शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश अधिवेशनको नतिजा : रामचन्द्र-शशांकलाई 'बार्गेनिङ पावर', प्रकाशमान-शेखर निराश

प्रदेश अधिवेशनको नतिजा : रामचन्द्र-शशांकलाई 'बार्गेनिङ पावर', प्रकाशमान-शेखर निराश

प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनले नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित गर्ने देखिएको छ।
 |  सोमबार, मंसिर २०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनले नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित गर्ने देखिएको छ। प्रदेशभित्रका महाधिवेशन प्रितिनिधिहरूसमेत प्रदेश अधिवेशनका मतदाता भएकाले पनि महाधिवेशनमा प्रदेश अधिवेशनको प्रभाव पर्न सक्ने विषयलाई नकार्न सकिन्न। यद्यपि प्रदेश अधिवेशनमा सहभागी प्रदेश अधिवेशन प्रतिनिधि भने केन्द्रीय महाधिवेशनका प्रतिनिधि होइनन्। 

triton college

कांग्रेसले तय गरेको केन्द्रीय महाधिवेशन मंसिर २४-२७ मा हुने भएकाले त्यसअघि प्रदेश २ को अधिवेशन नहुने तय भइसकेको छ। ६ प्रदेशमध्ये चार तीन वटा प्रदेशमा सभापति शेरबहादुर देउवा समूहले नेतृत्वमा जित्न सफल बनेको छ। २ वटा प्रदेशमा संस्थापन इतर समूहले जित निकाल्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले एउटा प्रदेशमा बाजी मारेको छ। 

प्रदेश १ र बागमती प्रदेशमा देउवा-सिटौलाको समीकरण बनेका कारण संस्थापन इतर समूहले पराजित हुनुपरेको हो। प्रदेश १ मा देउवा समूहको समर्थनमा सिटौला पक्षीय नेता उद्धव थापा प्रदेश सभापति निर्वाचित हुन सफल भएका हुन्। बागमती प्रदेशमा पहिलो चरणको मतदानको नतिजामा कुनै पनि उम्मेदवारका पक्षमा ५१ प्रतिशत मत नखसेकाले दोस्रो चरणमा मतदान भएको थियो। पहिलो चरणको मतदानमा सिटौला समूहका उम्मदेवार भीमसेनदास प्रधान तेस्रो बनेपछि उनले देउवा समूहका उम्मेदवार इन्द्र बानियाँलाई समर्थन गरेका थिए। फलस्वरुप देउवा-सिटौला समूहका साझा उम्मेदवार बनेर बानियाँले बागमती सभापतिमा बाजी मारे। 

गण्डकी प्रदेशमा भने संस्थापन इतर समूहका शुक्रराज शर्मा सभापतिमा निर्वाचित भए। लुम्बिनी प्रदेशमा पनि संस्थापन इतर समूहकै अमरबहादुर पुन सभापति बने। कर्णाली र सदुरपश्चिम प्रदेशमा देउवा समूहले जितेको छ। कर्णालीमा ललितजंग शाही र सुदुरपश्चिममा वीरबहादुर बलायर सभापति बने। 

प्रदेश अधिवेशनको नतिजाले सभापतिमा आकांक्षा राखेका शेखर र प्रकाशमानलाई निराश बनाएको छ।

प्रदेश अधिवेशनको नतिजाले दोस्रो कार्यकाल सभापति बन्ने तयारीमा रहेका देउवा बलियो देखिएको विश्लेषण कांग्रेस वृत्तमा भइरहेको छ। सँगै देउवा-सिटौला गठजोडले देउवाको शक्ति थप बढाइदिने देखिएको छ। यद्यपि महाधिवेशनमा देउवा-सिटौलाको समीकरण बन्ने टुंगो लागिसकेको छैन। जिल्लादेखि प्रदेशसम्मको गठजोड हेर्दा देउवा र सिटौला मिलेर अघि बढ्सक्ने सम्भावना देखिन्छ।  

corrent noodles
Metro Mart

संस्थापन इतर समूह भने प्रदेश अधिवेशनको नतिजा पछि केही ‘प्रेसर’मा देखिएको छ। जित्ने सूचीमा राखिएका प्रदेश १ र बागमतीमा प्राप्त असफलता र देउवा–सिटौला गठजोडले संस्थापन इतर समूहका सभापतिहरू झस्किएका छन्। रोचक त के छ भने सभापतिका चार आकांक्षी मध्ये २ जनाले आफ्नो भूगोल जोगाएका छन् भने दुई जनाले गुमाएका। 

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले गण्डकी र लुम्बिनी प्रदेशमा आफूपक्षीय उम्मेदवारलाई जिताएका छन्। तर, सभापतिका आकांक्षी प्रकाशमान सिंह र नेता शेखर कोइरालाले भने आफ्नो भूगोलमा आफूपक्षका उम्मेदवारलाई जिताउन असफल भएका छन्। 

शेखरले माफी मागे

प्रदेश १ को कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। 

प्रदेश सभापतिमा देउवा पक्षको समर्थन प्राप्त सिटौला पक्षका उम्मेदवार उद्धव थापाले घिमिरेलाई दुई मतले पराजित गरेपछि कोइरालाले माफी मागेका हुन्। सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता उद्धव थापा ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ मत ल्याएका थिए। शेखर सुजाता र प्रकाशमानले घिमिरेलाई मतदान गरेका भए शेखरलगायतका समर्थन प्राप्त उम्मेदवार घिमिरे विजयी हुने थिए। 

प्रदेश अधिवेशनको नतिजापछि वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको बार्गेनिङ पावर बढाइदिएको छ।

