काठमाडौं– नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुले मत माग्न विभिन्न शैली अपनाएका छन्। उम्मेदवारहरुको पर्चा, पम्पलेट र प्रचार सामग्रीका कारण महाधिवेशनस्थल फोहोर बन्दै गइरहेको छ।
तर, खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार रहेका युवा नेता राजेन्द्र बजगाईंले भने अरु उम्मेदवारले गरेको फोहोर सफा गर्दै निर्वाचन प्रचार गरेका छन्। महाधिवेशनस्थलमा बजगाईंका समर्थकहरुले छरिएका फोहोर संकलन गरेर व्यवस्थित गरेका छन्।
पर्यावरणप्रति कांग्रेस नेताहरु जिम्मेवार हुनुपर्ने बजगाईंले बताए। ‘हाम्रो महाधिवेशनका कारण सहर फोहोर हुनु हुँदैन। महाधिवेशनमा प्रतिस्पर्धा गरौं तर फोहोर नगरौं। यही कारण म र मेरा साथीहरु सरसफाइ गर्दै प्रचारमा जुटेका हौं,’ बजगाईंले भने।
भड्किलो प्रचारका भरमा नभएर पार्टीलाई योगदान गर्न सक्ने क्षमताका आधारमा मत व्यक्त गर्नसमेत उनले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन ।
महाधिवेशनस्थलमा कांग्रेस सेवक लेखेको पोशाक लगाएर २० जनाभन्दा बढी स्वंयसेवक बजगाईंको तर्फबाट प्रचारमा खटिएका छन्। उनीहरुले महाधिवेशन प्रतिनिधिलाई पर्नसक्ने अन्य असुविधामा पनि सहयोग गर्ने बताइएको छ।