इटहरी- घटना नम्बर १ : इटहरीका एक हार्डवेयर व्यवसायी विराटनगरमा भएको एक पार्टीमा सामेल भएर घर फर्किंदै थिए । उनी कारमा एक ड्राइभरसँग थिए । विमानस्थल प्रवेश गर्ने ठाउँमा एक युवतीले इशारा गरेर उनलाई रोकिन् । साँझ साढे ८ बजिसकेकाले उनले लिफ्ट दिए ।
मदिरा सेवन गरेर आएका ती व्यापारीसँग सहजै बसेकी महिलाले खुलेर कुरा गर्न थालिन् । केही समयको कुराकानीपछि दुवैबीच सहमति बन्यो, सँगै रात बिताउने । सहमतिबमोजिम उनीहरू दुहबीको एक होटेलमा बसे । रातभर सँगै कोठामा सहजै बिताएका व्यवसायीलाई तब असहज भयो, जब ती महिलाले पाँच लाख रुपैयाँ सापटी मागिन् । व्यवसायीले कसरी पाँच लाख सापटी दिनु, चिनेको छैन भनेर जवाफ दिए । 'रात बिताउनचाहीं चिनजान भयो, अहिले पैसा सापटी माग्दा कसरी चिनजान भएन' भनेर युवती कड्किन् । र, पाँच लाख नदिए आफूलाई रातभर बन्धक बनाएर बलात्कार गरेको आरोपमा उजुरी दिने धम्की दिइन् । ती व्यवसायीले पाँच लाख नभर्इ दुर्इ लाख मात्रै दिन सक्ने बताए । तर, महिलाले तीन लाखमा अड्डी कसिन्। व्यवसायीले लाचार भएर तीन लाखको चेक दिए ।
महिलाविरुद्ध हिंसा, शोषण, यौन दुर्व्यवहार र बलात्कारजस्ता विषयलाई जघन्य अपराध मानेर कडा दण्डको व्यवस्था छ । तर, त्यही कानूनी बलमा छलकपटका घटना बढ्न थालेका छन्, जसको उदाहरण हुन् ती व्यवसायी ।
महिलामैत्री कानुनका आडमा विभिन्न प्रकारका धम्कि दिएर केही महिलाले पुरुषबाट रकम असुल्ने गरेको पीडितहरूको अनुभव छ । 'बोल्दा आफैं जेल गइएला भन्ने डरले चुपचाप लुटिनु पर्छ,' पीडित पुरुष भन्छन् ।
घटना नम्बर २ : इटहरी क्षेत्रमा एक मझौला उद्योग सञ्चालन गर्ने एक विवाहित पुरुष सप्तरीको कारोबार मिलाएर इनरुवा आइपुगेका थिए । कुर्ता-सुरुवाल लगाएकी 'सोझी' देखिने युवतीले लिफ्ट मागिन् । उनले सहजै लिफ्ट दिएर इटहरीसम्म ल्याउँदै गर्दा सशस्त्र प्रहरीको पूर्वक्षेत्रीय मुख्यालय पकली आउनै लाग्दा युवतीले आफू त्यहीं झर्ने बताइन्।
बाइकवाला उद्यमीले बाइक रोकेर उनलाई ओर्लन सहयोग गरे । ओर्लनासाथ महिलाले एक हजार मागिन् । ती पुरुष किन दिने एक हजार भन्दै जंगिए । महिलाले कुर्ताको एक भाग च्यात्ने इशारा गर्दै भनिन्, 'के म चिच्याएर प्रहरीलाई बोलाऊँ?'
