चितवन- बुधबार
बिहानै खसेको पहिरोका कारण अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड आज दिनभर बन्द हुने भएको छ ।
टोपेखोला र कालीखोलामा खसेको पहिरो पन्छाउन समस्या भएपछि बाटो अझै खुल्न नसकेको हो । पहिरो पन्छाउन दिनभरजसो लाग्ने सडक आयोजनाले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो ।
बिसुरालका अनुसार दुवै ठाउँमा दुई दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए ।
मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पूरै सडक ढाकेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए ।
ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ ।
सडक पिचको काम सकिएपनि स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्यया नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरु बताउँछन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसंगै पहिरोको जोखिम बढेको हो ।