शनिबार, जेठ ५, २०८१

पौडेल-सिंह सम्बन्धको चिसोपन यसरी आयो सतहमा

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहबीचको सम्बन्धमा अङ्कुराएको चिसोपना आइतबारको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सतहमा प्रकट भयो। एक महिनाअघिसम्म एउटै समूह (संस्थापन इतर)मा सक्रिय यी दुई नेताको सम्बन्धमा आएको चिसोपनालाई सहतमा ल्याउन बैठकले मलजल गर्‍यो। 

triton college

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले महाधिवेशन, क्रियाशील सदस्यलगायत पार्टीका आन्तरिक समस्या र अदालतमा देखिएको विवादका बारेमा बोलेका थिए। तर, बैठकको अन्तिममा बोलेका सिंहले अन्य नेताले उठाएका विषयमा त बोले नै, सँगसँगै सत्तागठबन्धनले बनाएको राजनीतिक संयन्त्रका विषयमा पनि प्रश्न उठाए। जुन संयन्त्रको संयोजक उनै पौडेल छन्। 

‘अहिले गठबन्धनको नेतृत्व र सरकारको नेतृत्व तपाईं (देउवा)ले गरिरहनुभएको छ। तपाई आफैंले नेतृत्व गरिरहँदा राजनीतिक संयन्त्र किन बनाइयो? यसको औचित्य के हो? कम्युनिस्टहरूको दबाब र प्रभावमा परेर बनाउनुभएको हो?,’ सिंहले देउवालाई प्रश्न गरेका थिए।  

आइतबार बुढानीलकण्ठमा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरु। तस्बिर : रोसन सापकोटा

संयन्त्र गठनमाथि प्रश्न उठेपछि सिंहलाई रोक्दै देउवाले भनेका थिए, 'यो राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्रै बनाइएको हो क्या। ए बाबा! गठबन्धन बनाएर आम निर्वाचन लड्ने विषयमा कुरै भएको छैन।'

corrent noodles
Metro Mart
एक महिनाअघिसम्म एउटै समूह (संस्थापन इतर)मा सक्रिय यी दुई नेताको सम्बन्धमा आएको चिसोपनालाई सहतमा ल्याउन बैठकले मलजल गर्‍यो। 

सरसर्ति हेर्दा यो प्रश्न देउवामाथि गरिएको थियो। तर यसले प्रहार भने पौडेललाई गरेको छ। उच्चस्तरीय राजनीतिक संयन्त्र नाम दिएर गठबन्धन नेताहरू पौडेल संयोजकत्वको समितिमा छन्। सिंहले पौडेलमाथि प्रहार हुने गरी प्रश्न उठाउनु राजनीतिक रुपमा सामान्य विषय होइन। यसले पौडेल-सिंह सम्बन्धमा देखिएको चिसोपना मापन गरिदिएको छ। देउवा निवास बुढानीलकण्ठको गेट-२ भित्र गर्मागर्मी बहस चलिरहँदा बाहिर चलेको सिरेटोझैं पौडेल-सिंहको सम्बन्ध चिसिएको भन्ने विषयलाई सिंहको ‍प्रश्नले थप मलजल गरेको थियो। 

‘हिजोका दिनमा प्रकाशमान दाइले रामचन्द्र दाईलाई समूहको नेतृत्व मानिआउनुभएको थियो। तर, अहिले रामचन्द्र दाइमाथि सिंहले प्रश्न उठाउने अवस्था आइपर्नुले उहाँहरूबीचको सम्बन्धको चिसोपनाको मापन गर्छ,’ पौडेल-सिंहको सामीप्यमा रहेर राजनीति गरेका एक नेताले भने।

सिंहको प्रश्न र देउवाको जवाफपछि दबाबमा देखिएका पौडेल पत्रकारले सोधेको प्रश्नलाई छोटकरीमा उत्तर दिएर बूढानीलकण्ठबाट बाहिरिएका थिए। संयन्त्र त छोटो समयका लागि बनाइएको भनिएको छ। संयोजकको हैसियतमा भनिदिनुस् कि संयन्त्रको आयु कति हो? भन्ने प्रश्नमा पौडेलको जवाफ थियो, 'लामो न छोटो।'

‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारका रूपमा उभिन्छु,’ उनले भनेका थिए। 

त्यसो त सोमबार कांग्रेस काठमाडौं महानगर समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममार्फतले सिंहले १४औं महाधिवेशनमा सभापति लडेरै छाड्ने उद्घोष दोहोर्‍याए। ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारका रूपमा उभिन्छु,’ उनले भनेका थिए। 

