काठमाडौं- काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाले यस वर्ष आउँदो मंसिर २७ देखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेदेखि यता हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाउने गरिएको बताए।
उनले २७औं महानगर दिवसमा,सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप सुरुवात, तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि बताए।
प्रवक्ता डंगोलले भने, ‘२०५२ सालको मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको थियो। त्यसपछि हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसको रूपमा मनाउने गरिएको छ। यसक्रममा यो वर्ष २७औं महानगर दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै मंसिर २७, २८ र २९ गते गरी तीन दिन मनाउने निर्णय भएको छ।'
यस वर्ष महानगर दिवसको अवसरमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप सुरुवात तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
प्रवक्ता डंगोलले २०७२ को महाभूकम्प, नाकाबन्दी र कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरले आफूसँग भएका श्रोत साधनलाई प्रयोग गरेर महानगरवासीको सेवामा तल्लीन रहेको बताएका छन्।