काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा अब तोकिएको समयमै पार्टीको चौधौं महाधिवेशन हुनेमा ढुक्क देखिएका छन्। उनले काठमाडौं महानगरमा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन सोमबार आयोजित कार्यक्रममा भने, ‘हिजोका केन्द्रीय समिति बैठकपछि अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छु।’
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न विभिन्न उपसमिति गठन गरेको छ। यस्तै प्रदेश अधिवेशन गर्न सात संयोजक तोकेको छ। थापाले भने, ‘हिजोको बैठकपछि अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’ कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ,।
निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको थापाले बताए। थापाले भने, ‘निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिल्यै हामी महाधिवेशन गर्दैनथ्यौं होला।’