शनिबार, वैशाख २२, २०८१

कांग्रेस महाधिवेशन : मतगणना जारी, केही घण्टामै सभापतिबारे परिणाम

गणनास्थलमा सुरक्षा व्यवस्था चुस्त पार्नका लागि सीसीक्यामेरा जडान गरिएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा सभापति पदको गणना सुरु गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिएका छन्। उनका अनुसार अबको केही घण्टामा नै सभापतिको नतिजा आउने छ।

triton college

गणनास्थलमा सुरक्षा व्यवस्था चुस्त पार्नका लागि सीसीक्यामेरा जडान गरिएको छ। केही उम्मेदवारका प्रतिनिधि भने गणनास्थलमा नपुगेकाले गणना थाल्न केही ढिलाइ भएको थियो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १ बजेदेखि सभापति पदको मतगणना सुरु हुने बताएको थियो। 

राष्ट्रिय सभागृहमा सभापति पदको उम्मेदवारको मात्र मत गणना हुन्छ। बाँकी पदको गणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने भएकाले ८४ वटा मतपेटिका सानेपा पठाइएको छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। भने ६२ जना अनुपस्थित बनेका छन्। योसँगै सभापति पदमा विजयी हुने कुल खसेको मतको ५० प्रतिशत अर्थात् २३४० मत ल्याउनुपर्ने भएको छ।

बिहान करिब साढे ११ बजे सुरु भएको मतदान अहिले राति साढे ११ बजे सकिएको थियो। सुरुमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा तीन पटकसम्म समय थप गरी साढे ११ बजे मात्र मतदान सम्पन्न भएको थियो। त्यसभन्दा १२ घण्टाअघि मतदान सुरु भएको थियो। 

सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

corrent noodles
Metro Mart

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

मतदान सुरु हुनै ढिलाई

निर्वाचन समितिले समयमा नै मतपत्रको व्यवस्था गर्न नसक्दा मतदान सुरु हुन करिब साढे ३ घण्टा ढिलो भएको थियो। बिहान ८ बजेका लागि तोकिएको मतदान सुरु गर्ने प्रक्रिया साढे ११ बजेमात्र सुरु भएको थियो। 

समितिले मतपत्र पनि एक पटकमा १००/१५० का दरले मात्र ल्याउने गरेको थियो। यसो गर्दा बीचमा नै मतपत्र सकिने र मतदान प्रक्रिया रोकिने भइरह्यो। 

कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले समितिले बेलैमा सबै व्यवस्थापन गर्न सकेको भए मतदान सम्पन्न भएको समयमा पहिलो चरणको नतिजा नै आउने बताएका थिए। निर्वाचन समितिले गर्न सक्ने काम पनि नगरेको भन्दै उनले असन्तुष्टि जाहेर गरेका थिए। 

८७ मतपेटिका, ८४ सानेपा पठाइए

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार विभिन्न स्थानमा प्रतिनिधिहरूले तीन केन्द्रमा जम्मा ८७ वटा मतपेटिकामा मतदान गरेका थिए। तीमध्ये सभापतिका ३ मतपेटिएका थिए। ती मतपेटिकालाई राष्ट्रिय सभागृहमा पुर्‍याएर गणना गर्न थालिएको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ। 

बाँकी ८४ वटा मतपेटिका भने उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यका लागि खसालिएका मतका हुन्। ती पेटिकाहरूलाई सानेपा पठाइएको छ। सभापति बाहेकका उम्मेदवारको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुने भएकाले त्यसतर्फ पठाइएको हो। 

मतदातालाई स्यानिटाइज, 'नो मास्क'मा उम्मेदवार

सोमबारको मतदान गर्ने सबैलाई स्यानिटाइज गर्ने व्यवस्था गरिएको थियो। यसका लागि मतदान केन्द्र छिर्ने ठाउँमा मेसिन राखिएको थियो।

मतदातालाई मास्क पनि अनिवार्य गरिएको थियो। तर, उम्मेदवार भने बिना मास्क भोट मागिरहेका देखिन्थे।

मेरो अन्तिम पटक हो : मीनेन्द्र रिजाल

महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले आफूले जिते पनि हारेपनि पार्टीमा पुनः प्रतिस्पर्धामा नआउने बताएका छन्। १४औं महाधिवेशनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा रिजालले यस्तो बताएका हुन्। 

'जिते पनि, हारे पनि पार्टीमा यो मेरो अन्तिम प्रतिस्पर्धा हो। म नहुँदा पनि कांग्रेसको ज्योति हराउँदैन,' उनले भने। पहिलो चरणमा नै शेखर कोइराला सभापतिमा चयन हुने उनको भनाइ छ। 

उनले कागजी मतदान प्रक्रिया लामो भएको समेत बताएका थिए। 'मतदान प्रकिया लामो छ। बिहान समितिले व्यवस्थापन गर्न नसक्दा समस्या भयो,' उनले भने। महाधिवेशनले कांग्रेसमा ऊर्जा भर्ने र संयोजनको महाधिवेशन यही हुने उनको भनाइ छ।

