काठमाडौं- सरकार अफ्रिकी देशमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि ती देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ। सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको हो।
अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार गृह मन्त्रालयले निर्देशन दिएको हो। तर कूटनीतिक र आपत्कालीन कामका लागि नेपाल आउने त्यहाँका नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको छैन।
कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप तथा एसियाली मुलुकमा समेत भेटिन थालेसँगै विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाउन थालेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लुएचओको दक्षिणपूर्वी एसियाली देशहरू हेर्ने क्षेत्रीय कार्यालयले दक्षिणपूर्वी देशमा पनि यसको जोखिम बढेकाले सतर्कता अपनाउन चेतावनी दिएको हो।
ओमिक्रोमलाई 'भेरियन्ट अफ कन्सर्न' भनी डब्लुएचओले घोषणा गरेको छ। यो भेरियन्ट कतिसम्म घातक हुने भन्ने अध्ययनकै क्रममा रहेको बताइएको छ। अमेरिका, बेलायत, जर्मनी, क्यानडा, युरोपेली देश र भारतले उच्च सतर्कता अपनाउन सुरु गरेको छन्।
अफ्रिकी देशमा मिक्रोमको संक्रमण फैलिएसँगै युरोपेली सङ्घअन्तर्गतका राष्ट्रले सोमबारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकमा हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन्। अमेरिकाले पनि सोमबारबाट लागू हुनेगरी दक्षिण अफ्रिका महादेशका तोकिएका आठ वटा बाहेकका देशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ। त्यस्तै जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टिनमा राख्ने निर्णय गरेको छ।
भारतले पनि भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङसहितका देश/क्षेत्रबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ। त्यस्तै ब्राजिल, इरान, क्यानडा, थाइल्यान्डले पनि अफ्रिकी देशबाट आउने यात्रुालाई प्रतिवन्ध लगाइसकेको छ भने नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टिन राख्ने निर्णय गरेको छ।