बिहीबार, वैशाख २०, २०८१

इमान नबिकेको राजनीति

राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ। अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन।
 |  आइतबार, मंसिर १९, २०७८

संकेत कोइराला

संकेत कोइराला

आइतबार, मंसिर १९, २०७८

कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए। यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुसियालीमा मिठाई बाँडिरहेका छौ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर दिए– ‘मेरो छोरो फेल भो त के बिग्रियो। कक्षाका सम्पूर्ण ५० जना विद्यार्थीमध्ये २० जनाले मात्र पास हुने मौका पाए। जबकि ३० जना फेल भए। यस अवस्थामा आखिर बहुमत त मेरो छोराकै पक्षमा छ। म यही खुसी बाँड्न मिठाई ख्वाइरहेको छु।’ 

triton college

यो कुनै आरोप, पूर्वाग्रह र व्यंग्य होइन। राजनीतिलाई समावेशी बनाउने नाममा नीति निर्माण तहमा अयोग्य मानिसको भीड बढाइएपछि देखिएको परिणाम हो। संविधान बनाउने नाममा राज्य अनुमोदित भेडीगोठमा भएका कुकर्म सम्झदा पनि कुरीकुरी लाग्ने अवस्था छ। नयाँलाई मौका दिनु भनेको आफ्ना हुक्के, ढोके, चम्चे, चण्डमुण्डलाई राज्यको राजपाट सुम्पनु होइन भन्ने चेत नेताहरुमा कहिल्यै आएन। राज्यका संवेदनशील निकाय राम्रा हैन, हाम्रा मान्छेले भरिने प्रतिस्पर्धा बढेको छ। अयोग्य मानिसलाई आँक्न नसक्ने अवसर दिइयो भने अवसर दिने र पाउने दुवैको हित हुँदैन।

राजनीतिमा कागजी चिर्कटोको नभएर इमानको मूल्य हुन्छ। पद्मशमशेरले पनि आफूलाई राष्ट्रको नोकर त भनेकै थिए नि, तर उनी कति नोकर प्रमाणित भए ? इतिहास साक्षी छँदैछ। सीडीओ कुट्ने करिमा बेगम राजनीतिक मैदानमा एकादेशकी कथा भइसकिन् तर कुटाइ खाने दुर्गाप्रसाद भण्डारीको अहिले पनि पूर्व वरिष्ठ प्रशासकको परिचय छँदैछ। आठ पासे साथीलाई नेपाल वायुसेवा निगमको सारथी बनाउने खड्गबहादुर विश्वकर्मा साथीसँगै बिलाएका छन्। क दुब्लायो भनेर रुने कालिदास प्रवृत्तिका कथित नेताहरु मन्त्री बनाइए।

कोही राष्ट्रसंघका वक्ता भएर अंग्रेजीका धुरन्धर हुन खोजे। आखिर रंगाइएको बिरालो बाघ कसरी हुन सक्थ्यो र? म्याउँ गरिहाल्यो। नजान्नेको उपचार छ। तर जान्दछु भनेर सपार्नु त परै जाओस् भएको पनि सिध्याउने अतिवादीहरुको उपचार छैन। भाषा नजान्नु अपराध होइन। अचेल संसारका अधिकांश भाषा अनुवाद गर्ने सफ्टवेर बनेका छन्। नेपाल नै नटेकेको विदेशी उहीं बसेर रेसम फिरिरी गाउने कुशल गायक बनेका उदाहरण छन्। तर योग्यता, साधनाले नभएर जनयुद्धमा बास बसेको, जेलमा भात बोकेको, नेतालाई विनाव्याज ऋण दिएको, विदेश जाँदा आतेजाते टिकट काटिदिएको जस्ता नाताका आधारमा राजनीतिमा प्रवेश पाएकाहरुले राजनीतिलाई कमाउको साधन बनाएका छन्।

अर्काथरी छन्– आस्था, निष्ठा, इमानदारी भगवानलाई चढाएर नाफाको व्यापार गर्न पल्किएका सुकिलामुकिलाहरु। आफ्ना सन्तान युरोप, अमेरिकामा स्थापित गराइसकेपछि बाँकी जीवन पिकनिकमा बिताउन स्वदेश बसेका यिनीहरुले ‘जनयुद्धको मनोविज्ञान’ अनुसार नेताहरुलाई काम गर्ने रोडम्याप तयार गरिदिने गरेका छन्। यिनै थिए, जसले राजा ज्ञानेन्द्रलाई उकासेर टीभीमा समाचार पढाउन लगाए। यस्तैको तोरीलाहुरे गफमा भुल्दा नेताहरु रङ छुट्याउन नसक्ने भएका छन्। राजा त्रिभुवन आफ्ना आसेपासेसँग भन्थे रे– ‘हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन् त।’ उनी त राजा भए केही हदसम्म यस्तो फन्टुस बुझाइ पनि ठिक्कै होला रे! तर हिजोसम्म कोदाको ढिँडोका भरमा जीवन घिसारेकाहरु कोदो र तोरीको अन्तर छुट्याउन नसक्ने भएपछि चाहिँ राजनीतिको बेथितिले धेरैलाई पोल्न थालेको हो। 

corrent noodles
Metro Mart
पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता चम्कँदै गइरहेको छ। कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन। त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ।

