शनिबार, वैशाख २७, २०८२

एमाले महासचिवमा कसलाई रोज्लान् ओलीले?

एमाले अध्यक्षमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदासम्म महासचिव म बन्छु भनेर कोही मैदानमा उत्रिएका छैनन्। त्यसैले ओलीले रुचाएकै नेता महासचिव बन्ने पक्का छ।
 |  बिहीबार, मंसिर २, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

बिहीबार, मंसिर २, २०७८

vianetvianet

एमाले अध्यक्षमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदासम्म महासचिव म बन्छु भनेर कोही मैदानमा उत्रिएका छैनन्। त्यसैले ओलीले रुचाएकै नेता महासचिव बन्ने पक्का छ।

triton college

एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा अबको पार्टी नेतृत्व कस्तो होला भन्ने चासो सर्वत्र देखिएको छ। महाधिवेशन नजिकै आए पनि नेतृत्वबारे नेताहरुले मुख खोल्न सकेका छैनन्। यद्यपि अध्यक्ष पदमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। हुन त नेता भीम रावलले केही दिनअघि सुदूरपश्चिम पुगेर आफू अध्यक्षमा लड्ने संकेत गरे पनि त्यसलाई औपचारिक रूपमा घोषणा गर्न सकेका छैनन्। अर्का नेता घनश्याम भुसालले बेलाबेलामा पार्टी निर्णयमा फरक मत दर्ज गर्ने गरे पनि ओलीसँग प्रतिस्पर्धा गर्ने संकेत देखिँदैन। 

२०७७ पुस ५ को प्रतिनिधिसभा विघटनदेखि राजनीतिक शक्ति र सत्ताबाट च्यूत भए पनि ओली पार्टीभित्र शक्तिशाली बनेका छन। ओलीलाई काउन्टर दिन सक्ने माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु अलग भएका छन। अध्यक्षमा ओलीको निर्विकल्पबारे १० बुँदे सहमति गरेका (१० भाइ) अधिकांशले स्वीकार गरिसकेका छन्। देशैभर छनोट भएका प्रतिनिधि पनि अधिकांश ओली पक्षमै छन्। त्यसैले सबैको आशा र भरोसाको केन्द्र अध्यक्ष ओली नै देखिएका छन् अहिलेसम्म। अब ओलीले आफ्नो रथ अघि बढाउन कस्ता सारथी रोज्छन्? त्योचाहिँ पर्खाइको विषय छ। 

अन्य पदाधिकारीमा पनि आकांक्षी देखिएका छैनन्। त्यसैले नेताहरु  आफ्नो आकांक्षाभन्दा पनि अध्यक्ष ओलीले कसलाई कुन पदमा लैजान्छन्, त्यसैलाई स्वीकार गर्ने मानसिकतामा रहेको देखिन्छ।  संसद् विघटनदेखि सत्ता बहिर्गमनसम्मको अवधिमा ओलीसँग कोको नजिक भए, तिनैले यस पटक स्थान पाउने लगभग पक्का छ। त्यसमा पनि निकै महत्त्वपूर्ण पद महासचिव को बन्ला त? 

यस कारण बलिया प्रतिस्पर्धा देखिएका छन् विष्णु र शंकर

National life insurance

विष्णु पौडेल र शंकर पोखरेल केपी ओलीसँग निकट नेता हुन्। त्यसैले अहिले दुवै नेता ओलीको उत्तराधिकारी बन्ने होडमा छन्। यद्यपि सभामुख हुँदा संसद् विघटनको विपक्षमा उभिएका सुुवास नेम्बाङ पनि ओलीकै उत्तराधिकारीका रुपमा उभिन खोजेका छन। तर नेम्बाङले महासचिव पद खोजेका छैनन्। नेम्बाङले ओलीपछिको दोस्रो वा तेस्रो वरीयतामा रहने चाहना व्यक्त गरेको उनी निकट नेताहरू बताउँछन्। त्यसैले महासचिव बन्ने लबिङमा छन् विष्णु र शंकर।

ओलीसँग यी दुईमध्ये को नजिक छ भन्न कठिन रहेको नेताहरु बताउँछन्। कामको प्रकृति र अवस्थाअनुसार ओलीले कहिले विष्णु त कहिले शंकरको साथ लिँदै आएका छन्।

