शनिबार, जेठ ५, २०८१

कांग्रेस बैठकमा जहिल्यै विवाद, भनाभन र चर्काचर्की

चर्काचर्की गर्न शीर्ष नेताहरू अग्रस्थानमा पुग्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा र जीवन गौतमलगायतले यसपालि चर्काचर्की गरे।
 |  आइतबार, कात्तिक २८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा निरन्तर लफडा हुने गरेको छ। विगतको यो प्रवृत्ति यसपाल पनि दोहोरिएको छ। यसपालिको बैठकमा क्रियाशील सदस्यता, गैरनागरिकलाई मतदानको अधिकार, दल समायोजन, न्यायालयको विवाद र गठबन्धनको आयुबारे नेताहरूबीच चर्काचर्की भयो। 

triton college

चर्काचर्की गर्न शीर्ष नेताहरू अग्रस्थानमा पुग्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा र जीवन गौतमलगायतले यसपालि चर्काचर्की गरे। 

प्रकाशमानले प्रदेश २ मा देखिएको समायोजनमा विषय उठाएका थिए। 'क्रियाशीलमा मनपरी भएको छ। सभापतिले समधान गर्छु भन्छु भन्नुहुन्छ तर भइरहेको छैन,' उनले भनेका थिए। यसपछि देउवाले क्रियाशील विवाद समाधान भइरहेको दाबी गरेका थिए। 

तर प्रकाशमानले महाधिवेशनका बेला कार्यकर्ताले न्याय खोजेको र मिटिङमा सभापतिले प्रतिबद्धता गरेका विषयमा पनि समाधान नभएको गुनासो गरेका थिए। 

उनले न्यायालयका विषयमा कांग्रेसले मुख खोल्नुपर्ने धारणा राखेका थिए। 'न्यायालयका स्वतन्त्र हुनुपर्छ भन्ने। तर सरकार र पार्टी केही नबोली बस्ने भन्ने कुरा हुँदैन। हामी नबोली बस्न हुँदैन। जनताले न्याय पाएका छैनन्, सरकारको धारणा ल्याउनुपर्छ,' उनले भनेका थिए। 

corrent noodles
Metro Mart

उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषय पनि उठाएका थिए। संयन्त्रप्रति चित्त नबुझाएका उनले सभापति देउवाको धारणा मागे, 'गठबन्धन सरकारको गतिविधिको लेखाजोखा चुनावमा हुन्छ। उच्चस्तरीय संयन्त्र किन बनाएको? गठबन्धनको सरकार तपाईंले लिड गर्नु भा छ, किन चाहियो संयन्त्र? कम्युनिस्टको दबाबमा गरेको भन्ने छ नि?'

यसपछि देउवाले समन्वय गर्नका लागि मात्र संयन्त्र बनाइएको बताए। 'स्पष्टीकरण चाहनुभएको हो? समन्वय गर्नलाई बनाइएको हो। लामो होइन, राष्ट्रिय सभा निर्वाचनसम्मका लागि,' देउवाले भने। 

तर प्रकाशमानले चित्त बुझाएनन्। 'आउने चुनाव तालमेल हुन्छ भन्ने आएको छ नि त!,' सिंहले भनेका थिए। 

यसपछि देउवाले राष्ट्रिय सभा निर्वाचनपछि पनि सरकार रहने भएकाले आम चुनावसम्म मिलेर लड्ने कि नलड्ने कुरै नभएको बताएका थिए। 'यहाँ सुन्नुस् एमाले र माओवादी फुटेका छन्। त्यस्तो निर्णय भएको छैन। ओली र प्रचण्ड मिलेर सबै हारेको होइन। तपाईं एक्लै लड्ने भए लड्नुस् यसअघि पनि लडेकै हो। निर्णय भैसकेको छैन के बाबा!'

