आइतबार, जेठ ६, २०८१

झन् शक्तिशाली बनेका देउवासामु यस्ता छन् चुनौती

सभापतिमा शेखर पराजित भए पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उनको टिमका कति नेताले बाजी मार्छन् त्यो त हेर्नै बाँकी छ। तर कोइरालाको टिम बलियो बनेमा देउवालाई पार्टी हाँक्न त्यति सजिलो हुनेछैन।
 |  बुधबार, मंसिर २९, २०७८

माधव नेपाल

माधव नेपाल

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– ७५ वर्षीय शेरबहादुर देउवा नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएका छन्। अघिल्लो कार्यकालमा कृष्ण सिटौलाको समर्थनमा रामचन्द्र पौडेललाई पराजित गरी सभापति बनेका देउवा यसपल्ट विमलेन्द्र निधि र प्रकाशमान सिंहको साथ लिई शेखर कोइरालालाई पराजित गरेर सभापति निर्वाचित भएका हुन्।

triton college

२०४८ सालपछि राजनीतिमा सक्रिय देउवा प्रधानमन्त्रीको पाँचौं कार्यकालमा छन् यति बेला। २०५९ सालमा कांग्रसबाट अलग भई नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति बनेका देउवा ६२/६३ को आन्दोलनपछि मूल पार्टीमा समाहित भएका थिए। अहिले नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित भएका देउवालाई अबको कार्यकाल त्यति सजिलो छैन। उनीसामु यस्ता छन् चुनौती – 

पार्टीलाई विगतको प्रजातान्त्रिक टिमबाट अलग राख्न

०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद भएपछि देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। 

त्यति बेला देउवालाई साथ दिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि अहिले एउटै टिममा आइपुगेका छन्। चौधौं महाधिवेशनअघि देउवाको विरोध गर्दै नेतृत्व परिवर्तन हुनुपर्ने रटान दिँदै आएका सिंह र निधि फेरि एकपटक देउवाकै नजिक पुगेका छन्। यसले देउवालाई झन् शक्तिशाली त बनाएको छ तर विगतको प्रजातान्त्रिक टिमकै वर्चस्व रहेकाले सबै पक्षलाई मिलाएर लैजान कठिन हुनेछ।

corrent noodles
Metro Mart

त्यतिबेला पार्टी फुटाएका कारण देउवालाई कांग्रेसको एक समूहले अहिले पनि राम्रो दृष्टिले हेर्दैन। २०५९ सालमा संसद् विघटन गर्नु र ६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षमताको आरोपमा पदमुक्त हुनुजस्ता कमजोर राजनीतिक अभ्यासको विगत पनि देउवासँग छँदैछ। सोही बेलादेखि देउवासँग असन्तुष्ट रहँदै आएको पार्टीभित्रको समूह देउवाको अघिल्लो कार्यकालका गतिविधिबाट पनि रुष्ट छ। अहिले सिंह र निधिले साथ दिँदा देउवासँग तत्कालीन प्रजातान्त्रिक कांग्रेसको वर्चस्व देखिएको छ। त्यसैले उनलाई इतर समूहले झन् शंकास्पद दृष्टिले हेर्ने प्रबल सम्भावना छ। यद्यपि पदाधिकारीको नतिजा आउन बाँकी छ। 

 शेखरको बलियो समूहलाई सँगसँगै लैजान

अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर लोकप्रिय बनेका शेखर कोइराला पदाधिकारी तहमै नपुगी चौधौं महाधिवेशनमा आइपुग्दा पार्टीमा जबरजस्त उदाएका छन्। शालीन व्यक्तित्व, कोइराला परिवारको विरासत धान्ने र युवा पुस्तामा नेतृत्व हस्तान्तरणका लागि सेतु बन्न सक्ने सम्भावना भएका शेखरको उदय देउवाका लागि अर्को चुनौती हो। अघिल्लो कार्यकालमा रामचन्द्र पौडेलले देउवासँग कहिल्यै सन्तुष्ट देखिएनन्। 

