काठमाडौं– गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली अब उच्च र जिल्ला अदालतमा पनि कार्यान्वयन हुने भएको छ। सर्वोच्च अदालतमा बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रिया थाल्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय भएको जानकारी दिए। उनले त्यसका लागि कानुनी व्यवस्था गर्न फुलकोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ। दाहालले भने, ‘जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेस गर्न फुलकोर्टले सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ।'