विराटनगर- विराटनगर महानगर क्षेत्रमा झण्डै एक महिनादेखि उठ्न नसकेको फोहोर एक साताभित्रमा उठाइ सकिने भएको छ। महानगरको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट प्रालिसँगको सम्झौता अवधि सकिएपछि तीनवटा नयाँ साँझेदार संस्थाहरुले विराटनगरको फोहोर व्यवस्थापनका लागि मंसिर १ गतेदेखि महानगरपालिकासँग सम्झौता गरेका छन्।
सम्झौता गरेको दुई साता बिते पनि नगरका अधिकांश स्थानहरुको फोहोर उठ्न नसकेपछि नगर क्षेत्रमा दुर्गन्ध बढेको भन्दै नगरबासीले गुनासो गर्न थालेपछि महानगरले साँझेदार संस्थालाई फोहोर व्यवस्थापन छिटो गर्न निर्देशन दिएको हो।
महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सम्झौता गरेका नेपाल फुलबारी वेष्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भीस, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र आरएसडी सप्लायर्सका प्रतिनिधिहरुले आइतबार महानगरपालिकामा भएको छलफल कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
फूलबारी वेष्ट थ्रि आर पोलुसनकी सविता रिजाल, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका कृष्ण तिम्सिना र आरएसडी सप्लायर्सका गणेश रावतले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। महानगरपालिकाले तीन वटा संस्थालाई उत्तरी भाग, मध्य भाग र दक्षिणी भाग गरेर फोहोर व्यवस्थापनको जिम्मा दिएको छ।
विराटनगरको फोहोर व्यवस्थापनका लागि तीन वटा संस्थासँग महानगरपालिकाले पाँच वर्षका लागि सम्झौता गरेको छ। महानगर क्षेत्र भित्रको फोहोर चाँडोभन्दा चाँडो उठाउनका लागि महानगर प्रमुख भीम पराजुलीले साँझेदार संस्थाहरुका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। उनले फोहोर व्यवस्थापन कार्यमा गलत देखिएमा महानगरले जुनसुकै समयमा पनि सम्झौता रद्ध गर्नसक्ने चेतावनी दिए। उनले भने, ‘सम्झौता भंग भयो भन्दै महलाई भेट्न नआउनुहोला। फोहोर व्यवस्थापनमा राम्रो गरे प्रोत्साहन गरिने छ।
फोहोर व्यवस्थापन कार्यमा संलग्न संस्थाहरुलाई वडाका जनप्रतिनिधिहरुसँग समन्वय गरी काम गर्न निर्देशन दिइएको महानगरका वातावरण महाशाखा प्रमुख राजेन्द्र प्रधानले जानकारी दिए।
उनले १९ वटै वडामा दैनिक फोहोर व्यवस्थापनको कार्य योजना बनाएर काम गर्न निर्देशन दिइएको बताए। छलफल कार्यक्रममा आरएसडी सप्लायर्सका गणेश रावतले साँझेदार संस्थाहरु मिलेर विराटनगरमा छुट्टै ल्याण्डफिल साइट बनाउने योजना रहेको बताए। उनले ल्याण्डफिल साइटका लागि कसैले जमिन उपलब्ध गराए लगानी गर्न आफूहरु तयार रहेको बताएका छन्।