काठमाडौं– कृषि विभागको तथ्यांकअनुसार असार अन्तिम साता लाग्दै गर्दा मुलुकभर ४३ दशमलव २८ प्रतिशत रोपाईं सकिएको छ ।
उच्च पहाडी भेगमा ४६ दशमलव ६६ र मध्य पहाडमा ४८ दशमलव ४८ प्रतिशत रोपाईं भएको छ । र, तराईमा ४१ दशमलव दुई प्रतिशत मात्र धान रोपिएको छ ।
भौगोलिक क्षेत्रका आधारमा तराईमा सबैभन्दा कम रोपाईं भएको छ । अस्वाभाविक मनसुनका कारण बर्खे बाली लगाउन ढिलाइ भएको विभागले जनाएको छ ।
गत वर्ष यही समयमा ३९ दशमलव ९० प्रतिशत रोपाईं सम्पन्न भएको थियो । यस वर्ष तीन दशमलव आठ प्रतिशतले बढेको छ । ‘जुन सकारात्मक नै मान्न सकिन्छ,’ विभागका प्रवक्ता डा. रामकुमार श्रेष्ठले भने, ‘यो औसतभन्दा केही कम हो ।’
उनका अनुसार पूर्वी भागमा अन्य क्षेत्रको तुलनामा राम्रो रोपार्इं भइरहेको छ । पश्चिमका कैलाली र कञ्चनपुरमा चाँडै मनसुन शुरू भएकाले रोपाईं पनि राम्रै भएको छ । मध्य तराईमा भने केही खराब अवस्था देखिएको छ ।
मनसुनमा देखिएको अनियमितताले धान रोप्न केही असर पार्ने शंका विभागको छ । श्रेष्ठका अनुसार कुनै क्षेत्रमा भारी वर्षा हुने र कुनैमा सुख्खा हुने प्रवृत्ति देखिएको छ । ‘मनसुन चाँडै आए पनि कमजोर देखिएको छ,’ श्रेष्ठले भने ।
पछिल्ला वर्षमा तराईका केही क्षेत्रमा बाढीको प्रकोप देखिने गरेको छ । केही इलाका भने सुख्खाग्रस्त हुने गरेका छन् । त्यसको प्रभाव बर्खे बाली लगाउने कुरामा देखिएको छ ।
नेपालमा लगाइने सात प्रतिशत धान विकासे (हाइब्रिड) जातका हुने गर्छन् । त्यसमा भारतीय, चिनियाँ, हर्दिनाथ, सावित्री, सर्जु–५२ लगायत जात पर्छन् ।
उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुर मात्र होइन, आसपासका काभ्रे, धादिङ र मकवानपुरमा समेत गरी २३ दशमलव ९६ प्रतिशत खेतमा धान रोपिएको छ । उपत्यकाका तीन जिल्लामा भने विगतको तुलनामा न्यून रोपाईं भएको छ । उच्च पहाडी भेगमा भने रोपाईं सकिने चरणमा छ ।
नेपालमा १५ असारदेखि धान रोप्न शुरु हुन्छ, जुन साउन दोस्रो सातासम्म सकिँदा राम्रो रोपाईं भएको मानिन्छ । त्यसैले साउन दोस्रो सातासम्म मनसुन सक्रिय नभए चिन्ताजनक स्थिति मान्ने गरिएको छ ।
तर, मनसुन यो साता सबल भएमा साउन दोस्रो सातासम्म देशभर रोपाईं सम्पन्न हुने विभागका प्रवक्ता डा. श्रेष्ठले बताए ।
धान नेपालको प्रमुख बाली हो । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २० देखि २१ प्रतिशत योगदान धानको रहन्छ । उत्पादन नबढ्दा या समयमा वर्षात् नुहँदा केही वर्षयता धानको आयात बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४