विश्वका प्रख्यात राजनीतिज्ञहरुले शिक्षाको सुरुवात कितावबाट होइन, कोक्रोबाट गरेका छन्। अब्राहम लिंकन स्कुलका प्रिन्सिपललाई चिठी लेखेर आफ्नो सन्तानलाई व्यावहारिक ज्ञान दिलाउन आग्रह गर्थे। भारत स्वतन्त्रतापछि पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले जेलबाट छोरी इन्दिरा गान्धीका नाममा पठाएका पत्रको पुस्तक नै छापिएको छ। जुन चिठी इन्दिरा गान्धीको राजनीतिक सुरुवातीको आधारस्तम्भ नै ठहरियो। बीपी कोइरालाले पनि जेलबाट नै छोरी चेतनालाई पत्र लेखेका थिए। जुन पत्रमा उनले ज्ञान, विज्ञान, समाज र संस्कृतिका विषयमा जानकारी गराएका थिए।

आमा भनेको के हो? यो प्रश्नको जिज्ञासा मेटाउँदै बीपीले छोरीलाई पठाएको पत्रमा लेखेका छन्– ‘यौटी स्वास्नीमानिस मात्र तिम्री आमा हुन्, जसको नाउँ छ सुशीला। यदि विज्ञानको कुरा गर्ने हो भने तिमीलाई धेरै खाँचो पर्दैन आमा कोहो भन्ने बुझ्न। तिम्रो मनको मायाको आँखाले सुशीलालाई आमा भनेर देखेको छ। तर विज्ञान अथवा साइन्सले आमा भन्ने को हो भन्ने चिन्न खोज्दा मनको मायाको आँखाले हेर्दैन। त्यसले अर्कै किसिमबाट आमा भन्ने मानिसलाई चिनाउँछ।’

चिठीमा बीपी थप्छन् – ‘९ वर्ष पहिले तिमी थिइनौ। कतै पनि आकाश, पाताल, पृथ्वी कतै पनि थिइनौ। तिमी सबभन्दा पहिले बन्न पुग्यौ सुशीलाको पेटमा आँखाले पनि नभेट्टाउने एकदम थोप्लो जस्तो भएर। ९ महिना जति सुशीलाको अँध्यारो पेटमा टाँसिएर बसिरह्यौ त्यस अँध्यारो कोप्चो ठाउँमा। त्यो सानो थोप्ला ९ महिनासम्म बढ्दाबढ्दा हात, गोडा, टाउको र अरु अंगप्रत्यंग भएकी गुडिया जस्ती यौटी सानी केटी बन्दै गई र ९ महिनापछि त्यो सानी केटी, एक हातभन्दा पनि सानी आमाको पेटबाट निस्की। त्यै केटी त्यत्री ठूली चेतना भएकी छ।’ 

अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको किस्सा नै अलग छ। उनी प्राथमिक कक्षामा पढ्थे। एक दिन स्कुलले उनीहरुलाई शैक्षिक भ्रमणका लागि अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाईट हाउस घुमाउन लगेछ। विद्यार्थीले चाख मानीमानी ह्वाइट हाउसको सम्पूर्ण कक्षको अवलोकन गरेछन्। घुमघाम सकिएपछि ह्वाइट हाउस कस्तो लाग्यो? भनेर अनुभव लेख्न एउटा पुस्तिका दिइएछ। साना बालबालिका कसैले के लेखे, कसैले के लेखे। त्यसै मध्येका बालक केनेडीले लेखेछन्– ‘भविष्यमा म आएर बस्ने ठाउँ ठिकै रहेछ।’ भविष्य द्रष्टा तिनै बालक कालान्तरमा अमेरिकाको राष्ट्रपति भए।   

२००७ सालको जनक्रान्तिपछि बनेको सरकारमा गृहमन्त्री बनेका बीपीले देशका विभिन्न भागको पैदल भ्रमण गरी त्यहाँको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाको अवलोकन गरेका थिए। ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन्। शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान। ज्ञानले बाँच्ने कला सिकाउँछ। तर सूचनाले फन्टुस गफ गर्न। यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता चम्कँदै गइरहेको छ। कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन। त्यसको सौन्दर्यपान मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ।

