सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सैनिक कलेजबाट बेपत्ता विद्यार्थीबारे भेटिएन कुनै क्लु, सोधपुछमै सीआईबी

सैनिक कलेजबाट बेपत्ता विद्यार्थीबारे भेटिएन कुनै क्लु, सोधपुछमै सीआईबी

कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका रहेछन्।
 |  आइतबार, मंसिर १९, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– नेपाली सेनाको मेडिकल कलेजबाट बेपत्ता भएका विद्यार्थी राजेश शाही तीन महिना बितिसक्दा पनि भेटिएका छैनन्। उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेको पिलर नम्बर १ को टोली नै जुटिरहेको छ, तैपनि कुनै ‘क्लु’ मिल्न सकेको छैन।

triton college

‘हामी राजेशलाई खोजिरहेका छौं, तर अहिलेसम्म फेला पार्न सकिएको छैन। विभिन्न कोणबाट अनुसन्धान गर्दा उनलाई अपहरण या बेपत्ता पार्नुपर्ने कारण पनि देखिएको छैन। यद्यपि हाम्रो खोजी जारी छ,’ सीआईबी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने। नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत राजेश सेनाको होस्टेलबाट भदौ १७ गते बेपत्ता भएका हुन्। तर, दैलेखमा रहेका उनको परिवारलाई बेपत्ता भएको चार दिनपछि भदौ २१ गतेमात्रै खबर पुगेको थियो।  

‘अघिल्लो दिन साँझमात्रै घरमा फोन गरेर दसैंमा घर आउँछु आउँछु, मलाई यहाँ केही समस्या छैन, चिन्ता नलिनुस् भन्दै आधा घण्टाजति आमासँग फोन गरेको थियो,’ भूपू सैनिकसमेत रहेका राजेशका बुबा दानबहादुर शाही भन्छन्, ‘तर दसैँमा घर त के आउनु, त्यो भन्दा अगाडि नै ऊ हराएको खबर पो आयो।’

कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका रहेछन्। ‘कम्तीमा हराएको भोलिपल्टै जानकारी दिएको भए पनि चित्त बुझ्थ्यो। तर हामी पुग्दासम्म पनि कलेजले केही खोजबिन गरेको पाइएन,’ छोराको खोजीमा भौंतारिँदै नेपाल समय कार्यालय आइपुगेका दानबहादुरले केही दिनअघि हामीसँग गुनासो पोखेका थिए। 

राजेशका बुबा दानबहादुर छोराको खोजीमा तीन महिनादेखि काठमाडौंका गल्लीहरुदेखि सिंहदरबारसम्म भौंतारिरहेका छन्, तर पनि कुनै संकेत मिल्न सकेको छैन। नेपाली सेना, महानगरीय प्रहरी वृत्त स्वयम्भु, महानगरीय प्रहरी परिसर टेकु हुँदै यतिखेर यो विषय सीआईबीको काँधमा पुगेको छ।

corrent noodles
Metro Mart
कलेजलाई जिम्मा लगाएको छोरा हराएको खबर पाउनेबित्तिकै दानबहादुर काठमाडौं आएका थिए। काठमाडौं आएरै उनले थाहा पाए, होस्टेलका वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथिल्लो निकायमा कोठामै भएको रिपोर्टिङ गरेका रहेछन्।

छोराको खोजबिनका लागि उनले प्रधान सेनापति, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय सबैतिर निवेदन दिइसकेका छन्। सिंहदरबारमै पुगेर गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्। सबैले छोरा खोजिदिने आश्वासन त दिए तर आजसम्म राजेश सम्पर्कविहीन छन्। 

छोरा नलिई घर फर्किन्नँ भनेर दानबहादुर दसैंतिहारमा पनि घर गएनन्। अहिले भने उनी दैलेख फर्किएका छन्। ‘सबै खर्चपानी सकियो, बन्दोबस्त गर्न गाउँ आएको छु, आजभोलि नै काठमाडौं फर्किहाल्छु,’ दानबहादुरले भने। उनी काठमाडौंमा कहिले गेष्ट हाउस त कहिले आफन्तकोमा बसेर छोरा खोजिरहेका थिए। 

के गर्दैछ सीआईबी? 

सम्बन्धित निकाय गम्भिर नहुँदा आजसम्म छोरा नभेटिएको गुनासो गर्छ राजेशको परिवार। होस्टेलका वार्डेन विकल श्रेष्ठले समयमै हराएको खबर नगर्दा यो अवस्था आएको बुबा दानबहादुरको बुझाइ छ। 

सीआईबी प्रमुख डीआईजी सिंह भने आफूहरुसमक्ष यो केसको जिम्मेवारी ढिलोगरी आइपुगे पनि गम्भिरतापूर्वक लागिरहेको बताउँछन्। राजेशको फोनको लोकेसन ट्र्याक गर्दा उनको अन्तिम लोकेसन कलेज आसपास नै देखिएको सीआईबी स्रोत बताउँछ। ‘हामीले उनीसँग नजिक रहेका होस्टेलका तीन साथीहरु र निरन्तर सम्पर्कमा देखिएका तीन युवतीसँग पनि सोधपुछ गर्यौं तर त्यस्तो शंकास्पद केही देखिएन। यद्यपि हामी अनुसन्धानकै चरणमा छौं, धेरै बोलिहाल्न मिल्दैन,’ सीआईबीको तर्फबाट अनुसन्धानमा खटिएका एक प्रहरीले भने। 

