काठमाडौं- करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनले माग गरेका छन्। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बास्कोटालगायतका पदाधिकारीको कार्यकक्षमा बिहीबार तालाबन्दी गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो। आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय आत्मघाती भएको भन्दै विद्यार्थी सगठनले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र कुलसचिवको कार्यालयमा तालाबन्दी गरेका हुन्।
अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबाहक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै करारलाई स्थायी गर्ने निणर्य फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न माग गरेका छन्।
त्रिविले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले पनि आपत्ति जनाएका छन्।
त्रिवि सेवा आयोगको विधानलाई पाखा लगाउँदै त्रिवि र राज्यलाई झन्डै १ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी व्ययभार पर्ने गरी निर्णय गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले त्रिविले सो निणर्य फिर्ता लिन माग गरेका हुन्।
'विना प्रतिस्पर्धा त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद छ,' विज्ञप्तिमा भनिएको छ, ’हामी सो निणर्य खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौं।’
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन्।