काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचनको लागि दुई उम्मेद्धारले डाटा चोरी गरी एसएमएस पठाइएको विषय विवादित बनेपछि नेपाल मेडिकल काउन्सिलले आफूसँग भएको डाटा कतै पनि सेयर नभएको स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्तो बताएको हो।
निर्वाचनमा दुई उम्मेदवारले डाटा दुरुपयोग (चोरी) गरेर भोट मागेको आरोप लागेको थियो। उम्मेद्धारद्वय डा. कालुसिंह खत्री र डा. तोशिमा कार्कीले काउन्सिलको गोप्य डाटा दुरूपयोग गरी चिकित्सकहरुलाई भोट मागेको आरोप लागेको थियो। यस्तो आरोप लागेपछि काउन्सिले मंसिर ४ गते नै बैठक बोलाएको थियो।
विगतमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको ३७८८८ नम्बरको फोन म्यासेज सेवा लिएको र म्यासेज प्रवाह गरेको थियो। तर त्यसबाट डाटा चोरी हुने सम्भावना नभएको काउन्सिलको दाबी छ।
काउन्सिलका रजिष्टार कृष्णप्रसाद अधिकारीले अनुसार दर्तावाल चिकित्सकहरुका कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्णरूपमा गोप्य रहेको बताए। फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको काउन्सिलले जनाएको छ।
मेडिकल काउन्सिलको निर्वाचन उपत्यका बाहिर मंसिर ४ र ५ गते सम्पन्न भइसकेको छ भने उपत्यकामा मंसिर १० र ११ गते हुँदैछ।