बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ।
बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्।
तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमा मुलकमै पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचक शतप्रतिशत र १० वटा सूचकमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो। नगरपालिकाले नगरस्तरीय स्थिति प्रतिवेदन तयार गरी बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाको लागि पञ्चवर्षीय रणनीतिक योजनासमेत तयार गरेको छ।
२०७६ सालमा पूर्णसरसफाई उन्मुख नगर घोषणा गर्न सफल भएको तिलोत्तमाले कोरोना महामारीको प्रभाव कम भएसँगै नगरलाई बालमैत्री घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए।
तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो। १८ वर्षमुनीका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखिनै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमसञ्चालन हुँदै आएका थिए। बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समूह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन्।
घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेशसभा सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, राजनीतिक दल, विभिन्न सामाजिक संघ-संस्था, टोल विकास संस्था, शिक्षण संस्था, क्लव, आमा समूहलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावकको ठूलो सहभागिता रहेको थियो।
सहभागीहरुले बालमैत्री नगरलाई दिगो बनाउन आ-आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन्। बालमैत्री नगर निर्माणमा योगदान गर्ने वडास्तरीय बाल क्लव सञ्जाल, नगर स्तरीय बाल सञ्जाल, वडा कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रस्तुति देखाएको प्रवक्ता सुरेन्द्र श्रीले बताए।