बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन प्रतिनिधिको चिन्ता– उम्मेदवार बन्नै हानाथाप हुँदा पार्टी कमजोर हुन्छ

कांग्रेस महाधिवेशन प्रतिनिधिको चिन्ता– उम्मेदवार बन्नै हानाथाप हुँदा पार्टी कमजोर हुन्छ

उद्घाटनको अघिल्लो दिनसम्म उमेदवारको ब्यानरले भरिएको भृकुटीमण्डप उद्घाटनको दिन भने सफा देखिएको थियो। महाधिवेशन स्थलबाट ५ सय मिटर आसपाससम्म उम्मेदवारले प्रचारको ब्यानर राख्न नपाउने निर्णय बमोजिम सबै ब्यानर हटाइएको थियो।
 |  शुक्रबार, मंसिर २४, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– करिब एक लाखभन्दा धेरै शुभचिन्तकलाई साक्षी राखेर नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन सुरु गरेको छ। शक्ति प्रदर्शन नगर्ने भनिएको महाधिवेशनमा अकल्पनीय रुपमा एक लाख धेरै कार्यकर्ता र शुभचिन्तकको भीडले महाधिवेशन स्थल भृकुटीमण्डप भरिएको थियो। भृकुटीमण्डप क्षेत्रमात्रै होइन, पद्मोदय स्कुलदेखि पर्यटन बोर्डसम्मको प्रदर्शनीमार्ग पूरै कांग्रेसका शुभचिन्तकले भरिएको थियो। भृकुटीमण्डप साघुँरो महसुस हुन्थ्यो। 

triton college

कार्यक्रममा सहभागी हुन दोलखादेखि आएका कांग्रेसका कार्यकर्ता नवीन श्रेष्ठ भन्दै थिए– महाधिवेशन जस्तो यति ठूलो कार्यक्रम किन यति साँघुरो ठाउँमा गरेको होला? अलि खुला ठाउँमा गरेको भए यति सकस बेहोर्नु पर्ने त थिएन। कांग्रेसको महाधिवेशन व्यवस्थापन समितिले बढीमा ५० हजार सहभागी हुने आँकलन गरेको थियो। तर, सोचेभन्दा बढी शुभचिन्तक कार्यक्रममा सहभागी भएपछि व्यवस्थापन गर्नै हम्मे हम्मे परेको देखिन्थ्यो।

धादिङबाट महाधिवेशनमा सहभागी हुन आएका दीपेश ढुंगाना पनि महाधिवेशन स्थल साँघुरो भएको भन्दै गुनासो गर्दै थिए। पर्यटन बोर्डको कार्यालय अगाडि सडकमा उभिएर डिजिटल डिस्प्लेमार्फत उद्घाटन समारोह हेरिरहेका उनले नेताहरुले साघुरो ठाउँ चयन गर्दा राम्रोसँग कार्यक्रम नै हेर्न नपाएको गुनासो गरे। 

उद्घाटनको अघिल्लो दिनसम्म उमेदवारको ब्यानरले भरिएको भृकुटीमण्डप उद्घाटनको दिन भने सफा देखिएको थियो। महाधिवेशन स्थलबाट ५ सय मिटर आसपाससम्म उम्मेदवारले प्रचारको ब्यानर राख्न नपाउने निर्णय बमोजिम सबै ब्यानर हटाइएको थियो। खचाखच भीडकै बीचमा नाचगान गर्नेहरुको ठूलै जमात देखिन्थ्यो। कतिपय उमेदवारीको घोषणा गरेका नेताहरु आफ्ना समर्थकको साथमा नाराबाजी गर्दै कार्यक्रम स्थलमा प्रवेश गरेका थिए।

महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका कांग्रेस नेता प्रदीप पौडेलको शब्दमा भन्ने हो भने महाधिवेशनको उद्घाटन भव्य मात्रै होइन, सोचेभन्दा विशाल जनसहभागितामा भयो। ‘यो कांग्रेसप्रतिको भरोसा हो। हामीले नबोलाई यति ठूलो मास आउनु आफैंमा हाम्रा लागि ठूलो सफलता हो। यो मासलाई हेरेर अब आउने नेतृत्वले यिनको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्छ,’ उनले नेपाल समयसँग भने, ‘मेरो उमेदवारी पनि त्यसकै लागि हुनेछ। यी शुभचिन्तकको आशीर्वाद लिएर कांग्रेस बलियो बनाउने र देशको भविष्य निर्माता पार्टीका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हुने छ।’ 

corrent noodles
Metro Mart

उम्मेदवारको खिचतानीले महाधिवेशन प्रतिनिधि चिन्तित 

महाधिवेशनको उद्घाटन सत्र सकिँदा समेत अझै कांग्रेसको कुन पदमा को को उम्मेदवार हुने भन्ने निश्चित भएको छैन। शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भए पनि अन्य १२ पदाधिकारीमा भने को को उमेदवार हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन्। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्। यता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष पाँच दिनदेखि छलफलमा जुटे पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका रामचन्द्र पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाबीच कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न सकेको छैन। 

