काठमाडौं – चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतका शिक्षण संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कतर्फको कक्षा सञ्चालनमा रोक लगाएको छ।
सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले खुलाएको शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा आयोगको कार्यकारी समितिको निर्णयानुसार भर्नामा रोक लगाएको हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिक सत्र २०७७÷०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भएको थियो। त्यसपछि निर्णय कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालयमार्फत चलानी नम्बर १२५ मिति २०७७ भदौ ३० गतेको पत्रमार्फत जानकारीसमेत गराइएको थियो।
यसपछि परिषद्ले सिटसंख्या पनि तोकी आवेदन फाराम खुलाएकाले विश्वविद्यालयलाई आफ्ना आंगिक र सम्बन्धन प्राप्त कलेजमा ऐन विपरीत प्रमाणपत्र तहका कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउन सूचित गरेको छ।
आयोगले सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयको सूचनामा त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्नाका लागि सिट संख्यासमेत तोकी सूचना प्रकाशन भएको पाइएकाले विश्वविद्यालयहरुलाई आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा प्रमाणपत्र तहका कार्यक्रममा विद्यार्थी भर्ना नगर्ने नगराउने प्रबन्ध अविलम्ब मिलाउन निर्देशन दिएको छ। आयोगले भनेको छ, ‘प्रचलित ऐन तथा नियमको परिधिभित्र रहेर आयोगले दिएका निर्देशन कार्यान्वयन नभएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ आकर्षित भईजाने व्यहोरासमेत अवगत गराउँदछौं।’
परिषद्बाट विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त शिक्षण संस्थामा समेत प्रमाणपत्र तह नर्सिङ विषयमा सिट निर्धारण गरी आवेदन आह्वान गरेको हुँदा ऐनको दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल भएकाले त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्ना सम्बन्धी भएका सूचना रद्द गर्न आयोगले निर्देशन दिएको हो।
आयोगले नोवल मेडिकल कलेज टिचिङ हस्पिटल मोरङ, नेसनलल मेडिकल कलेज पर्सा, कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल चितवन, एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवन,ओम हेल्थ क्याम्पस,काठमाडौं लगायतका १६ शिक्षण संस्थामा उक्त कार्यक्रम सञ्चालनमा रोक लगाएको हो।
परिषद्ले भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद नियमावली, २०५१ बमोजिम स्थापित स्वायत्त संस्था भएको र यसबाट भए गरेका कार्यहरु सोहीबमोजिम हुँदै आएको दाबी गरेको छ।
अपिलमा स्वास्थ्य तर्फका कार्यक्रमहरुका लागि चिकित्सा शिक्षा आयोगसँग परामर्श, छलफल गरी परिषदको २०७८ कात्तिक १७ गतको बैठकबाट निर्णय भई परिषद, परीक्षा नियन्त्रण कार्यालयबाट मंसिर ८ गते प्रकाशन भएको नर्सिङ कार्यक्रममा आवेदन फारामको सूचनामा भएका शिक्षण संस्था परिषदको विद्यमान ऐन, नियमावली र चिकित्सा शिक्षा आयोगको मिति २०७८ मंसिर ८ अघिका निर्णयानुसार नै भएको जनाएको छ।