शनिबार, जेठ ५, २०८१

किन एक्लाइए शेखर? एक्लिँदैमा कमजोर भए त?

सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो।
 |  मंगलबार, मंसिर २८, २०७८

नारायण अमृत

नारायण अमृत

मंगलबार, मंसिर २८, २०७८

चुनावी रुपमा एक्लिए पनि शेखरले पहिलो चरणमा पाएको १७ सय मत पार्टी नेतृत्वका लागि दौडमा रहेका जोसुकैका लागि पनि झस्काउने संख्या हो। त्यसैले जिते पनि हारे पनि शेखर एउटा बलशाली समूहको नेता स्थापित भएका छन्। 

triton college

काठमाडौं– ‘तपाईंहरुले बुझ्नुहोस् पार्टीको यो नेतृत्वले काम गर्दैन, सभापतिमा मेरो उम्मेदवारी नेतृत्वविरुद्ध पनि हो’, २ मंसिरमा मिडियाका सम्पादकहरुसँग कांग्रेस नेता प्रकाशमान सिंहले पटकपटक भने, ‘कांग्रेसमा राजनीति मेवाका लागि भयो। सेवाका लागि भएन।’

सम्पादकहरुसँग मात्र होइन पछिल्लो महाधिवेशनको सेरोफेरोमा नेता सिंहबाट आएका सबै अभिव्यक्तिमा पार्टी सभापति शेरबहादुर देउवाविरोधी भाष्य निहित थियो। कतिपय अन्तर्वार्ता र भाषणहरुमा उनले ‘कांग्रेसको असक्षम नेतृत्व बदल्न संस्थापन इतर समूह एक ठाउँमा उभिने नै हो’ अडान दोहोर्‍याइरहे। 

त्यसैगरी देउवा समूहबाट विद्रोह गरेर सभापतिको उम्मेदवार बनेका पार्टी उपसभापति विमलेन्द्र निधिले पनि १४औं महाधिवेशनको निर्वाचन दोस्रो चरणमा पुगे आफूहरु सबै देउवाविरुद्ध उभिने भनाइ सार्वजनिक गरेका थिए। सभापति देउवाले आफूलाई किनारामा पारेको चोट निधिको मनमा थियो। महाधिवेशन प्रक्रियाको प्रारम्भमा देउवाबारे केही टिप्पणी नगरेका निधिले केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदानको सम्मुखमा ‘देउवाविरुद्ध एक हुने हो’ भन्ने प्रतिक्रिया दिएका थिए।

तर १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वका लागि भएको मतदानमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि कांग्रेस समीकरणले नयाँ मोड लियो। यसअघि देउवाप्रति असन्तुष्ट भनिएका नेता सिंह र निधिले सभापतिमा दोस्रो मत ल्याएका शेखर कोइरालालाई समर्थन गर्ने अपेक्षा गरिएको थियो तर त्यस्तो भएन। 

corrent noodles
Metro Mart

पहिलो चरणको निर्वाचनमा ८३ मत कम भएपछि हुने दोस्रो निर्वाचनका लागि सहयोग माग्न देउवाले आफ्नो दूत बनाएर गृहमन्त्री बालकृष्ण खाँडलाई चाक्सीबारी पठाए। खाँडले नेता सिंहलाई भेटेपछि लगत्तै देउवा आफैं सिंहसँग कुराकानी गर्न चाक्सीबारी गए। त्यसैगरी देउवाले अर्का नेता विमलेन्द्र निधिसँग पनि उनकै निवास बानेश्वर पुगेर भलाकुसारी गरे। 

देउवासँगको भेटपछि दुवै नेताहरुको बोली फेरियो। सिंह र निधिले देउवालाई समर्थन गर्ने अभिव्यक्ति दिएसँगै सभापतिको निर्वाचनमा जम्मा २० मत ल्याएका कल्याण गुरुङले समेत देउवालाई साथ दिने अभिव्यक्ति दिए। र, मोड यस्तो आइपुग्यो जहाँ शेखर कोइरालाले अरु कुनै समूह या नेताको सहयोग विना दोस्रो चरणको निर्वाचनमा जानुपर्ने भयो। एक हिसाबले उनी एक्लाइए।

बदलिएको यो परिस्थितिसँगै हामीले नेता सिंह र निधिले सभापतिका प्रत्यासी शेखर कोइरालालाई किन साथ दिएनन् भन्ने एउटा लेखाजोखा गरेका छौं।

