शनिबार, जेठ ५, २०८१

शाख फर्काउने प्रयासमा चाक्सीबारी

मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टीका आन्तरिक र बाह्य जीवनका विविध आयामको साक्षी बसेको चाक्सीबारी यतिबेला उही पुरानो शाख फर्काउने प्रयासमा छ।
 |  सोमबार, मंसिर १३, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- स्थापनाकालदेखि नै कांग्रेसको सम्बन्ध चाक्सीबारीसँग छ। कांग्रेसको सक्रिय राजनीतिमा दुई पुस्ता खटाएको चाक्सीबारी तेस्रो पुस्तालाई पनि सक्रिय राजनीति सिकाइरहेको छ। 'लौहपुरुष' गणेशमान सिंहका नाति तथा प्रकाशमान/सिर्जना सिंहका छोरा प्रभासमानले पनि यसपटक महाधिवेशन प्रतिनिधि बनेर कांग्रेस राजनीतिमा पदार्पण गरेका छन्। प्रकाशमान कांग्रेसको इतिहासमा नै पहिलो निर्वाचित महामन्त्री तथा उपसभापति बनिसकेका नेता हुन्।

triton college

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठूलो योगदान गरेका कारण लौहपुरुष उपाधि पाएका सिंहको निवास चाक्सीबारी कुनै बेला देशमा राजनीतिक/प्रजातान्त्रिक विकासको नक्सांकन केन्द्र थियो। मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टीका आन्तरिक र बाह्य जीवनका विविध आयामको साक्षी बसेको चाक्सीबारी यतिबेला उही पुरानो शाख फर्काउने प्रयासमा छ। 

पञ्चायतकालमा सक्रिय राजनीति गरेका कांग्रेसका नेताहरू चाक्सीबारीलाई 'संकटको सारथी' मान्छन्। त्यसबेलादेखि हालसम्म कांग्रेसको राजनीतिमा जोडिएका थुप्रै नेताहरूमा चाक्सीबारीप्रति 'श्रद्धा' पनि छ। कांग्रेसको तल्लो तहबाट राजनीति सुरु गरेर प्रकाशमान आजपर्यन्त क्रियाशील छन्। तर गणेशमानको निधनसँगै विस्तारै छायामा पर्दै गएको चाक्सीबारी राजनीतिक पुनरोदयको खोजीमा छ। 

संयोग नै भन्नुपर्छ, चाक्सीबारीका पुराना संरचनालाई पुनर्जीवन दिने प्रयास गरिएको छ। चाक्सीबारीको पुरानो भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बन्यो। प्रकाशमानकै शब्द सापटी लिने हो भने त्यसलाई अहिले 'मेन्टेन' गरिएको छ। चाक्सीबारीको प्रांगणमा गणेशमान सिंह चढ्ने हरियो जीप आज पनि संरक्षित छ। गणेशमानका पालाको भवन 'मेन्टेन' गराएका प्रकाशमान गणेशमानको शाख 'मेन्टेन' गर्न लागिपरेका पनि छन्।  

चाक्सीबारीमा बाक्लियो भेटघाट

corrent noodles
Metro Mart

कांग्रेसमा संस्थापन इतर पक्षका नेता मानिने रामचन्द्र पौडेल पक्षसँग प्रकाशमानले निकट सम्बन्ध राख्दै आएका थिए। केही समयअघिसम्म संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवार तय गर्नुपर्ने धारणा राख्दै आएका प्रकाशमान महाधिवेशन नजिकिएसँगै अरूलाई नेता नमान्ने निष्कर्षमा पुगेका छन्। यसै कारण पटक-पटक लन्च मिटिङ गरेका महामन्त्री शशांक कोइरालासँगको सम्बन्ध अमिलियो। आरोप-प्रत्यारोप चल्यो। 

सार्वजनिक कार्यक्रममा चर्किएको आरोप-प्रत्यारोपका शृंखला मत्थर गर्न मंसिर ४ गते महामन्त्री शशांक कोइराला सिंहलाई भेट्न‍ चाक्सीबारी पुगे। चाक्सीबारी पुगेर महामन्त्री कोइरालाले 'माफी मागेको' सिंहको सचिवालयले जनाएको छ। भेटमा दुई नेता संयमित भएर अघि बढ्ने निधोमा पुगेपछि सार्वजनिक रूपमा हुने गरेको आरोप-प्रत्यारोप रोकिएको छ।  