हो, साँचो शिक्षा पनि त्यही सुनको गहनाजस्तै हो।  नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ। कक्षाको सबैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ। कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल होइन। तर अहिले लायक बनाउन सन्तानका लागि गरिएको लगानी आफै‌ंलाई नालायक प्रमाणित गर्ने काममा खर्च हुने गरेको छ। एकप्रकारले शिक्षा नजानिदो धोकाजस्तै भएको छ। पहिले पहिले बच्चाहरु भन्थे– हामी आमाबाबुका साथ रहन्छौं। अचेल तिनै भुराहरु भन्न थालेका छन्– बाबुआमा हामीसँग बस्नुहुन्छ। राजनीतिज्ञहरुले कोरेको नया“ नेपालको कथित शास्त्रलाई अवन्नतिको यो माखेसाङ्लोले बेर्दै लगेको छ। 

धरहरालाई पुड्को बनाउन त्यो भन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ। तर नयाँ पनि नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली समाज ग्रसित बन्दै गएको छ।  

देशको राजनीति सुल्टो गतिमा अघि बढाउने नियत राखेको भए शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत अधिकारका रुपमा स्थापित गरिनुपर्थ्यो।  समावेशीका नाममा सुन र पित्तल गिजोल्ने काम नगरेर शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने काम गर्नुपथ्र्यो। शपथ ग्रहण गरेलगत्तै शिक्षामन्त्री दरबार हाइस्कुल र पद्मोदय स्कुल पुगेर शिक्षाको विकासमा इमानदारीको संकल्प गर्नुपर्थ्यो। जनताका छोराछोरीलाई शिक्षाको उज्यालो दिएका यस्ता ऐतिहासिक शैक्षिक प्रतिष्ठानलाई देशका गौरव बनाइनुपर्थ्यो । मेरो छोरो, भतिजो, नाति दरबार स्कुलमा पढ्छ भन्दा गौरवले छातीको आयतन बढ्ने अवस्था आउनुर्थ्यो। त्यही पद्मोदय स्कुल पढेका सूर्यबहादुर थापा, कमल थापा, भोजराज पोखरेल, अच्युतकृष्ण खरेल राष्ट्रिय व्यक्तित्व बनेका छन्। यस्ता सबल जनशक्ति उत्पादन गर्ने विद्यालयलाई आज नोकर चाकर पढाउने दुर्गतिको स्कुल किन बनाइयो? कोहीस“ग छ यसको उत्तर।  दुर्गम जिल्लामा डाक्टर नपुगेको समाचार आएको दशकौं भइसक्यो। नेपालमै बर्सेनि सयौं डाक्टर उत्पादन हुन्छन्। आखिर किन दुर्गम भेगमा स्वास्थ्योपचार महँगो भयो त? उत्तर स्पष्ट छ– डाक्टर बनि“दैन, बनाइन्छ। लाखौं रुपैयाँ चन्दा दिन नसक्नेहरु जतिसुकै योग्य भए पनि डाक्टर नहुने भएपछि यो समस्या सधैं ज्यूँ का त्यूँ रहने पक्का छ। 

अहिले पनि टोनी हेगनले ६ दशकअघि कोरिदिएको दस्तावेज नेपाली भूगोलको आधिकारिक आधार बन्दै आएको छ। त्यसपछि डोरबहादुर विष्ट र हर्क गुरुङले पूरै देशको भ्रमण गरेर सामाजिक, आर्थिक, राजनीतिक अवस्थितिको लक्ष्मणरेखा कोरिदिए। गुरुङले देशलाई चालीस जिल्लामा घटाएर आर्थिक सन्तुलन मिलाउन दिएको योजनासहितको सल्लाह राजनीतिक पूर्वाग्रहमा परेर नासियो। गृष्मबहादुर देवकोटाले लेखेको राजनीतिक इतिहासलाई ‘पञ्चायती’ भनेर टिप्पणी गर्नेहरु त निस्किए तर त्यसको विकल्प दिने हिम्मत गर्ने अर्को सर्जक जन्मिएन। कानुन पढेर जंगबहादुरका पालामा लेखिएको मुलुकी ऐन नबुझ्नेहरु प्रशस्त देखिए तर समयसापेक्ष कानुनमा परिमार्जन गर्न सक्ने कोही जन्मिएनन्। राजा महेन्द्रलाई तानाशाही भन्नेहरुको उत्ताउलो हुल देखापर्‍यो तर त्यस्तै राष्ट्रवादी सोच भएकाहरु देखिएनन्। धरहरालाई पुड्को बनाउन त्यो भन्दा अग्लो र मजबुत अर्को संरचना बनाइनुपर्छ। तर नयाँ पनि नबनाउने, पुरानोको अस्तित्व पनि नस्वीकार्ने अनौठो रोगले नेपाली समाज ग्रसित बन्दै गएको छ।  


प्रकाशित: Dec 05, 2021| 10:36 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...