भनिन्छ, राजनीतिमा कहिलेकाहीं जे भनिन्छ या जे गरिन्छ त्यसको अर्थ घुमाउरो हुन्छ। त्यसलाई आयामिक रुपमा बुझ्नुपर्ने हुन्छ। लामो समय पार्टी संरचनाका विभिन्न तह र पदको अनुभव प्राप्त तथा सत्ता संयन्त्रको स्वाद पाएका नेता सिंह र निधिले आफूलाई स्वाभाविक रुपमा कांग्रेसभित्रको परिपक्व नेता ठान्छन्। पार्टी अगुवाइ गर्ने योग्य नेता ठान्छन्। गणेशमानजस्तो सर्वमान्य नेता र महेन्द्रनारायण निधि जस्तो त्याग र निष्ठाका बिम्बको ‘लिगेसी’ बोकेका यी नेतामा कांग्रेस नेतृत्वको हुटहुटी र आफ्नो प्रभावको राजनीतिक चाह गहिरो छ। 

देउवा इतर समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार बनाउन भएका कतिपय बैठकमा नेता प्रकाशमान सिंहले शेखरको राजनीतिक योग्यता र अनुभवप्रति घुमाउरो पारामा प्रश्न उठाउँदै आएका थिए। 

त्यसैले दुवै नेताको दृष्टिमा छोटो समयमा कांग्रेसभित्र लोकप्रिय बन्दै गरेका शेखर कोइरालाको राजनीतिक ‘हाइट’ कांग्रेस नेतृत्वका लागि बनिसकेको छैन। देउवा इतर समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार बनाउन भएका कतिपय बैठकमा नेता प्रकाशमान सिंहले शेखरको राजनीतिक योग्यता र अनुभवप्रति घुमाउरो पारामा प्रश्न उठाउँदै आएका थिए। यसअघिका दुई महाधिवेशनबाट केन्द्रीय सदस्य मात्र निर्वाचित शेखरका विषयमा उनको भनाइ रहन्थ्यो, ‘शेखरजीले एकपटक सभापतिबाहेक अरु पदाधिकारी भएर अनुभव लिँदा राम्रो हुन्छ।’

यो एक प्रकारको भय थियो। राजनीतिक भय। व्यक्तित्वको भय।

तर शेखरले अघिल्लो महाधिवेशनमा शशांकलगायत प्रकाशमानकै नाममा पनि आफूले त्याग गरेको तर केन्द्रीय सदस्यका रुपमै भए पनि पदाधिकारीभन्दा बढी सक्रिय रहेर पार्टी र संगठनमा योगदान गरेको जवाफ दिँदै आइरहेका थिए। यस्तो जवाफले प्रकाशमान विश्वस्त हुने कुरै भएन। पार्टी सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि त त्याग गर्न असहमत नेता सिंहले दोस्रो चरणमा शेखर कोइरालालाई समर्थन गर्नु भनेको राजनीतिक हिसाबले उनलाई आफ्नो नेता अनुमोदन गर्नु थियो जुन उनका लागि अत्यत्यै कठिन भैदियो।

कुनै बेला सँगसँगै भए पनि पछिल्लो १२ वर्षदेखि निरन्तर रुपमा देउवा विरोधी मोर्चामा रहेका प्रकाशमान सिंहले त शेखरलाई नेता स्विकारेनन् भने महाधिवेशन प्रक्रियाअघिसम्म सभापति शेरबहादुर देउवाको साथमा रहेका उपसभापति तथा अनुभवी नेता विमलेन्द्र निधिले शेखरलाई ‘शिर’ मा राख्नु ठूलै खतरा ठाने। निधिका लागि देउवा दाहिना पार्नु एउटा बाध्यात्मक अवस्था जस्तो पनि बन्यो। त्यसैले उनले विज्ञप्तिमा लेखे, प्रतिनिधिले नेतृत्व परिवर्तन चाहेको देखिएन, वास्तविकतालाई स्वीकार्नुपर्छ। ‘स्वाभाविक रुपमा यी दुई नेताहरुले राजनीतिक करिअर लामो र त्यति संघर्षशील नभएका कोइरालालाई अघिल्लो पंक्तिमा राख्न चाहेनन्’, सिंह निकट एक नेताले भने, ‘यो उनीहरु दुवैका लागि कठिन थियो। बरु शेरबहादुर देउवाकोमा उनीहरुले आफ्नो राजनीतिक स्पेस देखे।’

