विराटनगर- मोरङको बेलबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–८ मा प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी–८ का २९ वर्षीय डम्बर थापा रहेका छन्।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले रोकेर राखिएको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको मोटरसाइकल ठोक्किँएको बताएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्। पराजुलीको नोबेलमै उपचार भइरहेको छ।