बुटवल- रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। निर्वाचन क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएको हो। विवादका कारण निर्वाचन क्षेत्र न. ३ मा निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए।
यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतरबीच विवाद भएपछि प्रतिनिधिसभाका उम्मेदवार शैलैश पन्त घाइते भएका थिए। यही घटनाले विवाद हुँदा सोमबारका लागि निर्धारण गरिएको निर्वाचन तालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेको हो।
सोमबार सम्पन्न अधिवेशनबाट रुपन्देही-५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए।
त्यसैगरी रुपन्देहीको क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।
रुपन्देही-४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। यादवको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घिमिरेले बताए। उनका अनुसार निर्वाचन क्षेत्र न. १ र २ मा मतदान जारी छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन्। यसका लागि देवदहमा मतदान जारी छ।
रुपन्देही-२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। रुपन्देहीबाट प्रतिनिधित्व गर्ने कांग्रेसका अधिकांश प्रदेशसभा सदस्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि लिएर लुम्बिनी प्रदेश सरकारमा सामेल कांग्रेसका मन्त्रीहरु पनि निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेदवार बनेका छन्।
कांग्रेसका प्रदेशसभा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका वसिउद्दीन खाँ र सांसद अष्टभुजा पाठक, प्रदेशसभा सदस्य फकरुद्दीन खाँ, रमा अर्याल, पुष्पा थरुनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन्।