प्रकाशमान सिंह। 

संस्थापन इतर समूहमा सभापतिका चार आकांक्षीमध्येका एक थिए- सिंह। तर, समूहमा देखिएको खटपटले उनी सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछि नफर्केने अवस्थामा पुगेका छन्। उनी निटकस्थहरु भन्छन्, ‘प्रस्तावक र समर्थक नै नपाए अर्कै कुरा। त्यो हुने भन्ने हुँदैन। त्यसैले अब उहाँ (सिंह) पछि फर्कनुहुन्न।’   

पहिल्यैदेखि खटपट 

सिंह कांग्रेसको पहिलो निर्वाचित महामन्त्री हुन्। १२औं महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भएका थिए। कांग्रेसको उपसभापतिसमेत भएका सिंह १३औं महाधिवेशनमा केन्द्रीय सदस्य लडे। पौडेल सभापति लडेर पराजित भएपनि बीपी पुत्र डा. शशांक कोइराला महामन्त्रीमा विजयी भए। सिंहले १३औं महाधिवेशनमा पौडेल र कोइरालाका लागि त्याग गरेको बताउँदै आएका छन्। र, १४औं महाधिवेशनमा सभापति लड्ने उद्घोष गरेका छन्। 

‘गणेशमान परिवारले सँधै त्याग गर्नुपर्ने? १३औं महाधिवेशनमा त्याग गरेको हुँ। यसपटक म सभापतिमा उठ्ने हो,’ सिंहले भन्दै आएका छन्।  

संसदीय दलको नेतामा देउवासँग पराजित भएपछि सिंहको भूमिका संसदीय दलमा कहिल्यै नखोजिएको सिंहनिकट नेताहरु बताउँछन्।

१३औं महाधिवेशनमा त्याग गरेको दाबी गर्ने सिंह खासगरी २०७४ फागुनमा भएको संसदीय दलको निर्वाचनदेखि नै पौडेलसँग रुष्ट थिए। संसदीय दलमा देउवाविरुद्ध चुनाव लड्दा महामन्त्री कोइरालाको भूमिकालाई दिएर सिंह रुष्ट बनेको उनी निकट एक नेताले बताए। ‘संसदीय दलको निर्वाचनमा महामन्त्री कोइरालाको भूमिका ठिक थिएन। कोइरालाले सिंहलाई सघाउनुभएन, देउवालाई जिताउन भूमिका खेल्नुभयो,’ ती नेता भन्छन्, ‘देउवासँग भिड्ने चाहिँ प्रकाशमान, हराउने आफ्नै समूह? प्रकाशमानलाई भोट नहाल्नेहरूले अवसर पाइरहेका छन् नि।’ 

पौडेल समूहको बैठक। पछिल्लो समय पौडेल र सिंहबीचको सम्बन्ध चिसिएको छ।

संसदीय दलको नेतामा देउवासँग पराजित भएपछि सिंहको भूमिका संसदीय दलमा कहिल्यै नखोजिएको सिंहनिकट नेताहरु बताउँछन्। खासगरी २०७६ मा भएको उपनिर्वाचनमा टिकट बाँड्दा आफैंसँग चुनाव लडेका सिंहको भूमिका देउवाले खोज्ने कुरा भएन। तर, देउवाविरुद्ध चुनाव लडाएको इतर समूहले समेत खोजेन। 

‘जसरी देउवाविरुद्ध पौडेल चुनाव हारेर वरिष्ठ बन्नुभयो। सिंह पनि देउवाविरुद्ध पराजित हुनुभएको हो नि। संसदीय बोर्डले टिकट वितरण गर्दा आफ्नै समूहले उहाँ (सिंह)को भूमिका खोजेन। खटपट त त्यही बेला देखिएको हो,’ ती नेताले भने, ‘तर उहाँले सानातिना खटपट बिर्सेर अघि बढ्नुभयो। नेतृत्वसँग भिड्नुभयो। जसलाई आफ्नै समूहले कमजोरी ठान्यो।’ 

बेलाबेलामा देखिने खटपट बर्सिएर अघि बढेपनि मन्त्रिपरिषद् गठनको सन्दर्भमा पौडेल र कोइरालाले एकलौटी गरेपछि सिंहमा पहिलेदेखि नै रहेको असन्तुष्टि उत्कर्षमा पुगेको छ। ‘पात्रको कुरा थिएन। खाली सल्लाह गर्न सकिन्थ्यो। सम्मानजनक व्यवस्थापन गर्ने कुरा हुन्थ्यो। तर, बिना सल्लाह एकलौटी गरेपछि पौडेल-कोइरालासँगको सम्बन्ध वारपारको स्थितिमा पुगेको हो,’ अर्का एक नेता भन्छन्।

उनले सार्वजनिक रुपमै भनिदिए, ‘रामचन्द्र दाइ शेरबहादुर दाइको कार्यकर्ता बन्नुभयो। अब उहाँलाई नेता मान्दिनँ।’