ती नेताले भनेको ‘देउवाकोमा भएको स्पेस’ के हो त?, एकछिन यसबारे चर्चा गरौं।

प्रकाशमान चलायमान नेता हुन्। उनको संगतमा रहेकाहरुको अनुभवमा उनी चलायमान मात्र होइन अलिक राजनीतिक ‘इख राख्ने’ नेता पनि हुन्। त्यसैले गिरिजाप्रसाद कोइरालाले आफ्ना पिता गणेशमान सिंहलाई गरेको अपमानको जगमा उनी उहिल्यैको देउवा समूहतिर लागेका थिए। कालान्तरमा देउवासँग पनि ‘पावर सेयरिङ’मा खटपट परेपछि उनी देउवाबाट टाढा भएका हुन्। तर अहिले देउवा समूहभित्रको अवस्था पहिलेको भन्दा अलिक अलग छ। 

कांग्रेसको १४ औं महाधिवेशनमा आफू जित्न देउवाले कृष्ण सिटौलाको समूहसँग सहकार्य गरे। यो सहकार्यले देउवा समूहभित्रको मनोविज्ञान र शक्ति संघर्षको स्वरुप बदल्ने देखिन्छ। सिटौला समूहबाट प्रदीप पौडेल र आफ्नै समूहबाट डा प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएपछि समूहभित्रका केही प्रभावशाली नेताहरु देउवासँग असन्तुष्ट छन्। संगठन निर्माण र राष्ट्रिय राजनीतिमा खास योगदान नगरेका महत र अर्कै प्यानललाई महामन्त्री दिएर आफूहरुको राजनीतिक करिअर सुनियोजित रुपमा अबरुद्ध पारिएको बुझाइ यी नेताहरुको छ। निर्वाचनमै विद्रोह गर्ने ताकत नराखे पनि यो समूहले अबका दिनमा नयाँ मार्गचित्र बनाएर हिँड्न चाहन्छ।

देउवा समूहका खास स्तम्भहरु बिस्तारै हल्लिँदै गर्दा उनीहरुलाई समेटेर सो समूहको अगुवाइ गर्न सकिन्छ भन्ने विश्लेषण सिंह र निधि दुवैको छ।

खासगरी प्रदीप पौडेलभन्दा सिनियर र अनुभवी एनपी साउद, बालकृष्ण खाँड र रमेश लेखक यसपटकको महाधिवेशनबाट देउवाले आफूहरुलाई किनारामा पारे भन्दै असन्तुष्ट रहेको कहींकतै छिपेको छैन। नेता साउद देउवाका लागि भोट बैंक भनिने सुदूरपश्चिम र कर्णालीको संगठन निर्माणमा ऊर्जाशील, सक्रिय र रणनीतिक मानिन्छन्। तरुण दलका पूर्वअध्यक्ष खाँड पनि देशव्यापी युवामाझ देउवा पक्षका कुशल संगठक तथा व्यवस्थापक हुन् भने रमेश लेखकले १२ बुँदे हुँदै शान्ति प्रक्रिया तथा संविधान निर्माणमा पार्टीका तर्फबाट जुन खटन र योगदान गरे त्यो स्मरणीय छ। देउवा समूहका खास स्तम्भहरु बिस्तारै हल्लिँदै गर्दा उनीहरुलाई समेटेर सो समूहको अगुवाइ गर्न सकिन्छ भन्ने विश्लेषण सिंह र निधि दुवैको छ।

कांग्रेस विधानले र उमेरले गर्दा पनि देउवाले अर्को ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने निश्चित छ। उनी चाहेर पनि अर्को पटक पार्टी सभापति हुने छैनन्। यसपटक देउवाले उपसभापतिको टिकट दिएर पूर्णबहादुर खड्कालाई उत्तराधिकारीमा अगाडि बढाउन चाहेको सन्देश त दिएका छन् तर खड्काको शान्त राजनीतिक स्वभाव कारण उनी यो समूहको उत्तराधिकारी हुन नसक्ने विश्लेषण सोही समूहका कतिपय नेता सुनाउँछन्। यो समूहका अधिक नेताले खड्कालाई सुस्त नेताको संज्ञा दिने गरेका छन्। ‘दोस्रो चरणको चुनावमा सहयोग माग्ने क्रममा बालकृष्ण खाँड र प्रकाशमान सिंहबीच केही न केही कुरा भएको छ’, देउवा समूहका एक नेताले भने, ‘त्यत्तिकै प्रकाशमान सिंह देउवाको ढोकामा उभ्भिएका छैनन्। उनले यहाँ आफ्नो सम्भावना देखेरै आएका छन्।’

नेता सिंहले दोस्रो चरणअघि आफूनिकट महाधिवेशन प्रतिनिधिसँग ‘देउवासँग पावर सेयरिङको कुरा भएको’ बताइसकेका छन्। समूहभित्र आफू नेता हुने सम्भावना र ‘स्पेस’ त छँदैछ त्यसैमा पनि देउवाबाट उनले कुनै महत्त्वपूर्ण आश्वासन पाएपछि उनको मन बदलिएको हो।