उद्घाटनको अघिल्लो दिनसम्म उमेदवारको ब्यानरले भरिएको भृकुटीमण्डप उद्घाटनको दिन भने सफा देखिएको थियो। महाधिवेशन स्थलबाट ५ सय मिटर आसपाससम्म उम्मेदवारले प्रचारको ब्यानर राख्न नपाउने निर्णय बमोजिम सबै ब्यानर हटाइएको थियो। 

महाधिवेशन प्रतिनिधि भने लोकतान्त्रिक पार्टी भन्दैमा उम्मेदवार बन्न यो स्तरको रडाको मच्चिनु राम्रो नभएको टिप्पणी गर्न थालेका छन्। ‘आकांक्षी धेरै हुनु ठिकै हो। लोकतान्त्रिक पार्टीमा चुनाव हुनु पनि राम्रै हो। तर उम्मेदवार हुनकै लागि यो स्तरको हानाथाप हुनु चाहिँ स्वाभाविक होइन। यसले पार्टीको बदनाम हुन्छ। नेताहरुले बुझिदिए हुने,’ रुपन्देहीबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी रमाकुमारी अधिकारी (खड्का) ले भनिन्।

पार्टीमा देखिएको अराजकता र किचलो अन्त्य नगरेर पार्टी कमजोर हुने खतरामा पुगेको समेत उनको ठहर छ। पार्टीलाई बलियो बनाउन, चुनाव जिताएर देशको नेतृत्व गर्ने तहमा पुर्याउन कांग्रेसमा नयाँ नेतृत्व आवश्यक भएको उनी बताउँछिन्। ‘महाधिवेशमा कार्यकर्ताले देखाएको उत्साहलाई समेटेर बलियो पार्टी बनाउने नेतृत्वको खाँचो छ, कांग्रेसमा। हामी त्यहि नेतृत्व खोज्न र रोज्न यहाँ आएका हौं,’ उनले भनिन्।  भक्तपुरका सरोज कार्की भने महाधिवेशन व्यक्तिभन्दा नीति केन्द्रित हुनुपर्नेमा जोड दिन्छन्। कांग्रेसमा गुट मौलाएकै कारण गएको निर्वाचनमा हार बेहोरेको दाबी गर्दै उनले यस महाधिवेशनबाट सबै गुटको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘नेतृत्वमा को आउँछ भन्ने कुरा ठूलो होइन, नीति कस्तो लिइन्छ भन्ने कुराले अर्थ राख्छ। यो महाधिवेशनबाट जो आए पनि विगतको पराजयलाई विजयमा बदल्न सक्ने नेतृत्वको जरुरी छ,’ उनले भने। 

सिरहाबाट महाधिवेशन प्रतिनिधिका रुपमा आएका अश्मितलाल चौधरी पनि उम्मेदवार छान्नकै लागि खिचातानी गर्दा पार्टी कमजोर हुने बताउँछन्। महाधिवेशबाट सशक्त भएर चुनावमा जानुपर्ने बेला यसरी आफैंमा, आफ्नै गुटमा यसरी जुध्नु राम्रो नभएको उनको प्रतिक्रिया छ। ‘कांग्रेसलाई बलियो बनाउनका लागि नयाँ नेतृत्वको खाँचो छ। कांग्रेस परिवर्तन भएर आएको छ। यो अझै सशक्त भएको छ भन्ने सन्देश दिन पनि नेतृत्व परिवर्तन गर्न आवश्यक छ। यद्यपि पुरानै नेतृत्व भए पनि कार्यशैली परिवर्तन गर्न आवाश्यक छ। नभए कांग्रेसको भविष्य धरापमा पर्नसक्छ,’ उनले भने। 

डोल्पाका महाधिवेशन प्रतिनिधि देवीकृष्ण न्यौपाने भने कांग्रेसले भव्यताका साथ महाधिवेशन गरे पनि विपीको विचार र आदर्श बिर्सिएको भन्दै चिन्ता व्यक्त गर्छन्। समय अनुसार तडकभडक गर्नु ठिकै भए पनि नीतिलाई लत्याएर नेतृत्वकै लागि हानाथाप गर्नु शुभ संकेत नभएको उनको भनाइ छ। ‘शब्दमा रुपान्तरण भन्ने, समाजवाद भन्ने तर आफ्नै गुट–उपगुट चलाएर बस्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर हुने खतरा बढेको छ। हाम्रा नेताहरुले यस महाधिवेशनबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न सकुन्। म यही चाहन्छु,’ उनले भने। 

प्रकाशित: Dec 10, 2021| 18:25 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...