ललितपुर- ललितपुर महानगरले वृद्धवृद्धाहरुलाई दिंदै आएको मासिक भत्ताबाहेक थप ५ हजार रुपैयाँ वार्षिक रुपमा दिने तयारी गरेको छ। महानगरपालिकाको कार्यकारी अधिकृत हरिप्रसाद दाहालले महानगरपालिकाले सरकारले मासिक रुपमा दिदै आएको वृद्ध भत्ताबाहेक थाप वार्षिक जेष्ठ नागरिकलाई सम्मान स्वरुप थप भत्ता दिने तयारी भइरहेको जनाइएको छ।
‘अहिले हामी त्यस विषयमा बैठक बसिरहेका छौं,’उनले नेपाल समयसँग भने ‘महानगरपालिकाले ७७ वर्षभन्दा माथिका जेष्ठ नागरिक वृद्ध तथा वृद्धा दुवैलाई थप ५ हजार रुपैयाँ प्रदान गर्ने सम्बन्धमा अन्तिम तयारी भएको छ।’
महानगरले त्यसलाई असार ३२ गते सार्वजनिक गर्ने तयारी गरेको हो। महानगरपालिकाको घोषणा गरेसँगै ७७ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिकरुपमा एकमुष्ठ ५ हजार रुपैयाँ भत्ता पाउने भएका हुन्।
तत्कालिन एमालेले आफ्नो निर्वाचन घोषणपत्रमा वृद्ध भत्ता बढाउने उल्लेख गरेको भएपनि गत जेठमा सार्वजनिक भएको संघीय सरकारको बजेटमा वृद्ध भत्तालाई सम्बोधन गरिएको थिएन।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि बृद्ध भत्ता बढाउने भन्दै निर्वाचन प्रचार प्रसार गरेका थिए।
ललितपुर महानगरले आगामी वर्ष २०७५-७६ को लागि ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। त्यसमध्येबाट सामाजिक सुरक्षा भत्ताको लागि ७ प्रतिशतत रकम बराबरको ३० करोड रुपैयाँ छुट्याउने भएको छ।
सोमबार ललितपुर महानगरपालिकाको दोस्रो नगरसभामा नगर प्रमुख चिरीबाबु महर्जनले आगमी वर्षको नीति तथा कायर्यक्रम प्रस्तुत गर्ने क्रममा महानगरभित्रका वृद्धवृद्धाको सामाजिक सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको मेयर चिरिबाबु महर्जनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४