काठमाडौं- शुक्रबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीबीच पाँच महिनापछि भेटको अवसर जुर्यो। र, त्यो अवसर जुराएको थियो- एमालेको १०औं राष्ट्रिय महाधिवेशनले। नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिन देउवा चितवन पुगेका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरी असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
प्रधानमन्त्रीको हैसियतमा एकअर्काको महाधिवेशनलाई शुभकामना
देउवा र ओलीले प्रधानमन्त्रीको हैसियतमा दुवै दलको महाधिवेशनमा शुभकामना दिने अवसर प्राप्त गरेका छन्। ओलीले कांग्रेसको १३औं महाधिवेशनमा प्रधानमन्त्रीको हैसियतमा शुभकामना दिएका थिए। २०७२ फागुन २० गते सुरु भएको कांग्रेसको १३औं महाधिवेशनमा ओलीले प्रधानमन्त्री र एमाले अध्यक्षकको हैसियतमा शुभकामना दिएका थिए। र, त्यसको सात वर्षपछि देउवाले प्रधानमन्त्री र कांग्रेस सभापतिको हैसियतमा एमालेको १०औं महाधिवेशनमा शुभकामना मन्तव्य दिएका छन्।
महाधिवेशन गर्ने 'पहिलो दल', शुभकामना दिने प्रधानमन्त्री
देउवा र ओलीका बीचमा अर्को एउटा संयोग पनि जुरेको छ। त्यो उनीहरू प्रधानमन्त्री हुँदाको दलीय हैसियत। १३औं महाधिवेशन गरिरहँदा कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल थियो। तर, त्यो बेला दोस्रो ठूलो दल एमालेका तर्फबाट ओली प्रधानमन्त्री बनेका थिए। सबैभन्दा ठूलो दल कांग्रेसको महाधिवेशनमा दोस्रो ठूलो दल एमालेबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्रीले शुभकामना दिएका थिए। अहिले पनि यस्तै संयोग जुरेको छ। अहिले सबैभन्दा ठूलो दल एमालेको १०औं महाधिवेशनमा दोस्रो ठूलो दल कांग्रेसबाट प्रधानमन्त्री बनेका देउवाले शुभकामना दिए।
सत्ता-प्रतिपक्षको लुकामारी
रोचक त यो छ कि कांग्रेसको १३औं महाधिवेशनको केही महिनाअघि मात्र ओलीले कांग्रेस नेतृत्वको सरकारलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका थिए। ओली २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए। र, फागुनमा भएको कांग्रेस महाधिवेशनमा शुभकामना दिएका थिए।
त्यसको सात वर्षपछि उस्तै संयोग जुर्न गएको छ। देउवा असार २९ गते ओलीलाई विस्थापित गरेर प्रधानमन्त्री बने। र, उनले मंसिर १० (शुक्रबार)मा सुरु भएको एमालेको महाधिवेशनमा शुभकामना दिए। त्यसो त २०७४ फागुनमा प्रधानमन्त्रीका रुपमा ओलीले देउवालाई रिप्लेस गरेका थिए र त्यसको साढे तीन वर्षपछि ओलीलाई देउवाले रिप्लेस गरेका छन्।
शुभकामनामा जिम्मेवार दलको खोजी
त्यसो त ओली र देउवाले एकअर्काको महाधिवेशनमा शुभकामना दिँदा एकै आशय व्यक्त गरेका छन्। जसरी सात वर्ष अघि ओलीले कांग्रेस महाधिवेशनमा ‘इमान र जमान’मा टिकेको कांग्रेसको अपेक्षा गरेका थिए, त्यसरी नै अहिले देउवाले एमालेलाई जिम्मेवार दलको रुपमा देख्न चाहेको बताएका छन्।
-1637931135.jpg?p=480X320&s=8935d36a2074ac6310f2402a8e29ce66)
कांग्रेस महाधिवेशनमा ओलीले इमान र जमानमा टिकेको कांग्रेस खोज्नुको पछाडि संविधान जारी भएपछि सरकार परिवर्तन हुने बेलाको पृष्ठभूमिसँग सम्बन्धित थियो। संविधान जारी हुनुअघि कांग्रेसका तत्कालीन सभापति कोइराला र ओलीबीच सत्ताहस्तान्तरणको जेन्टलमेन एग्रिमेन्ट भएको चर्चा थियो। तर, संविधान जारी भएपछि सहमति अनुसार कोइरालाले ओलीलाई सत्ता हस्तान्तरण गर्न मानेनन्। उल्टै प्रधानमन्त्रीका लागि ओलीसँग प्रतिस्पर्धामा उत्रिए। यद्यपि माओवादीको सहयोगमा ओली प्रधानमन्त्री बने र कोइराला पराजित बन्न पुगे।