मुलुकको सबैभन्दा पुरानो राजनीतिक पार्टीका आन्तरिक र बाह्य जीवनका विविध आयामको साक्षी बसेको चाक्सीबारी यतिबेला उही पुरानो शाख फर्काउने प्रयासमा छ। 

त्यसअघि मंसिर २ गते पौडेल सिंहलाई कुनै जानकारी नै नदिई चाक्सीबारी पुगेका थिए। पछिल्लो समय आफूसँग टाढिन पुगेका प्रकाशमानलाई फकाउने उद्देश्यले पौडेल चाक्सीबारी पुगे। भेटमा देउवालाई हराउनका लागि सहमतिमा साझा उम्मदेवार तयार गरेर अघि बढ्नुपर्ने पौडेलले धारणा राखेका थिए। तर प्रकाशमानले यसअघि नै पौडेललाई नेता मान्‍न नसक्ने बताइसकेका थिए। 

पौडेल र शशांकले भेटेलगत्तै संस्थापन इतर पक्षबाटै सभापतिका अर्का आकांक्षी शेखर कोइराला मंसिर ३ गते चाक्सीबारी पुगेका थिए। ‘सभापति म हुन्छु, तपाईं प्रधानमन्त्री बन्नुस्,’ शेखरले प्रकाशमानसँग प्रस्ताव गरेका थिए। तर शेखरको प्रस्तावलाई प्रकाशमानले अस्वीकार गरिदिए। सिंहले शेखरलाई भनेका थिए, ‘म पनि पावर सेयरिङ गर्न तयारै छु। बरु कोइरालाहरूमध्ये प्रधानमन्त्री हुनुस्। म सभापति हुन्छु।’ 

तीन नेताले चाक्सीबारी पुगेर सिंहलाई भेटेपछि संस्थापन इतर समूहका सभापतिका चार आकांक्षीबीचको संवादहीनता पनि तोडिएको थियो। संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षीहरूको चाक्सीबारी दौडले उक्त पक्षको केन्द्र चाक्सीबारी बनेको भन्‍न सक्ने आधार तयार भएको छ। प्रकाशमानले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्नुका साथै आफू कुनै हालतमा ब्याक नहट्ने प्रतिबद्धता गरेसँगै फेरि एकपटक चाक्सीबारीमा चहलपहल बढेको हो। 

प्रकाशमानका पालामा बनेको 'सेतु'

हुन त प्रकाशमानले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुअघि पनि संकट पर्दा कांग्रेस नेता चाक्सीबारी पुग्ने गर्थे। २०७६ मंसिरमा कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चाक्सीबारी समझदारीको सेतु बनेको थियो। 

त्यसबेला महाधिवेशनको कार्यतालिका माग गर्दै संस्थापन इतर समूहले केन्द्रीय समिति बैठक नै बहिष्कार गरेको थियो। कांग्रेस विधानअनुसार कांग्रेस सभापति देउवाको कार्यकाल सकिन लागेको अवस्थामा महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग राखेर संस्थापनइतर समूहले बैठक बहिष्कार गरेको थियो।

पार्टीभित्रको विवाद चर्किएको समयमा समाधान खोज्न चाक्सीबारी अघि सरेको थियो। देउवाले उपसभापति विमलेन्द्र निधि र संस्थापनइतर समूहले सिंहको नेतृत्वमा बनाएको वार्ता समितिले चाक्सीबारीमा पटकपटक वार्ता गरेर सहमति निकालेको थियो। 

प्रकाशमानको अडान

प्रकाशमान सभापतिमा प्रतिस्पर्धा गरिछाड्ने निष्कर्षमा पुगेका छन्। कात्तिक दोस्रो साता यता उनले जे बोलेका छन्, जे गरेका छन्, त्यसले प्रकाशमानको आत्मविश्‍वास संकेत गर्छ। 

