शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, दुई सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, दुई सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी

कोरोना संक्रमणमा कमी आएसँगै वैदेशिक रोजगारीका लागि विदेसिनेको संख्या बढेको छ। दैनिक ४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहचल पुग्ने गरेका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- कोरोना संक्रमणमा कमी आएसँगै वैदेशिक रोजगारीका लागि विदेसिनेको संख्या बढेको छ। दैनिक ४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहचल पुग्ने गरेका छन्। तर श्रम कार्यालयको भिड थेग्न नसकेपछि दुई सिफ्टमा श्रम स्वीकृति दिने तयारी थालिएको  छ। 

National life

पछिल्लो समय सेवाग्राहीको भिड बढेको तर श्रम कार्यालयले अधिकतम १५ सय जनालाई मात्र श्रम स्वीकृति गराउन थालेपछि सेवाग्राहीले गुनासो बढेको थियो। सेवाग्राहीको भीड र गुनासो बढेपछि श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार कार्यालय ताहचल दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको छ। 

आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन, चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न  र दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन मन्त्रालयले कार्यालयलाई निर्देशन दिएको हो। 

मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले दुई सिफ्टमा कार्यालय सञ्चालनको तयारी सुरु गरेको छ। कार्यालयका निर्देशक राजन उप्रेतीका अनुसार अहिले कार्यालयमा आवश्यक पूर्वाधार मिलाउने काम भइरहेको छ। 

'मन्त्रालयबाट कार्यालयमा निर्देशन आएको छ। हामी सोहीअनुसार तयारी गरिरहेका छौँ। यदि एक सिफ्टमा सेवा दिन नसकिए दुई सिफ्टमै कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘हिजो मात्रै मन्त्रालयले निर्णय गरी पठाएको छ। हामी उपकरण र स्थान व्यवस्थापन गर्दैछौँ। अब धेरै समय नलाग्ला। भिड पनि व्यवस्थित हुँदै जान्छ।’ 

Laxmi sunrise bank
kumari

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गएको मंसिर १ गते वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरेका थिए। सेवाग्राहीको लामो भीड देखेपछि र सेवाग्राहीको गुनासो सुनेपछि मन्त्रीले कार्यालयको काम दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका हुन्। 

पछिल्लो २ महिनायता वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति गराउनेहरुको संख्या ह्वात्तै बढेको छ। एकै दिनमा १५ सयदेखि २ हजारसम्मले श्रम स्वीकृति गराउने गरेका छन्। भौतिक उपस्थितिमै श्रम स्वीकृति गराउन कार्यालयमा हरेक दिन करिब ४ हजारको संख्यामा युवाको भीड लाग्ने गरेको छ। 

कात्तिकमा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ५० हजार ६ सय २३ पुरुष र ४ हजार २ सय ९५ महिला गरी ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन्। यीमध्ये ३० हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ। सरकारले रोजगारीको लागि ८४ देशमा रोजगारीका लागि जान स्वीकृति दिएको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ। कात्तिकमा कतारको लागि मात्रै १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै १३ हजार ५५० जनाले रोजगारीको लागि यूएई रोजेका छन्।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन्। ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन्। यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Nov 23, 2021| 19:41 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्