बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • चन्द्रबहादुर शाही : एमालेमा सधैं तिरस्कृत, समाजवादीमा अवसरै–अवसर!

चन्द्रबहादुर शाही : एमालेमा सधैं तिरस्कृत, समाजवादीमा अवसरै–अवसर!

३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन।
 |  बुधबार, मंसिर १, २०७८

देव राना

देव राना

बुधबार, मंसिर १, २०७८

सुर्खेत– मुगु प्रदेशसभा (ख) बाट निर्वाचित सांसद चन्द्रबहादुर शाही मंगलबार कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी बनेका छन्। सक्रिय राजनीति सुरु गरेको साढे तीन दशकपछि उनी पहिलोपटक मन्त्री बन्नेका हुन्। उनी मुगुबाट प्रदेशमा मन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन्। शाही तिनै व्यक्ति हुन् जसले एमालेका लागि जीवनभर योगदान गरे र तर एमाले छोडेकै कारण मन्त्री बने।

triton college

२२ वर्षकै उमेरमा राजनीतिमा होमिएका उनले एमालेमा धेरै योगदान गरे। राजनीति लागेर शिक्षण पेसा छोडे। विभिन्न आन्दोलनमा गरी एक वर्षभन्दा बढी समय जेल बसे।

मुगुका एमाले संस्थापक उनले संकटपूर्ण अवस्थामा पार्टीको नेतृत्व गरे। १७ वर्षसम्म त जिल्लाको नेतृत्व लिए। बहुदल, पञ्चायत हुँदै माओवादी विद्रोहमा पार्टीलाई जोगाए। साविक कर्णाली अञ्चल कमिटी हुँदै एमाले केन्द्रीय सदस्य भएर काम गरे। जीवनको ऊर्जाशील उमेर एमालेका लागि खर्चिए।

३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन। 

दुर्भाग्य! ३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन। बरु संघीयतासँगै कर्णाली अञ्चलबाट प्राप्त गर्न सकिने पदमा छेकबार लाग्यो। संघीयताले अञ्चल संरचना मात्रै भत्किएन, उनले कर्णाली अञ्चलबाट केन्द्रीय कमिटीमा प्राप्त गर्ने पद असुरक्षित बने।

उसो त प्रादेशिक संरचनापछि पनि चन्द्रबहादुर लाभका पदमा पुग्छन् र राजनीतिमा स्थापित भइरहन्छन् भन्ने धेरैको अपेक्षा थियो। किनकि साबिक कर्णाली अञ्चलमा उनीजत्तिकै पार्टीमा योगदान गर्ने व्यक्ति थिएनन्। त्यसै पनि प्रदेशमा लाभका धेरै पद थिए। संसदीय दल, संसदीय समिति र मन्त्रीजस्ता थुप्रै पदका लागि उनी योग्य थिए। 

corrent noodles
Metro Mart

तत्कालीन नेकपा हुँदा उनी दुई तिहाई बहुमत भएको पार्टीको सांसद थिए। नेकपा विघटनपछि पनि सबैभन्दा ठूलो दलको सांसद थिए। एमालेका तत्कालीन चार सांसद (प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा) कारबाहीमा पर्नुअघि कर्णाली प्रदेशभामा एमालेको एकल बहुमत थियो।

समय उनको पक्षमा भएन। पहिलो पटक (२०७४ फागुन ६ गते) प्रदेशमा मन्त्रिपरिषद् गठन हुँदा उनी मन्त्री बन्न पाएनन्। ‘पार्टीले योगदानको कदर गरेको भए उहाँ (चन्द्र) पहिले नै मन्त्री हुने मान्छे हो’, एमालेकै एक सांसद भन्छन्, ‘एमालेमा हुँदा सुरुदेखि नै उहाँ गुटको सिकार हुनुभयो।’

पहिलो पटक मन्त्रिपरिषद् विस्तार हुँदा तत्कालीन एमालेको माधवकुमार नेपाल समूहले एउटा मात्रै मन्त्रालय पाउने भएपछि प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री बने। उनीभन्दा धेरै जुनियर व्यक्तिहरु मन्त्री बने। बिस्तारै प्रदेशसभाका समितिहरु गठन भए। संसदीय दलमा दलको नेताबाहेक प्रमुख सचेतक, सचेतक पदमा पनि उनी अटाएनन्।

