बुटवल- रुपन्देहीको क्षेत्र नम्बर २ को मतगणनास्थलमै महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार)माथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ। रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो।
घाइते केसीकाे टाउकाे र मुखमा गहिराे चाेट लागेकाले थप उपचारका लागि काठमाडाैं लैजाने तयारी गरिएको कांग्रेस बुटवल उपमहानगरका उपसभापति ज्याेति भण्डारीले जानकारी दिए। उनका अनुसार मुखकाे भित्री भागमा चाेट लागेकाले काठमाडौंको ग्रान्डी अस्पताल लैजान लागिएकाे हाे।
केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएपछि देउवा पक्षले आक्रमण गरेको हो।
यसअघि रुपन्देही क्षेत्र न ३ भैरहवामा पनि क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्थमाथि आक्रमण भएको थियो। उनलाई पनि देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ। रुपन्देही वर्तमान गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला हो।