बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा सभापतिसहित सबै पदमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। १४ औं महाधिवेशनअन्तर्गत प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।
भैरहवास्थित प्रदेश निर्वाचन प्रमुखको कार्यालयमा दुवै पक्षले सबै पदमा मनोनयन दर्ता गराएको निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले बताए। देउवा समूहबाट उपसभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी सरिता चौधरी र बाँकेकी माया पुनले उम्मेदवारी दिएका छन्।
संस्थापन इतर (पौडेल) पक्षबाट पुनको समूहबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीले मनोनयन दर्ता गराएका हुन्।
शनिबार मतदानको कार्यतालिका छ। प्रदेश सभा क्षत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको नतिजामा पौडेल पक्ष बलियो देखिएको छ। तर, गृहमन्त्री बालकृष्ण खाँणले शाहलाई समर्थन गर्दै आक्रामक रणनीति अपनाएकाले कडा प्रतिस्पर्धा हुने बताइएको छ। लुम्बिनीमा महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत गरी १ हजार ५ सय ८५ मतदाता छन्।