बुटवल- नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँड निर्विरोध निर्वाचित भएका छन्। संस्थापन समूहका खाँडको सभापतिमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले बताए। उनी गृहमन्त्री बालकृष्ण खाँडका सहोदर भाइ हुन्। सभापतिमा निर्वाचित खाँड यसअघि जिल्ला सचिव थिए।
पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाँड झण्डै एकसाता रुपन्देहीमै रहेका थिए। क्षेत्रीय र प्रदेश सभा अधिवेशनका क्रममा आफ्नै क्षेत्रमा दुई पक्षबीच झडप भएर नेताहरु घाइते भएपछि गृहमन्त्रीको चर्को आलोचना भएको थियो।
प्रदेश र संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा उत्रेका थिए। झडपका घटना भएपछि जिल्लाको राजनीति मिलाउन आएका गृहमन्त्री खाँडले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य भरत शाह लगायतका पक्षसंग छलफल गरी निर्विरोध गराएका हुन्।
यस्तै उपसभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन्। अनिता भरत शाहकी श्रीमती हुन्। सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका छन। क्षेत्रिय अधिवेशनमा चरम गुटबन्दी भएपनि जिल्ला नेतृत्वमा भागबन्डाले सहमती गराएको हो।