मन्त्री चयनको असन्तुष्टि सेलाउन नपाउँदै काठमाडौंमा कांग्रेसको वडा र पालिका अधिवेशन भयो। सिंह र नेता गगन थापा मिलेर अघि बढे। तर, त्यसमा समेत पौडेलले खेल्न खोजेको आरोप सिंहको छ। ‘काठमाडौंमा भएका अधिवेशनमा सिंहका मान्छे हराउने खेल खेल्ने प्रयास भयो। समूहका नाममा सँधै पेल्ने तरिका त राम्रो भए नि,’ सिंहले आफू निकटसँग भन्ने गरेका छन्, ‘अब म समूहमा छैन र कसैलाई नेता पनि मान्दिनँ।’ 

यति हुँदासमेत सिंहले असन्तुष्टि पोखिसकेका थिएनन्। तर, सत्ता गठबन्धनले पौडेललाई राजनीतिक संयन्त्रको संयोजक बनाएपछि भने सिंहले मौनता तोडेर विरुद्धमा अभिव्यक्ति दिए। उनले सार्वजनिक रुपमै भनिदिए, ‘रामचन्द्र दाइ शेरबहादुर दाइको कार्यकर्ता बन्नुभयो। अब उहाँलाई नेता मान्दिनँ।’ सिंहको अभिव्यक्तिपछि संस्थापन इतर समूहमा फुटको स्थिति देखा परेको छ र सभापतिको साझा उम्मेदवार चयन हुने सम्भावनालाई पनि लगभग टारिदिएको छ।  

भेट न फोन संवाद

पौडेल र सिंहबीच एक महिना यता संवाद हुन सकेको छैन। असोज २२ गते मन्त्रिपरिषद् विस्तारपछि दुई नेताबीच न भेटघाट भएको छ, न त फोन संवाद नै। पौडेलले सिंहसँग कुरा गर्ने प्रयास भने गरिरहेका छन्। तर, प्रकाशमान तत्काल संवाद गर्ने पक्षमा छैनन्। ‘उहाँले फोन उठाउनु भएको छैन। मान्छे पठाएर संवाद गर्ने प्रयास पनि भएका छन्। तर, उहाँ संवाद गर्ने पक्षमा हुनुहुन्न,’ सिंहको सचिवालयले भन्यो। 

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ। ‘आफ्नो नेतृत्वको टिम बनाउने र कांग्रेस शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने तयारीमा हुनुहुन्छ। यो अभियानमा साथ दिन चाहने जो कोही पनि जोडिन सक्छन्,’ सिंहको सचिवालय भन्छ।

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ।  

कांग्रेस काठमाडौंको अधिवेशनमा सिंह र नेता गगन थापा मिलेर अघि बढेका छन्। यसको निरन्तरता महाधिवेशनमा हुन्छ वा हुँदैन? यसको प्रष्ट जवाफ कोहीसँग छैन। यद्यपि सिंहले थापालाई आफ्नो समूहमा पार्ने प्रयास गर्नेछन्। तर, महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका थापा भने इतर समूहबाट सभापतिको साझा उम्मेदवार खडा गरेर महामन्त्री जित्ने गरी चुनावी मैदानमा होमिने तयारीमा छन्। 

नेतात्रयको अभ्यास के हुन्छ?  

पछिल्ला केही महिनायता कांग्रेसका तीन जना संस्थापकहरूका पुत्रहरूबीच नियमित संवाद हुँदै आएको थियो। उपसभापति विमलेन्द्र निधि, सिंह र महामन्त्री कोइरालाबीचमा लन्च मिटिङको शृंखला नै चलेको थियो। लन्च मिटिङपछि उनीहरूले दिने एउटै प्रतिक्रिया हुन्थ्यो, हामी महाधिवेशनसम्म मिलेरै अघि बढ्छौं। तर, सिंहको कोइरालासँग दुरी बढेपछि नेता त्रयको अभ्यास भत्किने सम्भावना देखिएको छ। अब सिंह कोइरालासँग सहकार्य गर्ने पक्षमा देखिँदैनन्। 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच असार १५ मा भएको भेटघाट। 

‘कोइरालाले नेता मानेर आएर सहकार्य हुन सक्ला। तर, अरु कसैलाई नेता मानेर जाने पक्षमा सिंह हुनुहुन्न। त्यसैले नेतात्रयको छलफलमा ब्रेक लाग्यो,’ सिंह निकट ती नेता भन्छन्, ‘जसरी अभ्यास हुँदै आएको थियो। त्यसमा अरु कोही जोडिन भने सक्ने सम्भावना छ।’

प्रकाशित: Nov 16, 2021| 08:15 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...