मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भुकम्पबाट प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट सेवा

भुकम्पबाट प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भुकम्पबाट अति प्रभावित चार जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा शुरु गरेको छ। उक्त सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो।
  
टेलिकमको अनुसार सेवाग्राहीले प्रभावित उक्त चार जिल्लाका विभिन्न स्थानहरुमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा, सेवा सञ्चालन भएको दुई  वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ। साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ। 

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएको थियो। नेपाल टेलिकमले जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको टेलिकमको प्रवत्ता प्रतिभा वैद्यले जनाए।   

ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार प्राधिकरणले २०७४ बैशाख २१ मा नेपाल टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न नेपाल टेलिकमलाई जिम्मेवारी दिएको थियो। 
  
टेलिकमको अनुसार भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका २०५ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइएको छ। समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयमा, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट, ७१ विद्यालय, काभ्रेपलाञ्चोकमा १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालयमा सेवा सञ्चालन हुनेछ। 

त्यस्तै नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट, ८० विद्यालयमा सेवा सञ्चालन गरिएको छ । रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको हो।
 
कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी-ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट समेत स्थापना गरिएको टेलिकमले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्