अनुमान गर्न गाह्रो पर्दैन।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य गगन–विश्वको उदयसँगै १५औं महाधिवेशन युवामय हुने दावी गर्छन्। ‘मैले २/३ वर्ष देखि नै भनिएआएको थिएँ। कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ पुस्ताको उदय हुन्छ भनेर,’ उनी भन्छन्, ‘गगन र विश्वप्रकाशको विजय त्यसकै पुष्टि हो। १५औं महाधिवेशनमा नेपाली कांग्रेस युवामय हुनेछ।’
कांग्रेसमा पुस्तान्तरणको बहस धेरै पहिलेदेखि नै चलिआएको छ। तर, महाधिवेशन अघि चल्ने बहस महाधिवेशनसँगै छायामा पर्ने गरेको थियो। तर, यो पटक कांग्रेसमा पुस्तान्तरणको बहस न छायामा पर्यो, न त ओझेलमा। बरु यही बहसको जगमा पुराना पुस्ताका नेताहरुको विस्थापन युवा नेताहरुले गरिदिए।
पहिलो पुस्ताका देउवा सभापति बने। पहिलो पुस्ताकै रामचन्द्र पौडेलले एक हिसाबमा भन्ने हो भने राजनीतिक रूपमा पाखा लागे। 'दोस्रो पुस्ताका धेरै नेताहरुको अर्को महाधिवेशनमा ओझेल पर्न सक्छन्। १५औं महाधिवेशनले पुस्तान्तरणलाई सार्थक 'डिपार्चर' गरिदिने अपेक्षा गर्न सकिन्छ,' कांग्रेसका एक युवा प्रतिनिधिले भने। चौधौँ महाधिवेशनले पार्टीको नेतृत्व नयाँ अनुहारले गरोस् भन्ने कार्यकर्ताको इच्छालाई पुष्टि गरिदिएको ती प्रतिनिधिको भनाइ छ।
‘यो अहिलेको महाधिवेशनले नेपाल कांग्रेसका कार्यकर्ता नयाँ व्यक्तिको अनुहार चाहन्छन् भन्ने पुष्टि गरेको छ,’ आचार्य भन्छन्, ‘यो महाधिवेशनले प्यानल हेरेको छैन। गगन र विश्वले ल्याएको मतले त्यही देखाउँछ। पार्टी नयाँ स्वरुपमा जान्छन्।’
त्यसो त पाँच पटक प्रधानमन्त्री भइसकेका र दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित भएका देउवाका लागि पनि पार्टीमा नयाँपन देखाउने मौका भने महाधिवेशनले दिएकै छ। त्यो मौका उनले आउँदै गरेका तीन तहका निर्वाचनमा प्रयोग गर्न सक्छन्। किनकि अब कांग्रेसको महत्वपूर्ण पदमा क्षमतावान नेताहरुले प्रवेश पाइसकेका छन्। ती नेताहरु लोकप्रिय त छँदैछन्, उनीहरूको लोकप्रियतालाई पार्टीको मतका रूपमा क्यास गर्न देउवालाई सहज हुने भएको छ।
२०७४ सालको निर्वाचनमा पार्टी पराजयको अपजस देउवाले आजपर्यन्त भोगिरहेकै छन्। अब कांग्रेसलाई ठूलो र बलियो पार्टी बनाउने हो भने उनले युवा नेताहरुको विश्वास लिएर अघि बढ्नुपर्ने बेला आएको छ। ताकि अन्तिम कार्यकाल कांग्रेसको नेतृत्व गर्दा सफल सभापतिका रुपमा सानेपाबाट उनको सुखद् बहिर्गमन होस्।
‘ देउवाले आफ्नै अनुहार देखाएर निर्वाचनमा जानुभन्दा नयाँ प्रयोग गर्नुपर्छ। यदि आफ्नै अनुहार देखाएर चुनावमा जाने हो भने सुखद् नतिजा नआउन सक्छ,’ आचार्य भन्छन्, ‘फरक अनुहार देखाएर देखाएर जाँदा देउवा, नयाँ पुस्ता र कांग्रेस सबैको हित हुनेछ।’