काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार विभिन्न स्थानमा प्रतिनिधिहरूले तीन केन्द्रमा जम्मा ८७ वटा मतपेटिकामा मतदान गरे। तीमध्ये सभापतिका ३ मतपेटिएका थिए। ती मतपेटिकालाई राष्ट्रिय सभागृहमा पुर्याएर गणना गर्ने तयारी भइरहेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ।
८४ वटा मतपेटिका भने उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यका लागि खसालिएका मतका हुन्। ती पेटिकाहरूलाई सानेपा पठाउने तयारी भइरहेको छ। सभापति बाहेकका उम्मेदवारको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुने भएकाले त्यसतर्फ पठाउन लागिएको हो।
सोमबार राती साढे ११ बजे सकिएको मतदानपछि राती १ बजेदेखि सभापतिको गणना सुरु गर्ने भनिएपनि साढे १ बजेसम्म सभापतिको पनि गणना सुरु भएको छैन।
सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर निर्वाचन समितिको व्यवस्थापन कमजोरीका कारण साढे ३ घण्टापछि मात्र मतदान सुरु भएको थियो। तीन पटकसम्म समय थप भएको मतदानमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले मत खसालेका छन्।
कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।
सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।