काठमाडौं- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि इलेक्ट्रिक बस र फ्लाइओभरको लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको छ।
सोमबार भएको महानगरपालिकाको दोस्रो नगरसभामा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख गीता सत्यालले इलेक्ट्रिक बस र फ्लाइओभरको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन्।
‘साझा बस, इलेक्ट्रिक बसको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भनिन् ‘त्यस्तै परामर्श सेवा (फ्लाइओभर, इन्टरसेक्सन फ्लाईओभर, अर्वान रोडलगायत) को लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेका छौं।’
उनको अनुसार ललितपुर महानगरपालिकाले आगामी वर्षको लागि कुल ४ अर्ब ६० करोड, ७२ लाख, ८७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेट प्रस्तुत गर्दै उपप्रमुख सत्यालले चालु प्रशासनिक खर्चको लागि १ अर्ब ६ करोड ५० लाख रुपैयाँ, चालु सामाजिक सुरक्षा भत्ताको लागि ३० करोड, पूँजीगत खर्च कार्यक्रममा २ अर्ब ४० करोड ८ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको बताइन्।
सडक बोर्डको लागि २ करोड रुपैयाँ र वैदेशिक अनुदान कार्यक्रममा ८२ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको नीति तथा तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विधुतिय गाडीलाई प्रथमिकता दिदै भने,‘नगर क्षेत्रमा विद्युतिय गाडीलाई प्राथमिकता दिइ पर्यटकिय क्षेत्रमा इलेक्ट्रिकल भेहिकल्स सञ्चालनमा ल्याउन जोड दिएका छौं।’त्यस्तै उनले महानगरीय यातायात गुरुयोजनाअन्तर्गत पाटन सम्पदा क्षेत्रमा मोटरसाईकल निषेधित क्षेत्र घोषणा गर्ने नीति लिइने बताए।
उनको अनुसार महानगरपालिका क्षेत्रभित्र सडक, ढल, खानेपानी, भवन तथा पार्क व्यवस्थापन जस्ता बहुवर्षिय योजना कार्यान्वयन गर्न राणनीतिक-आवधिक योजना तयार गरिनेछ। आव २०७३-७४ सम्म सम्झौता भएका तर सञ्चालन नभएका योजनाहरु आर्थिक वर्ष २०७५-७६ पछि उपभोक्ता समितिहरुको सम्झौता स्वतः खारेज गरिनेछ। साथै आगामि आर्थिक वर्षदेखि योजनाको सम्झौता गर्दा चालू आवमा योजना सम्पन्न हुने गरी मात्र सम्झौता गर्ने नीति अबलम्बन गरिने उनको भनाइ छ।
उनले महानगरपालिकामा अपाङ्गतामैत्री महानगर बनाउने अभियान सञ्चालन गर्दै महानगरभित्र शौचालयलगायत अब बन्ने जुनसुकै सार्वजनिक पूर्वाधारलाई आपाङ्मैत्री गराउने, बाटोमा ब्रेल ब्लक व्यवस्था गर्नेलगायतको कार्यक्रम प्रस्तुत गरे।
प्रमुख महर्जनले कार्यक्रममा पूर्वाधार विकास नीतिअन्तर्गत सडक तथा ढल, भवन तथा शहरी विकास, खानेपानीसम्बन्धि आगामी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।
त्यस्तै सामाजिक विकास नीतिअन्तर्गत शिक्षा, जनस्वास्थ्य, संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन, वातावरण तथा विपद व्यवस्थापन नीति, आर्थिक विकास नीतिलगायतका विभिन्न नीति तथा कार्यक्रम महानगर प्रमुख महर्जनले प्रस्तुत गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४