त्यसैकारण ओलीले कांग्रेस महाधिवेशनमा भनेका थिए, ‘नेपाली कांग्रेस नेपाली जनताले सवल नेपाली कांग्रेस, पत्यारिलो नेपाली कांग्रेस, भरपर्दो नेपाली कांग्रेस, इमान–बचनमा अडेको नेपाली कांग्रेस हेर्न चाहेका छन्। म पनि त्यही अपेक्षा गर्दछु।’
एमालेको १०औं महाधिवेशनमा प्रधानमन्त्री देउवाले एमालेलाई जिम्मेवार दलको रुपमा हेर्न चाहेको बताएका छन्। खासगरी तत्कालीन वाम गठबन्धनले ल्याएको करिब दुई तिहाइको बहुमत र त्यसका प्रधानमन्त्री ओलीले मुलुक चलाउन असफल बनेको, संविधान मिच्न उद्यत बनेको र दुई पटक प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका थिए।
सत्तासीन दलबाट प्रमुख प्रतिपक्षीको भूमिकामा आएपछि पनि एमालले लगातार संसद बैठक अवरोध गर्दै आएको प्रति लक्षित गर्दै देउवाले एमालेलाई जिम्मेवार दलको रुपमा हेर्न चाहेको बताएका छन्। ‘हामी सबै मिलेर संविधान सभाबाट नयाँ संविधान ल्याएका छौं। यसलाई संस्थागत गरी बलियो बनाउने जिम्मेवारी पनि नेपालका सबै राजनीतिक दलहरुमा छ,’ देउवाले भनेका छन्, ‘नयाँ संविधान मार्फत लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेवार राजनीतिक दलकोरुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह गर्न चाहन्छु।’
यस्तो छ, एमाले महाधिवेशनमा देउवाले दिएको मन्तव्य
नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उचारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं। हामी सबै मिलेर संविधान सभाबाट नयाँ संविधान ल्याएका छौं। यसलाई संस्थागत गरी बलियो बनाउने जिम्मेवारी पनि नेपालका सबै राजनीतिक दलहरुमा छ।
देश र जनतासँग जोडिएका मुल मुद्दाहरुमा समान धारणा निर्माण गर्न हामीबीच निरन्तर संवाद सहकार्य आवश्यक छ। हामी बीच नीतिगत रूपमा रहेका विमतिहरुलाई संविधान मार्फत निर्माण गरेका विधि मार्फत टुंगो लगाउने र सबैले स्वीकार गर्ने पद्धति निर्माण गर्नुपर्छ। नेपाली कांग्रेस यिनै मूल्य र मान्यता प्रति प्रतिबद्ध छ। हामी सबै समस्याको समधान संवाद मार्फत निकाल्न चाहन्छौं। ओलीजीलगायत धेरै कम्युनिस्ट साथीहरु र म पनि जेलका साथी हौं। जेलमा हामी 'जेलमेट' पनि हौं।
यी सबै कुराहरु हामीले भोगेका हौं। हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यानमा राखेर भोलि दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस् भनेर त्यस्तो परिस्थिती आउन दिन हुँदैन। मेरो नेतृत्वको सरकार यीनै मूल्य मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।
मुलुक कोरोना महामारीको चपेटामा परेका बेला सबै नागरिकलाई खोप पुर्याउनु हाम्रो प्रमुख दायित्व थियो। सबैको सहयोगले सरकारले यो लक्ष्य हाँसिल गर्दैछ। नागरिकको जीवन रक्षागर्ने यो महान कार्यमा सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकहरु, विभिन्न दातृराष्ट्र प्राप्त सहयोगका लागि म हार्दिक सह्रना गर्दछु।
कोरोना भाइरसको संक्रमण अहिले न्यूनीकरण भएको छ। आर्थिक अवस्था सामान्य हुँदैछ। लोकतान्त्रिक संविधानको मर्म र भावना अनुसार देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न म र मेरो पार्टी कटिबद्ध छ। मैले नेतृत्व गरेको वर्तमान सरकार यिनै मान्यताका आधारमा चल्ने विश्वास दिलाउन चाहन्छु।
