काठमडौं- प्रभु समूहले पोखराबाट थप नयाँ दुई प्रभु हेलिकप्टरको सञ्चालन शुरु गरेको छ। हिमालय शृंखला दृष्यावालोकन गर्ने इच्छुक आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै प्रभु समूहले उक्त नयाँ थप दुई‘आर ६६ रविन्सन अमेरिकन हेलिकप्टर सञ्चालन शुरु गरेको कम्पनीको सेल्स एण्ड मार्केटीङ म्यानेजर सलिना श्रेष्ठले बताइन्।
उनले सोमबार पोखरामा उक्त हेलिकप्टर सार्वजनिक गरेको जानकारी दिइन्। १४ हजार फीटमाथि उचाइसम्म उडाउन सकिने उक्त हेलिकप्टर एउटाको मूल्य १० करोड रुपैयाँ पर्छ। हेलिकप्टरमा पाइलटसहित ५ जना सहजै बस्न सकिने उनको भनाइ छ। उनका अनुसार कम्पनीसँग पहिले नै ३ प्रभु हेलिकप्टरहरु सञ्चालनमा थिए।
कम्पनीले सञ्चालनमा ल्याएका होलिकप्टरको ककपिट ग्लास ठूलो, माउन्टेन टुरको लागि राम्रो, तुलनात्मक रुपमा अन्य हेलिकोप्टरहरुभन्दा सहज र गुणस्तरिय रहेको मार्केटीङ म्यानेजर श्रेष्ठको दाबी छ।
‘थपिएको दुई नयाँ हेलिकोप्टरसहित समूहसँग अब जम्मा ५ वटा प्रभु हेलिकोप्टर भएको छ,’ उनले भनिन् ‘माउन्टेन, मेडिकललगायतको प्रयोगकालागि महत्वपूर्ण रहने थप हेलिकोप्टर पोखरामा जोमसोम, लामटाङलगायतका स्थानमा उडाइनेछ।’
यसअघिका हेलिकोप्टरहरु कम्पनीले अन्नपूर्ण बेस क्याम्प, मुक्तीनाथ लगायतका स्थानमा फ्लाईट गर्दै आएको छ।
‘काठमाडौंमा हेलिकोप्टरको लागि अनुमतिको प्रक्रिया अघि बढाएका छौं,’उनले थपिन् ‘अनुमति पाएको खण्डमा केही हप्तापछि नै राजधानीवेस भएर सेवा दिने तयारी भइरहेको छ।’काठमाडौंबाट लाङटाङ, हलेसी, लुक्ला लगायतको स्थानमा फ्लाईट गर्ने योजना रहेको सुनाइन्। प्रतिघन्टा हेलिकोप्टरको भाडादर १२ सय डलर कम्पनीले तोकेको छ।
मार्केटीङ म्यानेजर श्रेष्ठको अनुसार कम्पनीले पहिलो हेलिकोप्टर २०१५, दोस्रो २०१६ र तेस्रो २०१७ मा भित्र्याएको जानकारी दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४