आफूहरूले घिमिरेलाई मतदान गरेको विषयलाई संकेत गर्दै शेखरले माफी मागिसकेका छन्। उनले आफ्नो कमजोरीप्रति सचेत रहँदै गल्ती भए माफ गरिदिन भनेका छन्। 

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने–नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’ 

सिंहले प्रतिनिधित्व गर्ने बागमती प्रदेशमा देउवा पक्षका बानियाँ सभापति निर्वाचित बनेका छन्। प्रदेश अधिवेशनमा आफ्नो पक्षबाट के कस्तो कमजोरी भयो भन्ने विषयमा प्रकाशमानले मुख खोलेका छैनन्। यद्यपि प्रदेश अधिवेशनको नतिजाले सभापतिमा आकांक्षा राखेका शेखर र प्रकाशमानलाई निराश बनाएको छ।

000

प्रदेश अधिवेशनबाट आएको यो नतिजाले सभापतिको साझा उम्मेदवार चयन गर्ने सन्दर्भमा अर्थ राख्ने संस्थापन इतर समूहका नेताहरू नै बताउँछन्। ‘वरिष्ठ नेता र महामन्त्रीले आफ्नो भूगोल जोगाउनुभएको छ। सिंह र कोइरालाले गुमाउनुभएको छ। साझा उम्मेदवार चयन गर्ने प्रयास जारी रहँदा यसको अर्थ पक्कै हुन्छ,’ ती नेता भन्छन्, ‘यद्यपि साझा उम्मेदवार चयन गर्ने शर्तमा जो कोहीले पनि त्याग गर्नुपर्ने अवस्था भने छ।’ 

पछिल्लो एक महिना यता संस्थापन इतर समूहमा तिक्तता बढेको थियो। नेताहरु आरोपप्रत्यारोपकै अवस्थामा उत्रिएका थिए। एकले अर्कोलाई नेता नमान्ने अभिव्यक्ति पनि आएका छन्। र, चारै जना नेताहरु त्याग गर्न तयार देखिएका थिएनन्।

यही बेला भएको प्रदेश अधिवेशनको नतिजापछि वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको बार्गेनिङ पावर बढाइदिएको छ। ‘प्रदेश अधिवेशनको नतिजाले कति फरक पार्ला। तर, पौडेल र डा. साबलाई भन्ने बाटो भने बनाइदिएको छ,’ अर्का एक नेता भन्छन्, ‘तर, यसैकै आधारमा उम्मेदवार चयन हुन्छ भन्ने चाहिँ होइन।’ 

प्रदेश अधिवेशन सकिए लगत्तै वरिष्ठ नेता पौडेलले निराश नहुन आग्रह गरेका छन्। 'लोकतान्त्रिक अभ्यासमा सहभागी हुनुभएका सम्पूर्ण साथीहरूलाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको हाम्रो पार्टीलाई सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुख बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन अनुरोध गर्दछु,' पौडेलले जारी गरेको अपिलमा उल्लेख छ। समग्र प्रदेशमा आफू पक्षका उम्मेदवारको उपस्थिति कमजोर देखिएपनि आफ्नो भूगोल (गण्डकी र लुम्बिनी प्रदेशमा) आफ्नै पक्षका उम्मेदवारले जित हासिल गरेपछि पौडेलमा उत्साह बढेको आकलन गर्न सकिन्छ। 

साझा उम्मेदवार चयन गर्नैपर्ने दबाव 

संस्थापन इतर समूहका नेताहरुले २०७४ पछि सभापति देउवा पार्टी विगारेको आरोप लगाउँदै आएका छन्। चाहे निर्वाचनमा व्यहोरेको पराजय होस् वा विधान संगत ढंगले पार्टी सञ्चालन नगरेको आरोप नै किन नहोस्। संस्थापन इतर समूहको आलोचनाको पात्र देउवा नै बनेका छन्। उनीहरुले देउवाको आलोचना मात्रै गर्दै आएका थिएनन्, विकल्पको खोजी गर्नुपर्ने अभिव्यक्ति पनि दिँदै आएका थिए। तर, देउवाको विकल्प खोज्नुपर्नेमा एकमत रहेका संस्थापन इतर समूहका नेताहरु विकल्प दिने अवस्थामा भने देखिँदैनन्। सभापतिमा अकांक्षा राखेका चारै जना नेताको दावी छ- देउवाको विकल्प म नै हुँ। जसका कारण संस्थापन इतर समूह एकढिक्का छैन।  

तर, प्रदेश अधिवेशनको नतिजा, देउवा–सिटौलाबीचको समीकरण र देउवाले शक्ति बढाउँदै लगेपछि भने इतर समूहका नेताहरुमा साझा उम्मेदवार चयन गर्न दबाब थपिदिएको छ। ‘शेरबहादुरको विकल्प खोज्ने भन्ने अनि आकांक्षी नमिल्ने हो भने विकल्प कसरी खोजिन्छ?,’ ती नेताले प्रश्न गरे, ‘अब पनि नमिल्ने हो भने त ५ वर्ष पार्टी देउवालाई सुम्पिने विकल्प मात्रै हामीसँग रहन्छ। प्रदेश अधिवेशनको नतिजाले त साझा उम्मेदवार चयन गर्न थप दबाब दिएको छ।’

यसैबीच संस्थापन इतर समूहबाट सभापतिका आकांक्षीहरूले आपसी छलफल गर्ने तयारी गरेका छन्। सोमबार साँझ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह भेला भएर छलफल गर्ने तयारी गरेका हुन्। भेलामा समग्र प्रदेश अधिवेशन र त्यसको नतिजाबारे समीक्षा हुने बोहराटार स्रोतले जानकारी दिएको छ।

प्रकाशित: Dec 06, 2021| 18:44 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...