१४ औं महाधिवेशन सभापति पदका प्रत्यासी सिंह र निधिले पहिलो चरणको मतपरिणामका आधारमा पनि परिस्थिति विश्लेषण नगर्ने कुरै भएन। सभापतिका लागि शेरबहादुर देउवालाई ८३ मतको खाँचो देखियो जसले उनलाई एउटा बलियो र सम्भावित विजेताको ‘फ्रेम’ मा उभ्यायो। महाधिवेशनको पहिलो चरणमा खसेका ४ हजार ६ सय ७९ मतमध्ये देउवाले २२५८ मत प्राप्त गरे भने कोइरालाले १७०२ मत। आफूहरु शेखरका पक्षमा लाग्दा पनि देउवाले चुनाव जित्ने सम्भावनाबारे पनि यी दुई नेतालाई अरु बढी फराकिलो हिसाबले सोच्न बाध्य पारेको हो। एकातिर शेखरको नयाँ समूह जहाँ आफ्नो स्थान के हो भन्ने ग्यारेन्टी छैन र अर्कोतिर समर्थन गर्दा पनि सम्भावित पराजयको तस्बिर, यसले नेता सिंहलाई सोचमग्न मात्र पारेन अप्रिय लागे पनि देउवा समर्थनको अभिव्यक्ति दिनुपर्ने अवस्था आयो।

शेखरका हकमा रामचन्द्र पौडेल खुलेर लागेनन्। उनले आफू समूहभित्र सर्व स्विकार्य नेता नभएपछि महाधिवेशन प्रक्रियाबाटै अलग रहने निधो गरे। निधि र सिंह शेरबहादुतिर लागे। आफ्नै परिवारका शशांक पनि मौन बसिदिए र सुजाता त झन् सिंहसँगै देउवातिर खुलिन्। शशांकको मौनता भने आगामी दिनमा सबैको नेता बन्ने, सर्वस्विकार्य नेता बन्ने योजनाका कारणले हो। उनी देउवा समूहका नेताहरुलाई शेखरकै कारण चिडाउन चाहँदैनन्। उस्तै परे देउवासँग मिलेजस्तो गरिदिन्छन्। उनको रणनीति १३ औं महाधिवेशनमा सतहमा आइसकेको छ।

सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो।

चुनावी रुपमा एक्लिए पनि शेखरले महाधिवेशनअन्तर्गत भएको निर्वाचको पहिलो चरणमा १७ सय मत ल्याए जुन मत पार्टी नेतृत्वका लागि दौडमा रहेका जोसुकैलाई पनि झस्काउने संख्या हो। यसअघि पदाधिकारी भएर काम नगरेका शेखरले प्राप्त गरेको इष्ट संख्यामा हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर प्रतिनिधिहरुको अधिक मत छ। नेता पौडेल महाधिवेशन प्रक्रियाबाट नै अलग बसेपछि उनी पक्षधर मतलाई शेखरले आफ्नो पक्षमा अनुमोदन गरे। नेता पौडेलले फेरि ती आफू पक्षधर मतहरु खोस्ने कुनै गुञ्जायस छैन। त्यसैले जिते पनि हारे पनि शेखर एउटा बलशाली समूहको नेता स्थापित भए।

अहिले शेखरसँग गगन थापा, मिनेन्द्र रिजाल, धनराज गुरुङ र चन्द्र भण्डारीदेखि कमला पन्त जस्ता क्रियाशील र आशा लाग्दा नामहरु छन्। त्योभन्दा पनि यो समूहसँग पार्टी परिवर्तनको एजेन्डा छ। सुस्त, गतिहीन र योजनाहिन कांग्रेसलाई सबैले देख्ने–सुन्ने कांग्रेस बनाउन सकिन्छ भन्ने आशा र योजना बोकेका नेताहरु समूहमा हुनु नै शेखरका लागि सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति हो। अर्को महत्वपूर्ण कुरा, यो समूहसँग आजसम्म कांग्रेस संलग्न भएका आन्दोलन र त्यसका उपलब्धी रक्षा गर्ने प्रतिबद्धता भएका नेताहरु छन्। राज्य संयन्त्रलाई जनमुखी दिशामा लैजाने अठोट र संघीय गणतन्त्र नेपालको सौन्दर्यलाई जोगाउने मुद्धा आत्मसाथ गर्ने लडाकुहरु छन्। यो अहम् विषय हो।

चुनावी परिदृश्यका परिघटनामा एक्लिए पनि यो महाधिवेशनले शेखरलाई ‘सिफ्ट’ गराएको छ।

प्रकाशित: Dec 14, 2021| 20:03 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...