000

यस्तै, नागरिकता त्यागेकालाई मतदान गर्न दिने कि नदिने भन्ने विषय पनि लफडा भएको छ। आमन्त्रित केन्द्रीय सदस्य जीवन गौतमले नागरिकता त्यागेकालाई पनि मतदानको अधिकार दिनुपर्ने बताएपछि नेताहरूबीच भनाभन भएको थियो।

'तपाईँहरूसँग वैरभाव छैन। तर किन भेदभाव गरियो। यसको जवाफ चाहियो। तपाईंहरूलाई लाज छैन। महासमितिले पास गरेर अल्झाउन खोज्ने, ढाँट्ने?,' गौतको प्रश्न थियो। उनको प्रश्न सकिन नपाउँदै सभापति देउवाले मुख खोलिहाले, सम्बन्धित पक्षलाई सोधिहाले।

'महासमिति के पास गरेको?,' देउवाको पश्न थियो।  यसपछि बोल्ने पालो आयो नेता कृष्णप्रसाद सिटौलाको। यसपछि रोक संवाद सुरु भयो। तर माहोल भने तातियो। 

सिटौला : पूर्णबहादुर खड्काजीले राखेका प्रस्ताव पास भयो हैन?

देउवा : भयो। भयो ! तपाईहरूसँग लडेर के हुन्छ? बेकारमा किन बम्केको? पूर्णजीको प्रस्ताव पास भो!

रामचन्द्र : हैन के पास भो भन्या?


 तर गौतम अघि बढिरहे। मतदान गर्न पाउनपर्छ भनेर चर्किइरहे। 

त्यहीबीचमा देउवाले भने- पाउँदै पाउँदैन नि? नेपाली नागरिकता चाहिन्छ। बेलायत जानुभा छ? नागरिकता चाहिन्छ नि त्यहाँ? त्यो त थाहा छ त तपाईंहरूलाई।'

देउवाको जवाफपछि गौतमले लड्ने, भिड्ने चेतावनी दिए। तर तत्कालै रोकिएनन्। यसपछि देउवाले अर्का नेतालाई बोल्न समय दिए। 

000

माहोल केही शान्त भएको थियो। कृष्णप्रसाद सिटौलाले अब पनि क्रियाशील सदस्यताको विवाद उठाएर कुनै फाइदा नहुने बताए। 

'अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा? कुनै जिल्ला र वडाको अधिवेशन रोकिएपनि अधिवेशन हुनैपर्छ,' उनले भनेका थिए। 

उनले पार्टीका थुप्रै कमजोरी भएपनि ती विषयलाई उठाएर महाधिवेशन सार्ने पक्षमा आफू नभएको बताएका थिए। 'हाम्रा कमजोरी होलान तर महाधिवेशन एक दिन रोक्न हुँदैन,' राष्ट्रिय सभालगायतका निर्वाचनको मिति पनि नजिकिएकाले त्यसअघि नै महाधिवेशन सक्नुपर्नेमा जोड दिँदै उनले भने। 

'राष्ट्रियसभा निर्वाचन माघमा छ। दल दर्ता ३५ दिन अघि नै गर्नुपर्छ। पुस पहिलो साता दल दर्ता गर्नुपर्छ। केन्द्रीय समिति, प्रदेश समितिको नियमित अधिवेशन भएको र लेखा प्रतिवेदन बुझाउनुपर्छ। हामी टाइट सेड्युलमा छौँ, तर, महाधिवेशन हुनुपर्छ। वडा अधिवेशन, जिल्ला अधिवेशन नै सकिइसकेका छन्।'

सिटौलाले क्रियाशीलको कुरा उठाएर फाइदा नहने बताएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल भने जंगिएका थिए।

000

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीको समस्या समाधान नगरी लुकेर हिँड्ने गरेको आरोप लगाए। 

'पार्टीको कार्यालाय छोडेर हिँड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' पौडेलको प्रश्न थियो।

उनले पार्टी कार्यालयमा भएको अनशन तोडाउने विषयमा सभापति गम्भीर नभएको तर भागीभागी बैठकलाई बूढानीलकण्ठ पुर्‍याएको बताएका थिए। 'रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो? तपाईकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा धर्नामा बसेका छन्,' उनले थपे, 'मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो।'

जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउने तर नेताहरू त्यो ठाउँबाटै भागेपछि उनीहरूको गुनासो कसले सुन्ने भन्दै उनको प्रश्न थियो। यी समस्या कसरी टुंगो लगाउने? समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ? पास पास मात्र भनेर हुन्छ?,' पौडेलको प्रश्न थियो। 

000

बैठकमा समसामयिक विषयमा बोल्न खोज्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गगन थापालाई रोक्न खोजे। आइतबार पार्टी सभापति निवास बूढानीलकण्ठमा भएको बैठकमा देउवाले रोक्न खोजे पनि उनको प्रयास असफल भयो।

गगनले समसामयिक विषयमा बोल्न समय माग्दा देउवाले केन्द्रीय समिति बैठकमा समसामयिक विषयमा बोल्न नपाइने भन्दै रोक्न खोजेका थिए।

'समसामयिक विषयमा बोल्न पाइँदैन,' देउवाले थापालाई भनेका थिए। समसामयिक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए। 

यद्यपि गगनले आफ्ना कुरा राखेका थिए, 'सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनुपर्छ। तत्काल सामाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था बिथोलिन्छ। हामी चुप लाग्न मिल्दैन,' थापाले भनेका थिए, 'महाधिवेशनका विवाद कायम छन्। यसमा गम्भीर हुनुपर्छ। सभापतिको ध्यान जानुपर्छ।'

सर्वोच्चको विवादबारे कांग्रेस बैठकमा छलफल भएन : एनपी साउद

कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता साउदले सर्वोच्च अदालतको विवादका विषयमा कुनै छलफल नभएको दाबी गरे। 

'अदालतको विषयमा आज छलफल भएन। अदालतको विवाद अदालतले नै समाधान हुनुपर्छ भन्ने कांग्रेसको संस्थागत मान्यता हो,' उनले भनेका थिए। 

अदालतमा भइरहेका गतिविधिले आस्थामा आघात परेको उनको भनाइ थियो। 'अदालतको विवादको विषययले कांग्रेसलाई चिन्तित छ,' उनले थपे, 'अदालतका विषयमा प्रतिक्रिया दिनु राम्रो हुँदैन। आन्दोलनकारी साथीहरूले बोलिदिनुपर्छ भन्नु भएको छ। तर समधान अदालतले गर्नुपर्छ।' 

उनले अब पनि महाधिवेशन नहुने हो कि भन्ने कुरामा आशंका नगर्न आग्रह गरेका थिए। सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाएको र उपसमिति बनाइसकेकाले महाधिवेशन हुनेमा ढुक्क नहुन आग्रह गरे।

न्यायालयको विवादमा दलहरूले मौनता साँधिरहेका छन्। नागरिक समाजका अगुवाहरूले भने दलहरूको मौनताले विवाद लम्ब्याएको बताइरहेका छन्। 

कांग्रेस बैठकमा भट्टराईसँग देउवाले भने- ४-५ जना सहमहामन्त्री थपौँ

सभापति शेरबहादुर देउवाले कांग्रेसमा ४-५ जना महामन्त्री थप्न आफू तयार भएको बताए। केन्द्रीय सदस्य गोविन्द भट्टराईले खुला सहमहामन्त्री थप्न प्रस्ताव गरेपछि सभापति देउवाले यस्तो बताएका हुन्। 

भट्टराईको प्रस्तावपछि देउवाले अरु नेताहरूले मानेपनि रामचन्द्र पौडेल पक्षले त्यसलाई स्वीकार नगर्ने भएकाले त्यसो गर्न नसकिने समेत उल्लेख गरेका थिए। 

'प्रस्ताव सबैले मान्छन् भने सहमहामन्त्री ४-५ जना थपौँ। रामचन्द्रले मान्दैन, मैले मानेको छु,' भट्टराईतर्फ हेर्दै देउवाले भनेका थिए।

यसपछि भट्टराईले सह-महामन्त्रीमा कलस्टरबाट मात्र नभएर खुलाबाट थप गर्न जोड गरेका थिए। 'सह-महामन्त्री थपौँ मेरो समर्थन छ। रामचन्द्र मान्दैन म के गरौँ,' देउवाले पुरानै कुरा दोहोर्‍याए। 

