जनकपुरधाम-प्रदेश २ सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश २ सरकारले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई तत्काल ५० हजार नगद सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तयारी थालेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
केहिदिन यता लगातारको वर्षाका कारण आएको बाढीबाट प्रदेश २ मा दुईजनाको मृत्यु भएको छ । बाढीमा परी मंगलबार पर्साको पर्सागढी गाउँपालिका-८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो ।
यसका साथै प्रदेश सरकारले प्रदेशस्थित आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई राहत र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रीपरिषदको बैठकले बाढी प्रभावित क्षेत्रको पहिचान गरी पूर्व तयारी गर्न समेत विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
प्रदेश २ को तीन जिल्ला सर्लाही, रौतहट र पर्सा अहिलेसम्म बाढीका कारण अधिक प्रभावित देखिए पनि अन्य जिल्लाहरुका दर्जनौ गाउँ डुबानको जोखिममा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४