यता दानबहादुर छोरा नभेटिएपछि उनका साथीहरु र प्रहरी यतिखेर राजेशकै चरित्र खराब देखाउन खोजिरहेको गुनासो गर्छन्। ‘छोराको क्यारेक्टर गलत देखाउन खोजिँदैछ,’ उनले भने, ‘केटो ठिक थिएन भने अभिभावकलाई किन पहिल्यै भनिएन? हिजो त्यही केटो इमान्दार थियो भन्ने अनि अहिले राम्रो थिएन भन्ने? यस्तो प्रतिक्रियाबाट हामीले कसरी न्यायको आशा गर्ने? हाम्रो चित्त दुख्दैन यसो भन्दा?’

बेपत्ता भएका विद्यार्थी राजेशका बुबा दानबहादुर शाही
त्यसो त कतिपयले पढाइको प्रेसरले राजेश कतै भाग्यो कि भनेर पनि व्याख्या गरिरहेको दानबहादुरले सुनेका छन्। तर, यसमा उनलाई रत्तिभर विश्वास छैन। कारण सुनाउँदै भन्छन्, ‘कमजोर आर्थिक अवस्थाका कारण हामीले त इन्जिनियर पढाउन खोजेका थियौँ। तर, उसले डाक्टर बन्छु भनेर एमबीबीएस पढेको हो। एसएलसीमा पनि ऊ सुर्खेतको टपर हो। प्लस टुमा केएमसी पढ्दा पनि उत्कृष्ट १० भित्र परेको थियो। सैनिक कलेजमा पनि सहजै नाम निकाल्यो। यसरी आफ्नै रहरले अघि बढिरहेको छोरा कसरी पढाइमा प्रेसर मान्छ?’

छोराको खोजबिनका लागि उनले प्रधान सेनापति, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय सबैतिर निवेदन दिइसकेका छन्। सिंहदरबारमै पुगेर गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्। सबैले छोरा खोजिदिने आश्वासन त दिए तर आजसम्म राजेश सम्पर्कविहीन छन्। 

दानबहादुरले छोराको पढाइमा करिब ६०–७० लाख खर्च गरिसकेका छन्। उनको नजरमा छोरा साह्रै अनुशासित, बुझ्झकी र इमान्दार छ। सबै भनेको मान्छ। ‘एउटा ल्यापटप किनिदिनुस् पनि भनेन कहिल्यै। एमबीबीएस पढ्दा पनि फोनमार्फत नै काम चलाइरहेको थियो। अब त एक वर्ष पढाइ बाँकी छ बुबा, त्यसपछि म पाल्छु केही चिन्ता नलिनुस् भन्थ्यो,’ यसरी सहानुभूति दिने छोरा एक्कासि बेपत्ता हुँदा दानबहादुर साह्रै दुःखी छन्। 

यता दानबहादुर, उता श्रीमती नरोएको दिन छैन छोराको सम्झनामा। कहाँ होला, के खाँदै होला भनेर दुवैलाई सताइरहेको छ। ‘अब त सुखका दिन आएजस्तो लाग्थ्यो, तर खोइ कहिल्यै आउला जस्तो भएन,’ दानबहादुर लामो सास तान्छन्।

सपना राम्रो छ, त्यसैले छोरा फेला पर्छ भन्नेमा अझै आशावादी छन्, दानबहादुर। ‘के गर्नु मर्न सकिँदैन, रोएर हुँदैन,’ भक्कानिँदै भन्छन् उनी, ‘छोराको याद साह्रै आइरहन्छ। गरिबको छोरो, सैनिक पेसाबाट कमाएको सबै पैसा उसलाई डाक्टर बनाउन लगानी गरेको थिएँ। मेरो सबथोक भन्नु नै त्यही छोरो थियो। त्यो पनि छैन। अब त जीवन कहिल्यै सुखमय होला जस्तो लाग्दैन।’

के गर्दैछ सेना? 

नेपाली सेनाले बेपत्ता राजेशको खोजी भइरहेको बताएको छ। घटनाका सम्बन्धमा आफूहरूले प्रहरीलाई जानकारी गराएकाले प्रहरीले समेत खोजी गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। 

सैनिक स्रोतका अनुसार होस्टेल प्रशासनको कमजोरीका कारण राजेश बेपत्ता भएपछि सेनाले यसको अनुसन्धानका लागि ‘कोर्ट अफ इन्क्वायरी’ नै गठन गरेको छ। तर, ‘कोर्ट अफ इन्क्वायरी’ले के निष्कर्ष निकाल्यो, कस्तो प्रतिवेदन बनायो, यसलाई सेनाले अहिलेसम्म गुपचुप नै राखेको छ। ‘सैनिक कलेजबाट विद्यार्थी हरायो भन्ने खबरले जंगी अड्डालाई पनि तनाव दिएको छ। त्यसैले राजेशको खोजीमा भित्रभित्रै सेना पनि जुटिरहेको छ, प्रहरीसँगसँगै,’ सैनिक उच्च स्रोेतले भन्यो। 

प्रकाशित: Dec 05, 2021| 15:01 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।