विभाग गठनदेखि गठबन्धन निर्माण होस् या क्रियाशील सदस्यता वितरणमा पनि पौडेल असन्तुष्ट हुँदै आएका मात्र थिएनन्, पार्टीभित्र देउवाको खुलेरै आलोचना गर्दै आएका थिए। अहिले आएर पौडेल नेतृत्वको रेसबाट बाहिर रहे पनि उनको सहानुभूति शेखरलाई नै जाने निश्चित छ। हिजो पार्टीभित्र पौडेल मात्र प्रतिपक्षी रहेका अब कोइराला पनि थपिएका छन्। सभापतिमा शेखर पराजित भए पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उनको टिमका कति नेताले बाजी मार्छन् त्यो त हेर्नै बाँकी छ। तर कोइरालाको टिम बलियो बनेमा देउवालाई पार्टी हाँक्न  त्यति सजिलो हुनेछैन।

निधि र सिंहको व्यवस्थापन 

सभापतिका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचनमा देउवा सभापतिमा निर्वाचित भए। दोस्रो चरणका लागि सहयोग माग्दै निधि र सिंहको घरघरमा पुगेका देउवाले दुवै नेतालाई ‘गतिलो आश्वासन’ दिएको बताइएको छ। यद्यपि दुवै नेताले बिनासर्त देउवालाई समर्थन गरेको दाबी गर्दै आएका छन्। तर कांग्रेसमा सभापतिका प्रत्यासी दुवै नेताका भिन्नाभिन्नै गुट पनि जन्मिएकाले तिनलाई मिलाउन सजिलो छैन। यसअघि पौडेल गुट, कृष्ण सिटौला गुट र देउवा गुट रहँदै आएको कांग्रेसमा अब निधि गुट, सिंह गुट, शेखर गुट, देउवा गुट स्पष्ट देखिनेछ। सिटौला गुट पनि सक्रिय नै छ।

अर्को कुरा निधि र सिंहले सरकारमा महत्त्वपूर्ण भाग खोजेमा देउवालाई मात्र होइन, सत्ता गठबन्धनलाई पनि अप्ठ्यारो पार्ने निश्चित छ। यसलाई मिलाउनु देउवाको अर्को चुनौती हो। 

विभाग गठन तथा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन 

अघिल्लो कार्यकालमा महाधिवेशन भएको लामो समय बितिसक्दा पनि विभाग गठन गर्न नसकेको भन्दै देउवा पार्टीभित्र निकै आलोचित बने। चौधौं महाधिवेशनको मिति नजिक आएपछि विभाग गठन गर्न थालेपछि इतर समूहले सार्वजनिक रूपमै देउवाको आलोचना गरिरह्यो। यसपटक पार्टी विधानअनुसार विभाग गठनमा देउवा कति सक्रिय हुन्छन् त्यसले पनि उनको दोस्रो कार्यकाल सफल वा असफल हुने संकेत गर्नेछ।

कांग्रेस सभापतिका लागि भएको दोस्रो चरणको मतदानका क्रममा देउवा, सिंह र निधि

विभाग गठन गर्दा सबै समूहलाई मिलाउनुपर्ने, आफ्नो समूहमा रहेका दोस्रो पुस्ताका धेरै नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकाले देउवालाई पक्कै सजिलो हुनेछैन। यस्तै देउवामाथि पार्टीको विधि मिचेको आरोप लाग्दै आएको छ। अबको कार्यकालमा विधि र पद्धतिलाई कसरी अगाडि बढाउने हुन् सबैको चासोको विषय छ।

भ्रातृ संगठनका अधिवेशन 

पार्टीको महाधिवेशन झन्डै दुई वर्ष ढिला गरी सम्पन्न भयो। आफूलाई मुलुककै जेठो प्रजातान्त्रिक दल दाबी गर्ने कांग्रेसका भ्रातृ संगठन अस्तव्यस्त छन्। अधिकांश भ्रातृ संगठनको अधिवेशन नभएको लामो समय बितेको छ। भ्रातृ संगठन ‘टीके’ प्रथा र भागबन्डामा चलिरहेका कारण नेतृत्व विकासको ढोका बन्दजस्तै छ। त्यसैले देउवाले जतिसक्दो चाँडो भ्रातृ संगठनको अधिवेशन गरेर अघिल्लो कार्यकालमा लागेको आरोपबाट मुक्त हुने पहल गर्नुपर्नेछ। 

