काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक उच्च रुपमा बढेको छ । बजार ३.०३ प्रतिशतले बढ्दा नेप्से ३६.०१ अंक बढेर १,२२४.४१ बिन्दुमा पुगेको हो । बुधबार २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँको कारोबार हुदा नेप्से ८ अंकले बढेको थियो।
बिहीबार शेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन्। जसमा १२ लाख १३ हजार ६ सय ७४ कित्ता शेयर किनबेच हुँदा ४६ करोड ७२ लाख ६४ हजार ७ सय ५ रुपैंयाँ बराबरको कारोबार भएको छ। सूचकसँगै खरिदबिक्री पनि बढेको छ। निरन्तर घटेको बजार आर्थिक वर्षको अन्ततिर उकालो चढेको हो।
नेप्सेमा आज उत्पादन मुलक समुहको बाहेक सबै ९ समुह हरियो भएको छ। जसमा सबैभन्दा बढी बीमा समूह ३२२.४३ अंकले बढेको छ। त्यसपछि माईक्रोफाइनान्स ८५.९, होटल ५८.६, जलविद्युत ५२.०२, विकास बैंक ३७.२८, बैंक २६.७७, बित्तीय ८.७८, अन्य ८.४८ अंकले बढेका छन्। यद्यपि उत्पादनमूलक समूह ३७.३४ अंकले घटेको छ।
यूनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् भने राइर्याङ हाईड्रो प्रोजेक्टका लगानीकताले ७.६२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्।
आर्थिक वर्षको अन्त्यतिर ऋण तथा व्याज तिर्ने प्रेसर हुने भएकोले सेयर धितोको मूल्याकंन बढाउन र मार्जिन कलको त्रास थोरै भए पनि घटाउनका लागि यो वृद्धिले लगानीकर्तालार्इ राहत दिलाएको छ । यो बेला सामूहिक लगानी कोषलाई म्युचुअल फन्डहरुको प्रतिइकाई खुद मूल्य सुधार्ने बाध्यता हुन्छ।
मौद्रिक नीतिले सेयर बजारलार्इ राहत दिने आशमा रहेका लगानीकर्ताहरुको सक्रियताले पनि सेयर बजार सुधारिएको लगानीकर्ताहरु बताउँछन्। साउन लागेपछि सूचीकृत कम्पनीहरुको वर्षभरिको कमाईको तथ्याकं बाहिर आउनेछ। यसले पनि बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। बैंक ब्याजदर पनि अझै घट्ने विश्वासले पनि सेयर बजारलार्इ सकारात्मक प्रभाव पार्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४