इटहरी- नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशी किनारमा अवस्थित बराहक्षेत्र, चतरा र अहिल्या बाबाका धाम भएको प्रसिद्ध प्राकृतिक तथा पर्यटकीय नगरी बराहक्षेत्रले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको नगरसभाले ल्याएका कार्यक्रममा पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले धार्मिक तथा प्राकृतिक पर्यटनका क्षेत्रका विभिन्न कार्यक्रमहरू ल्याएको छ। जस अनुसार नगरपालिकाको औलिया बाबा, बराहक्षेत्र मन्दिर क्षेत्रको ५ सय मिटर वरपरसम्म मदिरा तथा मासु बेचबिखन तथा सेवन गर्न गराउन निषेध गर्ने कार्यक्रम ल्याएको छ । बराहक्षेत्र मन्दिर परिसरमा आगामी आर्थिक बर्षमै सिसि क्यामरा र निःशुल्क वाइफाइ जडान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
वराहक्षेत्र नगरपालिका क्षेत्रमा रहेको सर्युकुन्डमा भ्यू टावर निर्माण गर्ने, कोशी नदीमा जलविहारको प्रयोग गरेर जल पर्यटनको विकासलाई प्रोत्साहन गरिने कार्यक्रम पनि नगरले सार्वजकि गरेको छ।
नगरमा रहेका विभिन्न जातजाति र भाषाभाषीहरूको पहिचान झल्किने कला, संस्कृति, सिप र सामाग्रीहरूको खोज संरक्षण गर्ने कार्यक्रमहरू पनि सार्वजनिक गरिएको छ। जस अन्तर्ग नगरको मधुवनमा निर्माणाधिन माझी संग्रहालय भवन र वडा ८ को साकेला शिव पार्कका लागि आवश्यक बजेट नगरले छुट्याएको बताएको छ।
धार्मिक तथा प्राकृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, बन्जि जम्पिङ र र्याफ्टिङ क्षेत्रको सभ्याव्यता र विकासका कार्यक्रम गर्ने नगरले नीति ल्याएको छ।
६४ करोड बढीको वार्षिक योजना ल्याउँदै नगर
वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने बताएका छन्। सरकारबाट प्राप्त हुने विभिन्न अनुदाको अधिकतम परिचालन गर्दै नगरभित्र स्रोतसाधन, राजस्वको पहिचान र परिचानल गरी नगरको आर्थिक समृद्धि हासिल गरिने उद्घोष गरे।
नगर प्रमुख खनालले सार्वजनिक, निजी सरकारी क्षेत्रहरूलाई प्रेरित गर्दै भौतिक तथा सामाजिक पूर्वाधार तयार गर्दै समुन्नति, स्वाधीन, समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा नगर अघि बढ्ने बताए। प्रमुख खनालले दिगो असन्तुलित र रोजगार प्रबर्द्धन गर्ने किसिमका सीप विकास आयोजना कार्यान्वयन गरिने बताए।
नगरप्रमुख खनालले बराहक्षेत्र नगरपालिकाको बजेटका प्राथमिकता प्रस्तुत गर्दै नगरको आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलश्रोत, उद्योगलगायतका क्षेत्रमा पुँजी विकास र परिचालन गर्ने बताए। नगर प्रमुख खनालले प्राकृतिक प्रकोपको न्यूनीकरण र पर्यावरणीय संरक्षणमा जोड दिइएको बताए।
वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि ६४ करोड ३१ लाख २८ हजार ८ सय ७ रुपैयाँको वार्षिक योजना सार्वजनिक गरेको छ। ३ करोड ७७ लाख १५ हजार अनुमानित आन्तरिक आय भएको नगरले सशःत्र अनुदान वाषत २६ रोड २३ लाख प्राप्त गरेको छ भने समानीकरण अनुदान १९ करोड २१ लाख प्राप्त गरेको छ।
राजश्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १२ करोड ७७ लाख १६ हजार विनियोजित भएको छ भने प्रदेशबाट ४६ लाख ४६ हजार छ। नगरले गैरसरकारी संस्थासँगको सहकार्यमा ८२ लाख १ हजार ८ सय ७ रुपैयाँको बजेटमा वार्षिक योजना तयार गरेको छ।
नगरले आगामी आवका लागि १५ करोड ३३ लाख १६ हजारको पुँजीगत तर्फको एकीकृत बजेट प्रःतुत गरेको छ । वडा कार्यालयतर्फ ७ करोड ९२ लाखको पुँजीगत कार्यक्रमको एकीकृत बजेट प्रःतुत गरेको छ।
नगरवासीका आकांक्षाहरु पूरा गर्न चुनौतीः मेयर
नगरद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा नगरवासीका असीमित चाहना र आकांक्षालाई असन्तुलित रूपमा सम्बोधन गर्न नसकेकोमा नगर प्रमुख निलम खनालले बताए। उनले कोशी बाढीपीडितको क्षतिपूर्ति दिलाउन र तिनको बसोबास व्यवस्थित गर्न नसकिएको उल्लेख गरे।
स्थानीय तहको सहभागितात्मक योजना तर्जुमा प्रक्रियाको विषयमा तल्लो तहसम्म प्रभावकारी तवले जानकारी पुर्याउन नसकिएको, विकास गतिविधिमा संलग्न निकायबीच प्रभावकारी समन्वय हुन नसकेको, आन्तरिक स्रोत वृद्धि हुन नसकेको साथै कर दस्तुर र शुल्क न्यून राख्नु परेकोलगायतका चुनौती नगरसामु रहेको प्रमुख खनालले बताए। उनले स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, नियम र नीतिको अभाव भएकाले पनि नगरको काम कारबाही अघि बढाउन चुनौती रहेको उल्लेख गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४