दाङ- दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्। पाण्डेले ४२२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गरे।
क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गरे। सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी हुनुभयो। त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भए।
क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरे। यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरे।
सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित भएका छन्।