संसदमा प्रतिनिधित्व गर्ने र संसद बाहिर रहेका दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा अघि बढ्न प्रतिबद्ध छु। नेकपा एमालेको दशौं अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
यस्तो थियो, कांग्रेसको १३औं महाधिवेशनमा ओली दिएको मन्तव्य
सबैलाई थाहा छ, नेपाली कांग्रेसले नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा धेरै महत्वपूर्ण र असाधारण योगदान गरेको छ। नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आजको आधुनिक युगसम्म ल्याउन नेपाली कांग्रेसले धेरै मेहनत गरेको छ, पसिना बगाएको छ। धेरै जुक्ति खियाएको छ, धेरै बलिदान गरेको छ।
-1637928431.jpg?p=1200&s=cf122f13bdd8781bf6fcb4773b24127c)
धेरैले यस लोकतन्त्र प्राप्तिको आन्दोलनमा जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने असाधरण योगदान गर्नुभएको छ। जीवनको आहुति गर्नुभएको छ। नेपाली कांग्रेसको महाधिवेशन एउटा कर्मकाण्ड र संवैधानिक प्रक्रिया मात्र हुँनुहुँदैन। नेपाली कांग्रेसको काँधमा जिम्मेवारी छ। त्यस जिम्मेवारीलाई वहन गर्न सक्ने गरी नेपाली कांग्रेसले नीतिगतरुपमा, व्यवहारिकरुपमा र नेतृत्वगत हिसाबले पनि यसले महाधिवेशनबाट आफूलाई तयार गर्न सक्नेछ भन्ने मैले विश्वास लिएको छु।
यहाँहरुलाई थाहा छ, म र मेरो पार्टी नेपाली कांग्रेससँग लोकतन्त्रलाई सफल बनाउन, सुरक्षित गर्न, संस्थागत गर्न र अघि बढाउनका निम्ति सहकार्यका साथ अघि बढ्ने नीतिमा धेरै अघि देखि नै सँगै रहेका छौं। अहिले पनि म भन्न चाहान्छु लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा राष्ट्रियताको हक हित र संवद्र्धन गर्ने कुरामा विकास निर्माणलाई अघि बढाउने प्रश्नमा राष्ट्रिय एकता कायम गर्ने प्रश्नमा नेकपा एमाले सबै शक्तिहरुसँग मिलेर काम गर्न चाहन्छ।
देश एउटा लामो इतिहास बोकेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट नेपाली जनताले सझुबुझपूर्ण र सकारात्मक भूमिकाको अपेक्षा गरेका छन्। जुन अपेक्षा म पनि गर्न चाहन्छु।
हामीले एउटा राजनीतिक आन्दोलन र अभियान एक ढंगले समाप्त गरेका छौं। अब जनताका हक/अधिकार संविधान मार्फत लोकतान्त्रिक संविधान मार्फत संस्थागत गरिएका छन् र सदृढ गरिएका छन्। हामी अब आर्थिक उन्नतीको नयाँ चरणमा प्रवेश गरेका छौं। आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरिरहँदा हामीले विगतका शैली र तकिारलाई परिवर्तन गर्नुपर्छ।
आर्थिक उन्नतिको दिशामा सिंगै देशलाई नेतृत्व गर्न नेपालका सबै राजनीतिक दलहरु लाग्नुपर्छ। त्यसमा पनि एमाले नेपाली कांग्रेस जस्ता पार्टीहरु लाग्नुपर्छ। कांग्रेसको १३औं महाधिवेशनमा त्यस उचाईबाट निर्णय गर्न सकोस भन्ने शुभकामना दिन चाहन्छु।
नेपाल हिमाल पहाड र तराईको देश हो। नेपाल १२५ जातजाति, १२३ भन्दा धेरै भाषाभाषीहरु, पूर्व देखि पश्चिम विभिन्न पेशा व्यवसाय, विभिन्न संस्कृति अपनाएको देश हो। यो देशमा हामीले सबै जाति, भाषा, सबै क्षेत्र र पेशाका जनतालाई सम्मान गर्ने, सबैको उथ्थानका लागि का मगर्ने काम मिलेर गर्न जरुरी छ। यतापट्टि यस महाधिवेशनको गम्भीरतापूर्वक ध्यान जानेछ भन्ने मैले ठानेको छु। अन्त्यमा म सबै महानुभावहरुलाई शुभकामना भन्न चाहान्छु। नेपाली कांग्रेस नेपाली जनताले सवल नेपाली कांग्रेस, पत्यारिलो नेपाली कांग्रेस, भरपर्दो नेपाली कांग्रेस, इमान–बचनमा अडेको नेपाली कांग्रेस हेर्न चाहेका छन्। म पनि त्यही अपेक्षा गर्दछु।