पार्टीका प्रादेशिक संरचना गठन हुँदा पनि उनी निरन्तर गुटको सिकार भइरहे। संसद् र सरकारमा जस्तै प्रदेश कमिटीमा समेत एमालेले जिम्मेवारी दिएन। पद र पावरबाट उनी पाखा लाग्दै गए। 

अन्ततः इच्छा नहुँदानहुँदै पनि उनले ३६ वर्ष लामो योगदान गरेको पार्टी एमाले छोडिदिए। ‘जीवनभर योगदान गर्दा पनि एमालेले उनलाई अवसर दिएन। पार्टीले नै लाभका पदबाट पाखा लगायो’, मुगुका पूर्वजिविस उपसभापति एवम् उनका सहकर्मी दर्दबहादुर भाम भन्छन्, ‘एमाले छँदा योगदानको कदर भएन, उनको इमानदारीको फाइदा उठाउँदै आफ्नै साथीहरुले खुट्टा तान्ने काम गरे।’ 

एमालेका केही व्यक्तिहरुले भूमिकाविहीन बनाएर राजनीति नै सिध्याइदिन थालेपछि विकल्पका रुपमा समाजवादी रोजेका भाम बताउँछन्।

एमालेका केन्द्रीय सदस्य रहेका उनले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रोजे। एमाले छँदा उकुसमुकुस अवस्थामा बसेका शाहीलाई समाजवादी रोजेपछि भने अवसरै अवसरको ढोका खुलेको छ।

समाजवादी भएपछि उनले पोलिटब्युरो सदस्य, प्रदेश कमिटी सहसंयोजक, संसदीय दलको नेता हुँदै मन्त्रीको पद पाएका छन्। एमाले नछोडेको भए न उनी पोलिटब्युरो सदस्य बन्थे न त तत्काल मन्त्री बन्न पाउँथे। कर्णाली प्रदेशमा एमाले अहिले प्रमुख प्रतिपक्ष छ। 

मुगुमा एमाले हुर्काउन जीवनको ऊर्जाशील समय खर्चिएका उनलाई अहिले एमालेबाट नै खतरा छ।

मुगुमा समाजवादीलाई बलियो बनाउने र विवादरहित मन्त्री बनेर देखाउन ठूलो चुनौती उनलाई। आउँदो निर्वाचनमा अन्य दलसँग तालमेल नगरे मुगुमा समाजवादी जित्ने मुस्किल छ। मुगुमा एमाले हुर्काउन जीवनको ऊर्जाशील समय खर्चिएका उनलाई अहिले एमालेबाट नै खतरा छ। ‘हिजो एमालेको संस्थापक भए काम गर्नुभयो, पार्टीका लागि सबैथोक त्याग्नुभयो, अहिले जिल्लामा एमालेबाटै बढी खतरा छ’, भाम भन्छन्, ‘उहाँ (चन्द्र) जिल्लामा निकै लोकप्रिय र इमानदार नेता हो, तर समाजवादी भएपछि जनताले कसरी बुझ्छन् यसै भन्न सकिन्न।’ 

लोकप्रिय नेता भए पनि पहिलेको जस्तो जोसजाँगर अहिले छैन। उनलाई नयाँ पार्टीलाई स्थापित गर्न कठिन छ। पोस्ट कोभिडका कारण लामो समय थलिएका उनको स्वास्थ्य अवस्था पनि पहिले जस्तो मजबुत छैन।

उनले सम्हालेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय यसअघि पटक–पटक विवादमा तानिएको थियो। विभिन्न प्रकारका अनुदान रकममा घोटालाका प्रसंगसंसद र सडकमा धेरै पटक उठ्ने गरेको छ। २०२० साल जेठ २५ गते सोरु गाउँपालिका–१ नाथर्पु (जवलधारा टोल) मा बुवा मानबहादुर र आमा सुनतला शाहीबाट जन्मिएका शाही जिल्लामा स्पष्ट र इमानदार नेताका रुपमा चिनिन्छन्।

प्रकाशित: Nov 17, 2021| 10:19 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।