बाजुरा- बाजुरामा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा जगन्नाथ गाउँपालिका-६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका-४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्।
चदारा बूढीनन्दा नगरपालिका-५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका-८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए। चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए।
कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।