देउवा र शेखरको नीतिः रामचन्द्र र शशांकका नाममा प्रचार 

महाधिवेशनको नेतृत्व चयन प्रक्रियाबाट अलग भएका वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन लिन नेताहरुले ठूलै कसरत गरेका छन्। भलै पौडेलले आफू तटस्थ बस्ने बताएका छन्। तर, शनिबार मनोनयन दर्ता गरेलगत्तै नेताहरु बोहोराटार पुगेका थिए। मनोनयन दर्ता गरेलगत्तै शेखर कोइराला नेतृत्वको प्यानल बोहोराटार पुगेको थियो। शनिबार राति नै सभापति देउवा पनि बोहोराटार पुगेका थिए। दुवैको एकै अपेक्षा थियो– आफ्नो पक्षमा समर्थन जुटाउनु। जसले पौडेल र शशांकको मत आफूतिर तान्न सहज होस्। शेखरले आइतबार साँझ पत्रकार सम्मेलन गरेर रामचन्द्र र शशांकको आशिर्वाद आफ्नो समूहमा रहेको दावी गरेका थिए।  

शेखरको दावीसँगै देउवाको सचिवालयले मध्यरातमा रामचन्द्र र शशांकको समर्थन रहेको समाचार बाहिर ल्याएको थियो। शनिवार पौडेल र आइतबार शशांकसँग देउवाले भेटेको र दुवै नेताले समर्थन दिने बताएको समाचार देउवाको सचिवालयले बाहिर ल्याएको थियो। तर, पौडेल र शशांकको सचिवालयले उक्त समाचार भ्रामक रहेको भन्दै खण्डन गरिसकेका छन्।

मतदान सुरु हुनुअघि पनि शेखर पौडेललाई भेट्न बोहोराटार पुगेका थिए। पौडेलले शेखरलाई जितको शुभकामना दिएका छन्। मतदान अघि भृकुटीमण्डप पुगेका शशांकले भने आफू कुनै पनि गुटमा नभएको बताएका छन्। देउवालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहयोग छ भने शेखर चर्चित युवा नेता समावेश रहेको प्यानल सहित मैदानमा उत्रिएका छन्।   

उपत्यकाको मतसँगै कोइराला र शर्माको भरमा प्रकाशमान 

सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौं उपत्यकाको मत आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छन्। काठमाडौंका सभापति सबुज बानियाँ र ललितपुरका सभापति जितेन्द्र मलेखुको साथ प्रकाशमानलाई छ। सँगै गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र युवा नेता विश्वप्रकाश शर्मा सिंहको टिमबाट उपसभापति र महामन्त्रीका उम्मेदवार छन्।

गिरिजाको लिगेसी मत र शर्माका कारण युवा पुस्ताबाट आउने मतसँगै उपत्यकाको मत बढीभन्दा बढी आफ्नो पक्षमा पार्ने रणनीतिमा प्रकाशमान देखिएका थिए।  

देउवालाई रोकिछाड्ने निधिको दाउ  

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधि देउवालाई रोकेरै छाड्ने रणनीतिमा अघि बढेका छन्। आफ्नो प्रभाव क्षेत्र प्रदेश नम्बर २ को मत बढीभन्दा बढी आफ्नो पक्षमा पारेर सभापति पदको निर्वाचनलाई दोस्रो चरणमा धकेल्ने योजना निधिको छ।

पहिलो चरणमा देउवालाई जित्नबाट रोक्न सके दोस्रो चरणमा पराजित गर्न सकिने निधिले बुझेका छन्। र, सार्वजनिक अभिव्यक्ति समेत दिएका छन्। उनले आइतबार पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘पहिलो चरणमा ५१ प्रतिशत कसैले कटाउने देखिँदैन। दोस्रो चरणमा देउवा इतरमा रहेका हामी मिल्छौं र देउवालाई पराजित गर्छौं।’ 

देउवालाई सत्ताच्यूत हुने त्रास 

सभापति देउवालाई सभापति पराजित भए सत्ताबाट बाहिरिनुपर्ने त्रास छ। उनले आइतबार भनेका थिए, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ। मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले। त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ।’

उनले आफ्नो अन्तिम बेला भएको र आफूले जिते प्रधानमन्त्री रहिरहने र त्यसो भए गाउँदेखि माथिसम्म जित्ने र नभए त्यो सम्भव नहुने बताए। उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुने तर्क पनि अघि सारेका छन्। 

आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिइरहँदा सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने त्यसलाई अस्वीकार गरिदिएका छन्। उनले देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने बताए। ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ। यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं,’ उनले भनेका थिए। 

शेखरका कमाण्डर गगन

शेखरका चुनावी कमाण्डर गगन देखिएका छन्। महामन्त्रीका उम्मेदवार समेत रहेका थापा कार्यकर्ता माझ लोकप्रिय छन्। शेखरले गगनको साथ त पाएकै छन्, सँगै शेखरले गगनबाट ठूलो आशा समेत राखेका छन्। थापाले आइतबार भनेका थिए, ‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०–१२ लाख मतदाता थप्नुपर्छ। यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔंआऔं लागोस्। कांग्रेसको घरभित्र पसौं पसौं लागोस्। शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ।’

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रको निम्तो

वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनका प्रतिनिधिहरूलाई चियापानका लागि बोलाएका छन्। मंगलबार बिहान ८ बजे सबै महाधिवेशन प्रतिनिधिलाई उनले लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको पौडेलको सचिवालयले जानकारी दिएको छ। 

पौडेलले जारी महाधिवेशनको प्रक्रियाबाट आफू अलग भएको बताएका थिए भने मतदानमा उनी सहभागी भएनन्। 

संस्थापन इतरपक्षबाट आफू साझा उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रक्रियाबाटै बाहिरिएका थिए। इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धा गर्ने भएपछि पौडेल ब्याक सरेका हुन्।

प्रकाशित: Dec 14, 2021| 04:20 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...