राजनीतिक दस्तावेज, दृष्टिकोण निर्माणका बेला ओलीले पोखरेलको साथ खोज्ने गरेका छन्। संगठन निर्माण र संक्रमणकालीन अवस्थामा भने ओलीले पौडेलबाट सहयोग पाउने गरेको नेताहरूको बुझाइ छ। त्यति मात्रै होइन पौडेल हरेक अप्ठ्यारोमा ओलीको रक्षक बनेर उभिँदै आएका छन्। तत्त्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेलदेखि पार्टी एकतासम्म पौडेलले नै निर्णायक भूमिका निर्वाह गरेका थिए। सबै पक्षलाई मिलाएर लैजान सक्ने, संगठन निर्माणमा सशक्त मानिने पौडेल ओलीको रोजाइमा पर्न सक्ने विश्लेषणसमेत भइरहेको छ। 

यद्यपि घटनाक्रमले मात्रै विष्णुु नै महासचिवका रुपमा आउँछन् भन्ने आधार भेटिँदैन। किनकि एमालेको प्रथम विधान महाधिवेशनका बेला गत असोज १५ गते राजनीतिक प्रतिवेदन वाचन गर्दै गर्दा रुघाखोकीले असहज भएको भन्दै ओलीले बाँकी अंश वाचन गर्न शंकर पोखरेललाई जिम्मा दिए। ओलीले आफ्नो उत्तराधिकारी शंकरलाई नै बनाउन खोजेको चर्चा एमालेवृत्तमा त्यतिबेलैदेखि छ।

त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै बसेका छन्। महाधिवेशन नजिक आउँदै गर्दा अध्यक्ष ओलीसँग सँगै देश दौडाहामा समेत पोखरेलले साथ दिइरहेका छन्। एमाले नेताहरुका अनुसार ओलीसँग शंकर विचारमा मात्रै होइन भौतिक रुपमा समेत सँगसँगै छन्। पोखरेल मुख्यमन्त्रीका रुपमा लुम्बिनीमा रहँदा पनि केन्द्रीय राजनीतिमै व्यस्त रहन्थे। मुख्यमन्त्री हुँदा केन्द्रीय राजनीतिबाट अलग हुने भय पोखरेलमा देखिन्थ्यो। 

‘पार्टी विभाजनपछिको असहज अवस्थामा आएको छ, त्यसैले संगठन निर्माणमा कुशल, कार्यकर्ताको मनोभावना बुुझ्ने र सबै पक्षलाई मिलाउन सक्ने नेता भएकाले महासचिव विष्णु पौडेल नै हुनुहुन्छ भन्ने लाग्छ।’,

पार्टी एकतामा निर्णायक अनि शक्तिशाली कम्युनिस्ट पार्टीका महासचिव भइसकेकाले त्यसलाई कायम राख्न पनि विष्णु महासचिव नै हुन चाहेको उनी निकट नेताहरु बताउँछन्। ‘पार्टी विभाजनपछिको असहज अवस्थामा आएको छ, त्यसैले संगठन निर्माणमा कुशल, कार्यकर्ताको मनोभावना बुुझ्ने र सबै पक्षलाई मिलाउन सक्ने नेता भएकाले महासचिव विष्णु पौडेल नै हुनुहुन्छ भन्ने लाग्छ’, एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी भन्छन्। शंकर पाखेरल र विष्णु पौडेलले एउटै पदमा दाबी गर्न नहुने उनको सुझाव छ। 

शंकर नवौं अधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। ओली पक्षबाटै उठेका विष्णु विजयी भए। माधव नेपाल पक्षबाट उठेका घनश्याम भुसाल उपमहासचिवमा विजयी भए। पौडेलले पार्टी विभाजनमा समेत आफ्नो गृहजिल्ला रुपन्देही र साविक लुम्बिनी अञ्चलमा ठूूलो क्षति हुन दिएनन्। तर, पोखरेलमाथि गृहजिल्लाका नेतासमेत जोगाउन नसकेको आरोप छ। कार्यकर्तामाझ भिज्न र रिझाउन सक्ने स्वभाव पौडेलको छ। पोखरेल सिद्धान्त र आदर्शलाई अघि सार्ने तर, कार्यकर्ताको मनोभावना बुुझ्न नसक्ने उनी निकटकै नेताहरु बताउँछन्।