प्रकाशमान सिंह। तस्बिर : दिनेश श्रेष्ठ

कात्तिक २२ गते सत्तारुढ गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिक संयन्त्रको संयोजक बनाएयता सिंह आक्रामक छन्। आफ्नै समूहका नेता पौडेललाई भनेका थिए, ‘उहाँ (रामचन्द्र) शेरबहादुर दाइको कार्यकर्ता बन्नुभयो। अब उहाँलाई नेता मान्दिनँ, आफैं सभापति लड्छु।’ 

प्रकाशमानले पौडेलप्रति आक्रोश मात्र पोखेका छैनन्, गुटको भेला समेत बहिष्कार गरेका थिए। यति मात्र होइन, उनी आफ्नो गुटमा कसैलाई पत्तै नदिई कात्तिक २७ गते सुटुक्क भारत पुगेका थिए। भारत भ्रमणबाट फर्किएपछि उनको सक्रियता थप बढ्यो।

मंसिर २ गते सिंहले सम्पादकहरूसँग अन्तरक्रिया गरे। सोही दिन बिहान उनलाई भेट्न पौडेल चाक्सीबारी पुगेका थिए। आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने कोसिसमा रहेका उनका अभिव्यक्तिले सभापतिको उम्मेदवारी बनिछाड्ने निष्कर्ष निकालिसकेको भेटमा सहभागी पत्रकारहरू आकलन गर्छन्। 

प्रकाशमान आफ्नो टिम बनाउने प्रयासमा छन्। ‘मरेँ भने हो पार्टी सभापतिमा मेरो उम्मेदवारी नपर्ने। नभए उम्मेदवारी त पर्‍यो पर्‍यो। अब अगाडि बढ्यो बढ्यो भनेर होला मेरा विरुद्ध दुष्प्रचार सुरु गरिएको छ। हालै ‘काठमाडौंबाहिर कसले पो चिन्छ र!’ भनेछन्। कसले चिन्छ भन्ने त दशौँ महाधिवेशनमै देखिएको हो, बाह्रौँ महाधिवेशनमा पनि देखियो,’ उनले सम्पादकहरुसँग भनेका छन्, ‘बलियो उम्मेदवार भएकैले त आक्रमण गर्‍या हुन्। कमजोर भएको भए कसले कुरा काट्थ्यो र?' 

उनले 'सुदृढ लोकतन्त्रका लागि सुदृढ कांग्रेस, सुदृढ कांग्रेसका लागि सबल नेतृत्व, सबल नेतृत्वमार्फत् नागरिकको जीविकोपार्जनमा स्तरोन्नति हुने खाले आर्थिक कार्यक्रममा काम अनि सुशासन' आफ्ना एजेन्डा भएको बताएका थिए।

सम्पादकहरूसँग अन्तर्क्रियामा उनले आफ्ना बारेमा दुष्प्रचार गरिएको प्रसंग महामन्त्री शशांक कोइरालाप्रति लक्षित गरेका थिए। सिंह र कोइरालाबीच त्यसको केही दिनअघि दोहोरी नै चलेको थियो। कोइरालाले सभापतिमा लडे पनि सिंहलाई काठमाडौं बाहिर नचिन्ने आरोप लगाएका थिए। त्यसको जवाफमा सिंहले सुशील कोइरालाभन्दा बढी मत ल्याएर पहिले पार्टीको आन्तरिक चुनाव जितेकोले सबैसँग सम्बन्ध राम्रो रहेको जवाफ फर्काएका थिए। 

त्यो चाक्सीबारी

गणेशमान सिंह हुँदासम्म चाक्सीबारीमा चहलपहल भइरहन्थ्यो। चहलपहल मात्र होइन, राजनीतिक परिवर्तनको नक्सांकनको केन्द्र थियो चाक्सीबारी। २०४६ सालको जनआन्दोलनको सुरुवात नै चाक्सीबारीबाट भएको थियो।  

२०१७ पुस १ मा राजा महेन्द्रले प्रजातन्त्रमाथि 'कु' गरेपछि राजनीतिक दल प्रतिबन्धित थिए। नेताहरू भारतमा बसेर अधिकार प्राप्तिका लागि लडिरहेका थिए। २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए।  

