काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन उपत्यकामा शुक्रबार र शनिबार मतदान हुँदैछ। काठमाडौं उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान भइसकेको छ भने धुलिखेल र काठमाडौं उपत्यकामा मतदान हुँदैछ।
निर्वाचन समितिका अनुसार शुक्रबार धुलिखेलको स्कील ल्याब भवनमा मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र शुक्रबार र शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुनेछ।
काउन्सिलको निर्वाचनमा एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा. रामपरिक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।
यसअघि ३ र ४ गते उपत्यका बाहिर १८ स्थानमा भएको मतदानमा पाँच हजार मत खसेको छ।