मंगलबार, असार ३०, २०८३

६७६ उद्योगबाट तीन खर्ब ९३ अर्बको लगानी प्रतिबद्धता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– उद्योग विभागमा दुई वर्षयता ६ सय ७६ वटा उद्योग दर्ता भएका छन् । सबैबाट गरी तीन खर्ब ९३ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

दर्ता भएका उद्योगहरूमा साना चार सय ५९, मझौला एक सय नौ र ठूला एक सय आठ वटा छन् । उक्त लगानी प्रतिबद्धता अनलाइन प्रणालीबाट उद्योग दर्ता हुन थालेयताको हो । 

आगामी आर्थिक वर्षदेखि उक्त विभाग हार्डकपीविहीन बन्ने भएको छ । विभागका प्रवक्ता दुर्गा भुसालका अनुसार १ साउनदेखि पूर्ण अनलाइन प्रणाली अवलम्बन गर्ने तयारी भइरहेको छ । ‘त्यससँगै पराम्परागत हार्डकपी प्रणाली हट्नेछ,’ भुसालले भने । आगामी आवको पहिलो चौमासिकभित्र पूर्ण अनलाइन प्रणाली लागू भइसक्ने उनको भनाइ छ । 

उद्योग दर्ता, वैदेशिक लगानी स्वीकृती, भिसा सिफारिसलगायत विभागका सबै काम अनलाइनबाटै सञ्चालन हुनेछन् । 

यसको शुरुवात भने २ माघ ०७३ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले गरेका थिए । त्यसयता परीक्षणका रूपमा अनलाइन र हार्डकपी दुवै प्रयोगमा थिए । 

औद्योगिक व्यवसाय ऐन, २०४९ अनुसार सबै कागजात तयार भएमा एक महिनाभित्र उद्योग दर्ता गरिने प्रावधान थियो । त्यसलाई आधा घटाएर १५ दिनभित्र दर्ता गरिसक्ने व्यवस्था भइसकेको छ । 

अनलाइन प्रणाली लागू भएपछि स्वदेशी उद्योग तीनदेखि सात दिनभित्र दर्ता भइसक्ने प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार विदेशी उद्योग दर्ता गर्नु परेमा सबै कागजात तयारी भएको अवस्थामा एकै दिनमा काम सकिनेछ । 

त्यसका लागि आवश्यक डिजिटल सिग्नेचर, रकमको बैंक टु बैंक ट्रान्सफर, उद्योग दर्ताको प्रमाण–पत्रलगायतको तयारी भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्