यसपछि सहमहामन्त्री थप गर्ने प्रस्तावलाई केन्द्रीय समितिमा लगेर भोटिङबाट निर्णय गर्न सुझाएका थिए। तर देउवाले उही कुरा तेहर्‍याए, 'रामचन्द्रले मान्दैन क्या। म फेरी बैठक बोलाउछु क्या। छिटो गरौँ, छिटो क्या।'

अहिले कांग्रेसमा क्लस्टरका आधारमा मात्र सहमहामन्त्री हुने व्यवस्था छ। 

राजनीतिक संयन्त्रको आयु कति? रामचन्द्रको जवाफ- लामो न छोटो

वरिष्ठ नेतासमेत रहेका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले संयन्त्रको आयु न लामो, न छोटो भएको प्रतिक्रिया दिएका छन्। कांग्रेस बैठकबाट बाहिरिने क्रममा नेता पौडेलले यस्तो बताएका हुन्। 

कांग्रेस बैठकमा राजनीतिक संयन्त्रको आयुबारे प्रकाशमान सिंहले प्रश्न उठाएपछि सभापति देउवाले माघमा हुने राष्ट्रिय सभा चुनावसम्मका लागि संयन्त्र भएको बताएका थिए। यसै विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपा पौडेलले भने अस्पष्ट जवाफ दिएका हुन्। 

'संयन्त्र त छोटो समयका लागि बनेको रे नि त?,' सञ्चारकर्मीको जिज्ञासा थियो। यसपछि छोटो प्रतिक्रिया दिँदै भने, 'छोटो न लामो।'

यी हुन् पारित एजेन्डा

बैठकले प्रदेशमा अधिवेशन गर्नका लागि केन्द्रीय नेताहरू खटाउने निर्णय गरेको छ। प्रदेश अधिवेशन भने १६ र १७  गते प्रदेश राजधानीमा हुनेछन्। यसका लागि ७ नेतालाई जिम्मा दिइएको छ।


 प्रदेश १ को जिम्मा कृष्ण सिटौलाले पाएका छन् प्रदेश २ मा रमेश रिजालले महाधिवेशन गराउने छन् भने बागमतीमा प्रकाशमान सिंहले अधिवेशन गराउने छन्। यस्तै गण्डकीमा गोपालमान श्रेष्ठ खटाइएका छन् भने लुम्बिनीका लागि बालकृष्ण खाँड छन्। कर्णालीमा जीवन शाहीले महाधिवेशन गराउनेछन् भने सुदूरपश्चिममा दिलेन्द्र बडु खटिनेछन्। 

महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन  २५ गते मतदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ। 

यस्तै यस वर्षको महाधिवेशनका नेतृत्व चयनमै फोकस हुने तर महाधिवेशनपछिको केन्द्रीय समितिले नीतिगत विषयमा छलफल गर्ने एजेन्डा समेत पास भएको प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ। 

बैठकले देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्यका साथै र सांसदहरू सदस्य रहेनेछन्। 

यस्तै महाधिवेशनको आर्थिक व्यवस्थापनका लागि आर्थिक समिति गठन गरिएको छ। यसका संयोजक ज्ञानेन्द्र कार्की छन्। 

प्रचार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। यस्तै मन्च व्यवस्थापनमा उपत्यकाका तीन जिल्लाका सभापति सदस्य रहने गरी काठमाडौं जिल्ला सभापतिलाई जिम्मेवारी दिइएको छ। 

भोजन व्यवस्थापनको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् भने विदेशी पाहुन व्यवस्थापनको जिम्मा प्रकाशशरण महतलाई दिइएको छ। स्वास्थ्य समिति संयोजक मोहन बस्नेत छन् भने सीता गुरुङलाई सांस्कृतिक पक्ष व्यवस्थापनको संयोजक बनाइएको छ।

सबै तस्बिर : रोसन सापकोटा

प्रकाशित: Nov 14, 2021| 20:41 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...