काठमाडौं– राजनीतिक दलका कार्यसमिति, क्षत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायतका पदमा रहेका शिक्षकहरूमाथि कारबाही गर्न वैकल्पिक युवा संगठनले अभियान चलाएको छ। पहिलो चरणमा दलमा सक्रिय शिक्षकको नामावली संकलन गरी निर्वाचन आयोगमा बुझाउने योजना रहेको अभियानका संयोजक शिशिर बन्जाराले जानकारी दिए।
उनले भने, ‘कक्षाकोठामा गएर विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक राजनीतिमा सक्रिय हुँदा त्यसले पढाइमा नकारात्मक असर गर्ने र शिक्षकको पेसा अमर्यादित बन्न सक्ने भएकाले त्यसलाई रोक्न अभियान सञ्चालन गरिएको हो।’ संगठनले राजनीतिक दलमा आबद्ध शिक्षकको नाम प्रमाणसहित निर्वाचन आयोगमा बुझाउनेछ। बन्जाराले भने, ‘त्यसरी बुझाइएको नामावलीका आधारमा राजनीतिमा संलग्न शिक्षकमाथि कारबाही गर्न सम्बन्धित राजनीतिक दललाई दबाब दिनेछौं।’
सरकारी विद्यालयमा कार्यरत शिक्षकमाथि कक्षा छाडेर पाटी गतिविधिमा सक्रिय रहेको भन्दै विगत लामो समयदेखि आलोचना हुँदै आएको छ। यस्तै दुर्गम भेगका विद्यालयका शिक्षक त राजनीतिक दलका प्रमुख कार्यकर्ता बन्ने गरेका छन्। उता सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको प्रणाली नै कमजोर बन्छ भनेपछि सर्वत्र विरोध भइरहेको छ।
राजनीतिक सम्बन्धी ऐन २०७३ को दफा १४ (२) र ५७(१) बमोजिम कुनै पनि यस्ता शिक्षक वा कर्मचारी दलको सदस्य बन्न मिल्दैन। दलले सदस्य बनाउन मिल्दैन।
यस्तो छ संगठनको अभियान