प्रहरी कार्यालयको ठीक सय मिटरनजिक राजमार्ग किनारामा यसो भनेपछि पुरुषले आफूले केही नगरेको प्रमाण गर्न पनि धेरै समय लाग्ने सोचेर एक हजार दिए । त्यो घटनापछि आफूले कुनै युवतीलाई लिफ्टन नदिने गरेको पीडित बताउँछन् ।
घटना नम्बर ३ : इटहरीका एक व्यवसायीलाई एक महिलाले भेडेटार जान प्रस्ताव राखिन् । व्यवसायीले सहर्ष स्वीकारे । नमस्ते झरना, नाम्जे र पाथीभरा घुमेर झमक्क भएपछि उनीहरूले भेडेटारमै रात बिताउने सहमति गरे ।
विवाहित व्यवसायी र अविवाहित महिलाले रात बिताए । भोलिपल्ट बिहानै उनीहरूको कोठामा अरू तीन महिला ढोका ढकढक्याएर छिरे । आफ्नीभान्जीलाई रातभर बलात्कार गरेको बताउँदै कोठा बन्द गराएर व्यवसायीलाई झपारे । कि आर्थिक क्षतिपूर्ति दिनुपर्ने कि प्रहरी बोलाउने धम्की दिए । व्यवसायी पाँच लाख रुपैयाँ दिन राजी भए । धेरैपछि मात्रै तीन महिलाहरू युवतीका नक्कली माइजू भएको व्यवसायीले थाहा पाए ।
यी त पछिल्लो एक वर्षमा घटेका प्रतिनिधि घटना मात्र हुन् । केही वर्षअघि मोरङको सुन्दरहरैंचाको एक सरकारी विद्यालयका शिक्षकलाई लिफ्ट माग्ने महिलाले घरमै बास मागिन् । भोलिपल्ट कसिंगर लाउन थालेर आफू यहीं बस्ने बताइन् । झमेला गर्दा बदनाम हुने भयले शिक्षकले दुर्इ लाख दिएर केस मिलाए ।
परिवार फुट्ने र बलात्कार मुद्दाको भयले पीडित मौन
पछिल्लो समय महिलाहरूले पुरुषलाई सवारीमा लिफ्ट लिने र घुम्ने बहानामा यसरी नै 'सेक्स एम्बुस'मा पारिरहेका छन् । सहमतिमा होटेलमा बस्ने र लिफ्ट मागेर सवारीमा चढ्दै दलाली गर्ने कुरा पीडितले प्रहरीमा पुर्याउँदैनन् । उजुरी गर्दा प्रहरीको छानविन, मिडियाका समाचार र महिला अधिकारकर्मीका केरकारले घर र इज्जत जाने पीडितहरू बताउँछन् । इनरुवाबाट पकलीसम्म लिफ्ट दिएकी युवतीको 'सेक्स एम्बुस'मा परेर प्रहरी कार्यालयनजिकै एक हजार दिएका व्यवसायी महिलाको कुरामा प्रहरीले चासो दिएर थुनिने डरले पैसा दिन राजी भएको बताउँछन् । 'उसले चिच्याएको भए प्रहरी आउँथ्यो, च्यातिएको कुर्ता हेर्थ्यो र मसँगै आएको पनि देख्थ्यो,' ती व्यवसायी भन्छन्, 'मैले केही नगरेको भए पनि प्रमाण पुर्याउने र अनुसन्धानको नाममा मलार्इ २-४ साता हिरासतमा राख्थ्यो । त्यो सबै नहोस् भन्नलाई हजार दिन राजी भएको हुँ ।'
यस्तै, दुहबी र भेडेटारमा पीडित भएका व्यवसायीहरू पनि आफूहरूले कुनै युवतीसँग रात बिताएको कुरा सार्वजनिक हुने क्षतिभन्दा केही लाखको क्षति राम्रो भएकाले दिएको बताउँछन् । सापटीको नाममा तीन लाख महिलालाई दिने हार्डवेयर व्यवसायी भन्छन्, 'प्रहरीमा केस गर्ने अनि रातभर होटेलमा बलात्कार गरेको भन्ने कुराको उजुरी भएको भए मेरो लाखौँ रकम र अमूल्य इज्जत जान्थ्यो ।'
सम्भावित ठूलो आर्थिक र पारिवारिक क्षति जोगाउन सेक्स एक्बुसमा परेका पैसावालाहरूले धेरै रकम दिन तयार भएको देखिएको छ । प्रहरी अनुसन्धान नै भए पनि गोपनीयता कायम नहुने र हल्लाखल्ला धेरै हुने भएकाले पैसा दिन बाध्य हुनुपरेको भेडेटरामा महिलालाई पाँच लाख दिएका व्यवसायीले बताए ।
काठमाडौंमा उजुरी आउँथे इटहरीमा छैनः डीएसपी श्रेष्ठ
इटहरी क्षेत्रका व्यवसायीहरू सेक्स एम्बुसमा परेर आर्थिक रूपमा पीडित भइरहेकामा कुनै उजुरी नआएको इलाका प्रहरी इटहरीका डीएसपी शिवकुमार श्रेष्ठ बताउँछन् । आफू काठमाडौंमा हुँदा यस प्रकृतिका मुद्दाहरू आएको देखेको र सुनेको भए पनि इटहरीमा भने यस्ता कुनै मुद्दा नआएको उनी बताउँछन् ।
'खासगरी भूकम्प र नाकाबन्दीका दौरानमा यसखालका उजुरीहरू काठमाडौंमा आएका हुन्थे,' श्रेष्ठ भन्छन्, 'इटहरीमा भने यौनधन्दा र बलात्कारका कुरामा गुनासो र उजुरी आए पनि यस खालका केसहरूमा अहिलेसम्म आएको छैन ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४