परिवारवादबाट मुक्त 

परिवार केन्द्रित भएको, उनकी पत्नी आरजुले पार्टी र सत्तामा आफू अनुकूल मानिसलाई मात्र च्याप्ने गरेको, राजनीतिक नियुक्तिमा अर्को पक्षलाई बेवास्ता गर्ने गरेको आरोप शेरबहादुरमाथि लाग्दै आएको छ। हुन त यस्तो आरोप नेपाली राजनीतिको उपल्लो तहमा पुग्ने शीर्ष नेता जोसुकैलाई पनि लाग्ने गरेकै छ। आरजुको व्यक्तिगत क्षमता प्रभावशाली छँदाछँदै पनि कतिपय विषयमा उनलाई विवादमा तान्ने गरिएको छ। त्यसैले यस्तो आरोपबाट देउवा मुक्त हुनुपर्छ।

गठबन्धन सरकार टिकाउन 

पूर्ववर्ती केपी ओली सरकार सर्वोच्चको आदेशपछि अपदस्थ भएर पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले केही दिनअघि महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आफू सभापतिमा निर्वाचित नभएमा सरकारबाट बाहिरिनुपर्ने बताएका थिए। उनले भनेका थिए– ‘सरकारमा ररिहन पनि मैले जित्नैपर्छ।’ सभापति देउवा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी र जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका छन्। देउवा प्रधानमन्त्री बनेको ६ महिना पुगेको छ।

सत्ता गठबन्धनमा उनले आन्तरिक रूपमा के सहमति गरेका छन् त्यो त औपचारिक रूपमा बाहिर आएका छैन तर उनी सत्तामा रहिरहने वा नरहने भन्ने विषय गठबन्धनसँग सम्बन्धित छ। सोही कारण देउवाले मन्त्रिपरिषद्मा आफ्ना मान्छे राख्न चाहेमा पनि सजिलो हुनेछैन। 

उत्तराधिकारी व्यवस्थापन 

शेरबहादुर देउवाले पार्टी सभापतिको दोस्रो कार्यकाल सुरु गर्दै गर्दा उनका उत्तराधिकारी को भन्ने पनि प्रश्न छँदैछ। चौधौं महाधिवेशनअघि देउवाको कोर टिममा रहेका र उनको उत्तराधिकारी बन्ने सम्भावना बोकेका नेताहरू पदाधिकारीमा अटेका छैनन्। अब देउवालाई आफ्नै समूहभित्रका नेताहरूलाई व्यवस्थापन गर्न सजिलो छैन भने आफ्ना उत्तराधिकारी कसलाई बनाउने भन्ने पनि कठिन छ।

आमनिर्वाचन र स्थानीय तहको निर्वाचन

देउवाले आफू सभापतिमा निर्वाचित भएमा आसन्न संघीय संसद्को आमनिर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने दाबी गर्दै आएका छन्। देउवाकै कार्यकालमा अघिल्लोपटक भएको निर्वाचनमा पार्टीको उपस्थिति निकै कमजोर देखियो। कतिपयले कांग्रेसले इतिहासमै लज्जाजनक हार व्यहोरेकाले यसको सम्पूर्ण जिम्मेवारी देउवाले लिनुपर्ने भन्दै आलोचना गरेका थिए।

अब हुने निर्वाचनमा पनि नेपाली कांग्रेस देउवाकै नेतृत्वमा मैदानमा जानेछ। देउवाले केकस्ता कार्यक्रम कार्यक्रम अघि सार्नेछन् र पार्टीलाई कसरी अगाडि बढाउनेछन् भन्ने कुराले निर्वाचनमा गहिरो प्रभाव पार्नेछ। देउवा आफैं सत्तामा छन्। त्यसैले जनतासामु गर्ने उनको बाचा त्यति प्रभावकारी नहुन सक्छ। यो पनि देउवाका लागि चुनौती छँदैछ।

प्रकाशित: Dec 15, 2021| 13:05 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...