सुरेन्द्रको दाबी स्वाभाविक

नवौं महाधिवेशनमा निकै थोरै मतान्तरले महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका थिए सुरेन्द्र पाण्डे। संसद् विघटन गर्दा प्रचण्ड–माधव पक्षमा लागेर पाण्डेले ओलीको कडा आलोचना गरेका थिए। तर, संसद् पुनर्स्थापना भएपछि पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, विभाजन गर्नु हुँदैन भनेर उनी एमालेमै रहे। ओलीसँग १० बुँदे सहमति गरेर पार्टी बचाएको पाण्डेसहितका नेताहरुको तर्क हुन्छ।

अहिले संस्थापन र त्यसको इतर भन्ने पक्ष नभए पनि ओलीले एकताको महाधिवेशन पुष्टि गर्न १० बुँदे सहमति गरेका नेता र माओवादी पृष्ठभूमिका नेताहरुलाई सम्मानजनक रुपमा मिलाउनुपर्ने हुन्छ। त्यसैले पार्टी एकताको सन्देश दिन पाण्डेलाई ओलीले रोज्न सक्ने आंकलन पनि भइरहेको छ। तुलनात्मक रुपमा पाण्डे विष्णु र शंकरभन्दा वैचारिक रुपमा स्पष्ट नेताका रुपमा चिनिन्छन्। एमाले विभाजन रोक्न अन्तिम क्षणमा ओलीलाई साथ दिएकाले पाण्डेलाई गुन तिर्न महासचिव उपमहार दिन सक्ने अनुमान पनि धेरैको छ। 

चितवनमा महाधिवेशन भएकाले पाण्डेलाई महासचिवको दाबी गर्न थप सहज पनि छ। अर्कोतर्फ नवौं महाधिवेशनमा नेपाल समूहबाट पराजित भएकाले यो पटक सर्वसम्मत नेतृत्वको सन्देश दिन पनि पाण्डेको नाम आउन सक्ने विश्लेषण भइरहेको छ।

विष्णुु पौडेल, शंकर पोखरेल र सुुरेन्द्र पाण्डेमध्ये को महासचिव हुन्छन् त्यो अहिल्यै केही भन्न सकिँदैन। तर, ओलीले आफ्नो पक्षमै रहेका नेतालाई महासचिव बनाउने एमालेका एक नेताले बताए। ‘अन्य पदमा माओवादी र एमालेकै १० भाइलाई व्यवस्थापन गरे पनि महासचिवमा आफ्नै पकडको व्यक्ति आउँछन्’,  ती नेताले भने। उनका अनुसार विष्णु र शंकरमध्ये एक जना महासचिव हुन सक्छन्।

गुटको आधारमा क्रेनले तान्न थाले, त्यसले एमालेलाई क्षति हुन्छ : उपाध्यक्ष युवराज ज्ञवाली

संसद् विघटनपछि अध्यक्ष ओलीको चर्को आलोचना गर्ने एमालेका उपाध्यक्ष युवराज ज्ञवाली एमाले अहिले विशिष्ट स्थितिमा रहेको बताउँछन्। उनी भन्छन्, ‘महाधिवेशनले पार्टी एकता मजबुद बनाउनुपर्छ। त्यसैले वरिष्ठको सम्मान गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ।’ 

उनका अनुसार न्यूनतम रुपमा सबैको चित्त बुुझ्दो सर्वसम्मत हुनुर्छ। उपाध्यक्ष ज्ञवालीले, ‘फेरि पनि गुटबन्दी गरेर कसैलाई क्रेनले तानेर नेतृत्वमा ल्याएमा एमाले कमजोर हुन्छ।’ उनले एमाले पाँच दलीय गठबन्धनसँग चुनावमा भिड्नुपर्ने भएकाले महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

उनले अध्यक्ष ओलीले संसद विघटन गर्दा त्यसको विरोधमा रहेको बताउँदै अहिले पार्टी बचाउनका लागि होमिएको बताए। ‘जहाँसम्म नेतृत्व सर्वसम्मत हुन्छ, कसैलाई काखा र पाखा नगरी व्यक्तिगत स्वार्थ त्यागेर अघि बढ्दा सबैको हित हुन्छ’ उनले भने। 

१० बुँदे कार्यान्वयनमा तपाईंहरु किन मौन ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘को कति बोल्यो, त्यो अर्के पाटो हो, अहिले हामी एमाले एकताबद्ध बनाउन लागिपरेका हौं।’ उनले योग्यता, क्षमता र योगदानका आधारमा नेतृत्व चयन गर्दा त्यसले एमाले एकताबद्ध बनाउने बताए। 

प्रकाशित: Nov 18, 2021| 13:10 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...