बुटवल- नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय कमिटीमा करिब दुई दर्जन आकांक्षी देखिएका छन्। संस्थापन र संस्थापन इतर समूहबाट उपसभापतिसहित महामन्त्री, सहमहामन्त्री सहितका पदाधिकारीमा दाबी गर्दै उम्मेदवारी घोषणा गर्न थालेका छन्। सामाजिक सञ्जालमा आफू निकटका नेताहरू मार्फत प्रचार सुरु भइसकेको छ।
संस्थापन इतर (पौडेल) समूहबाट नेता डा. चन्द्र भण्डारीले उपसभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। गुल्मीका नेता भण्डारीले कांग्रेसमा रूपान्तरण जरुरी रहेको भन्दै नयाँ पुस्ताको प्रवेश अनिवार्य सर्तका रूपमा अघि सारेका छन्। उनले आफू निकट नेता र सार्वजनिक कार्यक्रममा समेत उपसभापतिको उम्मेदवारका रूपमा लबिङ गरिसकेका छन्। तर संस्थापन इतर समूहबाट प्यानल घोषणा हुँदासम्म उनको पद उपसभापतिमै कायम रहन्छ की रहँदैन, त्यो भने टुंगो छैन।
पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाका निकट गृहमन्त्री बालकृष्ण खाँणले महामन्त्रीमा उम्मेदवारी दिने पक्कापक्की छ। देउवाका दाहिने हात मानिने खाणले एक टेलिभिजन अन्तरवार्तामा कार्यकर्ताले नै महामन्त्रीमा उठ्न दबाब दिएको बताए। खाणको गृह प्रदेश लुम्बिनी र गृहजिल्ला रुपन्देहीमा महामन्त्रीको रूपमा प्रचार सुरु भइसकेको छ। नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले महामन्त्रीमा बालकृष्ण खाँणलाई भोट दिन सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।
वडा, क्षेत्रीय, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न भएलगत्तै नेताहरूले केन्द्रीय महाधिवेशनमा होमिएका हुन्। यो पटक संस्थापन र संस्थापन इतर समूह कडा प्रतिस्पर्धामा उत्रेका छन्। महामन्त्रीका बलियो उम्मेदवार मानिएका खाण आफ्नै प्रदेशमा भने कमजोर बनेका देखिएका छन्।
प्रदेशको अधिवेशनमा नेतृत्व सर्वसम्मत बनाएर लुम्बिनीको साझा उम्मेदवार बन्ने अभिलाषा भने पूरा भएन। निर्वाचनमार्फत संस्थापन इतरका अमरबहादुर पुन विजयी भए। तर, केन्द्रीय नेतृत्वमा पदाधिकारीकै आकांक्षी भरत कुमार शाह प्रदेश सभापतिमा पराजित भए।
संस्थापन समूहबाट प्रदेश सभापतिकै आकांक्षी रहेका देवेन्द्रराज कँडेल केन्द्रीय पदाधिकारीमा लबिङ थालेका छन्। पूर्वराज्यमन्त्री कंडेलले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। त्यस्तै दाङका संस्थापन इतर समूहका दीपक गिरीले पनि सहमहामन्त्रीमै उम्मेदवारी दिने आकांक्षा राखेका छन्। यसैगरी संस्थापन समूहका अर्घाखाँचीका नेताद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले पदाधिकारीको आकांक्षा राखेका छन्। महिला र दलितबाट पदाधिकारीमा जाने आकांक्षा राखेका हुन्।
त्यस्तै बर्दियाका प्रभावशाली नेता किशोरसिंह राठौर, कपिलवस्तुका दीपकुमार उपाध्यायले पनि पदाधिकारीमा आकांक्षा राखेका छन्। त्यसैगरी कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, बाँकेका सुरेन्द्र हमाललगायतका नेताहरू केन्द्रीय सदस्यका आकांक्षी हुन्।
पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाका निकट गृहमन्त्री बालकृष्ण खाँणले महामन्त्रीमा उम्मेदवारी दिने पक्कापक्की छ।
बाँकेबाट केन्द्रीय सदस्यमा युवा नेता रवीन्द्रमान श्रेष्ठदेखि वर्तमान सभापति किरण कोइरालासम्म छन्। आकांक्षीहरूमा श्रेष्ठ र कोइरालासहित पूर्वमन्त्री गजेन्द्र हमाल, संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, आशा विक, कृष्ण विक रसाइली र नेता लुटबहादुर खत्री छन्। यीमध्ये वर्तमान पार्टी जिल्ला सभापति कोइरालाबाहेक सबै संस्थापन पक्षका हुन्।
कांग्रेसका पूर्व सभापति कृष्णमान श्रेष्ठको लिगेसी पछ्याउँदै राजनीतिमा होमिएका युवा नेता रवीन्द्रमान श्रेष्ठले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन्। पूर्व सभासद् आशा (दलित महिला) बाट केन्द्रीय सदस्यको आकांक्षी छिन्। खत्रीले अपांगता कोटाबाट उम्मेदवारी दिने आकांक्षा देखाएका छन्।
पाल्पाबाट वीरबहादुर रानाले आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन इतर (पौडेल) समूहबाट उम्मेदवारी घोषणा गरेका उनले पार्टीभित्र मौलाएको व्यक्तिवादी, स्वेच्छाचारी र पैसामुखी संस्कार बदल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए। पाल्पा राजनीतिक रूपमा महत्त्वपूर्ण योगदान गरेको क्षेत्र भएकाले केन्द्रीय कमिटीको नेतृत्व स्वाभाविक भएको पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बताए। उनले कांग्रेस पाल्पाले रानालाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीमा पठाउने गरी प्रचार सुरु गरिसकेको बताए।
रुपन्देहीका पूर्वराज्यमन्त्री अब्दुल रज्जाक र संविधानसभा सदस्य इस्तियाक मोहम्द खाँनले मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। दुवै संस्थापन समूहका नेता हुन्।
त्यसैगरि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्द पोखरेल, रुपन्देहीका विष्णु पोखरेल, मनोजमणि आचार्यलगायतले केन्द्रीय सदस्यमा आकांक्षा राखेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि काठमाडौंमा सुरु हुँदैछ। निर्वाचनबाट एक जना सभापति, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ८ जना र सदस्य गरी जम्मा १ सय ३४ जनाको चयन हुनेछ।