काठमाडौं- अध्ययनका लागि विदेश जानेहरूका नाममा पछिल्लो तीन वर्षमा करिब एक खर्ब रूपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ९७ अर्ब १ करोड रुपैयाँ शिक्षाका नाममा विदेसिएको हो।
कोरोना महामारीको समयमा पनि 'नो अब्जेक्सन लेटर' (एनओसी) लिनेको संख्या खासै कमि नआएको समेत राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। सरकारले नेपालमा विद्यार्थी रोक्न नसक्दा शिक्षाका नाममा अर्बौँ रकम बाहिरिएको हो।
नेपालबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ६३ हजार २५९ जना विद्यार्थीले एनओसी लिएका थिए। उक्त वर्ष विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूका नाममा ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ।
कोरोना महामारीले असर गरेको आर्थिक वर्ष २०७६/७७ मा ३४ हजार ९४ जनाले एनओसी लिएका थिए भने २५ अर्ब ८१ करोड रुपैयाँ शिक्षाकै लागि नेपालबाट बाहिरिन पुगेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा पनि २७ हजार ९ सय ७८ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयल एनओसी साखाको तथ्याङ्क छ। गत आर्थिक वर्षमा पनि २४ अर्ब ८६ करोड रुपैया बाहिरिएको छ।
विगत १० वर्षमा ३ लाख ५२ हजार ७१५ जनाले शिक्षा मन्त्रालयबाट विदेश अध्ययनका लागि एनओसी लिएका छन्। यस मध्ये करिब ८० प्रतिशत विद्यार्थी विदेशमा अध्ययनका लागि गएको शिक्षा मन्त्रालय एनओसी शाखाको दाबी छ।
कोरोनाका कारण एनओसी लिनेको संख्या केही कमी आए पनि खासै ठूलो असर गरेको देखिएको छैन। पछिल्लो समय दैनिक ३ सय जनाले एनओसी लिने गरेको एनओसी शाखाका उपसचिव नारायण पोखरेलले बताए। ‘शिक्षामा सरकारले नीति नै बनाएर विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई रोक्न सकेको अवस्था छैन। मन्त्रालय आफै नीतिगत जटिलतामा फसेको छ,' उनले भने, 'अहिले पनि विदेशमा अध्ययनका जान चाहने एनओसी लिन आउने विद्यार्थीको संख्यामा कुनै कमी आएको छैन।’
सरकारले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई नेपालमा नै रोक्न ठोस योजना बनाउन नसक्दा विदेश जाने विद्यार्थीको संख्यामा उल्लेखनीय कमी आउन नसेकेको सरोकारवालाको भनाइ छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्व अध्यक्ष राजेन्द्र बरालले नेपालबाट परामर्श व्यवसायीले विदेशमा विद्यार्थी पठाउन सहजीकरण गर्ने गरेकोमा परामर्श व्यवसायिको विदेशमा रहेको शाखाबाट नेपालमा पनि अध्ययनका लागि विदेशी विद्यार्थी ल्याउन सक्ने भएपनि राज्यले यस प्रति ठोस कदम नचालेको र यहाँ कक्षा १२ सम्म अध्ययन गरेका विद्यार्थीलाई नेपालमै रोक्न नसकेको बताए।
नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तानलगायतका देशमा मेडिकल, व्यवस्थापन, आईटी, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, वन विज्ञान, कृषि विषय अध्ययन गर्न विद्यार्थी विदेशी विश्वविद्यालय र क्याम्पसमा जाने गरेका छन्।