काठमाडौं- परम्परागत काष्ठकला र वास्तुकलाका नमुना ऐतिहासिक भवन भत्किँदै गए। अग्लाअग्ला भवन, सडक, सवारीका ताँती, अव्यवस्थित बजार, बाक्लो भीड र भागदौड बढ्दै गयो। माटाका घर संगमरमरमा फेरिए। काष्ठकलायुक्त झ्याल, दलिन, ढोका, सिसा र आल्मुनियममा फेरिए। प्यागोडा शैलीका घर हाउजिङ, अपार्टमेन्ट र महलमा बदलिए।
विकासका नामका हुने भौतिक संरचनाले सहरको रुप नै फेरिदियो। सहरभित्र रहेका अमूल्य कला र संस्कृति बदलिँदै गएको देख्दा कलाकार सुजन डंगोल सानैदेखि भावुक बन्थे। पाटन स्थायी घर भएका कलाकार सुजनले बाल्यकालमा देखेको पुरानो सहरलाई साढे तीन वर्षजस्तो लगाएर ‘आर्काइभिङ पेपर’मा उपत्यकाको पुरानो रूप बनाए जसलाई नाम दिए–‘टेल अफ ए सिटी’।
पुरानो सहरको कथा भन्न उनी केही साताअघि सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा पुगेका थिए। प्रदर्शनीमा आफ्नो दर्शक तथा कलाप्रेमीलाई सहरको कथा बताइरहेका हुन्छन्। ‘सुन्दर सहर कुरुप बन्दै गयो’, भन्छन्, ‘जब सहर फेरिन थाल्छ सुन्दरता पनि सँगसँगै गुमाउन पुग्छ।’
‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’
सहरको सुन्दरतालाई भौतिक संरचनासँग मात्रै दाँज्दैनन् उनी। सहरको वास्तविक सुन्दरता आगन्तुकले झट्ट बुझ्न सक्दैनन् पनि। त्यो बुझ्न वर्षौं लाग्छ। उनले आफ्नो चित्रमा देखाउन खोजेको सहरभित्रको कला, संस्कृति र सभ्यतालाई खोतल्ने प्रयत्न गरेका छन्। ‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’
सहरको आफ्नै मौलिक चिनारी हुन्छ। कला, संस्कृति, सभ्यता, भाषा र रहनसहन जोडिएको मात्रै हुँदैन प्राकृतिक तथा सामाजिक विशेषता पनि गाँसिएको हुन्छ। उनी उपत्यकाका तीनवटा सहरको नाम लिन्छन्। ‘काठमाडौं, भक्तपुर, ललितपुर सहर आफैंमा कालजयी छ। यी सहरका जान्नैपर्ने कथालाई आधुनिकीकरणले छोप्दै लगेको छ।’
सहरलाई उपयोग गर्नेको जमात बढेसँगै मौलिकता पनि मासिँदै गएको देख्छन उनी। जाति, भाषा, साहित्य, माटो, कृषि र भेषभूषालाई जसले आत्मसात् गर्छन् तिनको भावनामा मात्रै सहर आफ्नोजस्तो लाग्ने बताउँछन् उनी। सुजन भन्छन्, ‘जबसम्म सहर मेरो भन्ने भावना पैदा हुँदैन तबसम्म सहरमा सुख हुँदैन, शान्ति हुँदैन।’
उनी सहरमा बस्दैमा सहरसँग लगाव नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘प्लटिङ गरेर बनाइएको जमिनमा बसेको सहरले सुविधा त देला तर आफ्नोजस्तो लाग्न सयौं वर्ष लाग्छ।’
‘टेल अफ ए सिटी’ शृंखलामा उनले सहरको पहिचानसँगै नेवारी समुदायको कला, संस्कृति र भेषभूषालाई पनि उजागर गरेका छन्। नेवार बाहुल्य भएको उपत्यकाभित्र नेवारी समुदायले पुज्दै आएको देवीदेवता र यहाँका मन्दिर, गुम्बा तथा चैत्यको जनविश्वास बुझाउन खोजेका छन्। उनी भन्छन्, ‘नचाहेर पनि देवीदेउताको मन्दिर ठोक्किछ यहाँ। यसले सहरको ऐतिहासिक तथा धार्मिक पक्ष पनि जोड्छ।’
गणेश, गरुढ, कल्की, बराह, कालीय दमन, बज्र, चैत्य विगबेलजस्ता धार्मिक देवीदेवता तथा मठमन्दिरलाई आफ्नो चित्रमा सबैभन्दा माथि राखेका छन् उनले। साथै उनले टेल अफ सिटीलाई दस फरकफरक चित्रमार्फत बुझाउन खोजेका छन्। सुजनको मात्रै २४ वटा पेन्टिङमा कीर्तिपुर, भक्तपुर, काठमाडौं सहरका नेवारी बस्ती तथा देवीदेवता तथा मठमन्दिर झल्किएका छन्। चित्र फोटोका साथसाथै विभिन्न बीउबिजन तथा परालको सहायताले बनाइएका कलाकृति पुस्तक तथा खानाको सहायतामा काठमाडौं उपत्यकाको सांस्कृतिक र ऐतिहासिक पक्षका मौलिक पक्षलाई प्रस्तुत गरेका छन्।
कालो पेन्ट र कलर (टेक्निकल पेन्ट), आर्काइभिङ पेपर हो। कलम र मसीको माध्यमबाट तयार गरिएका रेखाचित्रमा लिच्छवि, मल्ल तथा शाहकालीन समयको धार्मिक सांस्कृतिक तथा सम्पदाहरुको झल्को दिन्छ। पचास वर्षअगाडिका घरहरुको पनि उत्तिकै स्मरण गराउँछ। सुजनले यसअघि कोरिया, ताइवान, बंगलादेश, भारत तथा नेपालमा आफ्नो एकल तथा संयुक्त कला प्रदर्शनी गरिसकेका छन्।
वास्तविक सहरको कथालाई आमजनमानसमा पुर्याउन डंगोलसहित अनिल रञ्जित, अभिषेक शाह, शर्मिला श्रेष्ठ, अशेष डंगोल, रुपेशमान सिंहलगायतको समूहले कला प्रदर्शनी गर्ने जमर्को गरेको छ ।
प्रदर्शनीसँगै सहरको लोक तथा दन्त्य कथा बुझाउने पुस्तकहरूसमेत सहभागीले अध्ययन गर्न र समय बजीजस्ता नेवारी खानाको स्वाद चाख्न पाउँछन्। खोकनाको नेवार समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासलाई देखाउने प्रिन्ट चित्र तथा फोटोहरू, अशेष डंगोलको नेवारी समुदायमा चलिआएको ‘सिकाली जात्रा’ का तस्बिरहरूले उपत्यकाको सहरको चिनारी दिन्छन्।
प्राचीन सहर चिनाउने चित्रहरूसँगै शर्मिला श्रेष्ठका ‘सिड्स’ शीर्षक राखेर मिक्स मिडियाका माध्यममा प्रस्तुत गरिएका छन् । चामल, मस्याङ, बोडीजस्ता गेडागुडीलाई परालबाट बुनिएका चकटी, स–साना सुकुलमा राखेर प्रकृति र जीवनसँग जोड्दै आर्ट फर्ममा ढालिएका छन्। भौतिक विकासको अर्को पाटोमा सामाजिक जीवन र संस्कृति पनि छ, यसमा लुकेको कथा कलाकर्मीले टिपेर ल्याएका छन्। प्रदर्शनी आगामी मंसीर दोस्रो सातासम्म चल्नेछ।