चाक्सीबारी सिंह परिवारको निजी निवास भएकाले त्यहाँ केही सुरक्षित भएकाले पार्टीका महत्त्वपूर्ण बैठक र भेटघाट त्यहाँ हुने गरेको कांग्रेस इतिहासका जानकार पुरुषोत्तम बस्नेत बताउँछन्।

बीपी फर्किएपछि पञ्चायती व्यवस्थाको विरोध चर्कियो। दबाबस्वरुप २०३६ जेठ १० गतेका लागि जनमतसंग्रह घोषणा भयो। जनमत संग्रहमा प्रतिबन्धित राजनीतिक दलहरुले पनि भाग लिए। जनमतसंग्रहको नतिजा पञ्चायत पक्षमै आयो। केही दलका नेताहरुले पनि जित हासिल गरे। बहुदलीय व्यवस्थाका पक्षमा पञ्चायती सदनमा आवाज उठ्यो। 

यसैबीच २०३९ मा बीपीको निधन भयो। बीपीको निधनपछि पञ्चायत थप बलियो बनेको थियो। तर बीपीको अभाव चाक्सीबारीले पूरा गरेको थियो। जनमतसंग्रह र जनआन्दोलनबीचको १० वर्ष चाक्सीबारी केन्द्र बन्यो। नेपाली कांग्रेसका बैठकदेखि सम्मेलनसम्मका कार्यक्रम चाक्सीबारीमा हुने गर्थे।

कसरी केन्द्रमा परेको थियो चाक्सीबारी?

चाक्सीबारी सिंह परिवारको निजी निवास भएकाले त्यहाँ केही सुरक्षित भएकाले पार्टीका महत्त्वपूर्ण बैठक र भेटघाट त्यहाँ हुने गरेको कांग्रेस इतिहासका जानकार पुरुषोत्तम बस्नेत बताउँछन्। कांग्रेसको सक्रिय राजनीतिमा समेत क्रियाशील बस्नेतका अनुसार दर्जनौँ पटक बैठक र सम्मेलन त्यहाँ भएको उनले स्मरण गरे।

‘चाक्सीबारी गणेशमानजीको निजी निवास थियो। तर जनमतसंग्रह र जनआन्दोलनका बीचको दशकमा चाक्सीबारी सिंह परिवारको मात्र निजी निवास बनेन, कांग्रेसकै कार्यालयजस्तो बन्यो। निजी निवास भएकाले त्यहाँ कार्यक्रम गर्दा नेताहरूले तुलनात्मक रूपमा बढी सुरक्षित महसुस गर्थे। प्रजातन्त्र प्राप्त नहुन्जेल त्यहाँ दर्जनौं पटक पार्टीका बैठक र सम्मेलन भएका छन्,’ कांग्रेस इतिहासका जानकार पुरुषोत्तम बस्नेत भन्छन्, ‘बीपी कोइरालालगायतका सिनियर नेता चाक्सीबारी जानुहुन्थ्यो। र, आवश्यक सल्लाह त्यहीँ हुन्थे।’ 

उनका अनुसार पञ्चायती व्यवस्था फाल्ने र प्रजातन्त्र प्राप्त गर्ने मुख्य योजना र सुरुवात चाक्सीबारीबाटै भएको थियो। विपरीत ध्रुवमा विभाजित प्रजातान्त्रिक धार र वामपन्थी धारका पार्टीहरूबीच मोर्चा गठनको निर्णय पनि चाक्सीबारीमा नै भएको थियो।

२०४६ साल माघ ५ देखि ७ गतेसम्म गणेशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसले राष्ट्रिय सम्मेलन गरेको थियो। प्रतिबन्धित कालमा भएको खुला राजनीतिक सम्मेलनमा १५ हजार मानिस उपस्थित थिए। त्यही सम्मेलनले गणेशमान सिंहलाई जनआन्दोलनका कमान्डर घोषणा गरेको थियो। यसपछि कांग्रेसले फागुन ७ गतेदेखि सडक आन्दोलनको थालनी गरेको थियो। 

प्रकाशित: Nov 29, 2021| 19:20 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...